पोखरा/ नेपालमा सामाजिक सञ्जालको प्रयोगकर्ता दिनानुदिन बढिरहेका छन् । प्रयोगकर्तासँगै यसको दुरुपयोग पनि बढ्दो छ । आपराधिक व्यक्तिहरुले सामाजिक सञ्जाललाई अपराध गर्ने माध्यम पनि बनाएका छन् ।
नेपाल प्रहरीका अनुसार सामाजिक सञ्जालमार्फत् हुने विद्युतीय अपराध (साइबर क्राइम) हरेक दिन बढिरहेको छ । गएको आर्थिक वर्षको चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय कास्कीमा विद्युतीय अपराधसम्बन्धी कुल २४३ वटा निवेदन परे । जसमध्ये ६० फछ्र्यौट भइसकेको छ । प्रहरीका अनुसार तीमध्ये ११८ सम्बन्धित कार्यालयमा पठाइएको छ ।
६५ मुद्दा अनुसन्धानको क्रममा रहेका छन् । कास्की प्रहरीले सामाजिक सञ्जालमार्फत् हुने अपराधबाट महिला र बालबालिका बढी पीडित भएको पनि जनाएको छ ।
१४३ महिला,९७ जना पुरुष, ३ बालिका सामाजिक सञ्जालबाट पीडित भएको कास्की प्रहरीको तथ्याङ्क रहेको छ । फेसबुक, इमो, भाइबर, ह्वाट्स एप जस्ता सामाजिक सञ्जालमार्फत् ती अपराध भएका हुन् ।
नेपालमा करिब ५० देखि ५९ लाख महिला र ६६ देखि ७८ लाख पुरुषले फेसबुक चलाउँछन् । यो आधिकारिक तथ्यांक भने हैन । नेपालमा करोडौंले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् ।
प्रहरीमा परेको निवेदन अनुसार फेसबुकबाट ठगिनेको संख्या व्यापक रहेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले सामाजिक सञ्जालको दुरुपयोगका कारण विकृति बढेको बताए ।
उनले अपरिचित व्यक्तिले समेत सामाजिक सञ्जालबाट नजिक भइ विभिन्न बहानामा ठगी गर्ने गरेको पाइएको छ । नचिनेको व्यक्तिको आइडी वा नम्बरबाट भिडियो कल गरी स्क्रिन रेकर्ड गरी भिडियोलाई अश्लील बनाइ ब्ल्याकमेल गर्ने जस्ता घटना घटिरहेको उनले सुनाए ।
उनका अनुसार फेसबुक आइडी ह्याक गर्ने, चिठ्ठा परेको, विदेशबाट बहुमुल्य सामान पठाइदिएको वा विदेश पठाइदिन्छु भन्दै रकम माग्ने र कामहरु बढी भइरहेका छन् ।
मोबाइल बैंकिङको पासवर्ड दिने, ओटीपी कोड हत्याएर खाता ह्याक गरी रकम ठगी हुने घटना पनि बढेको उनले सुनाए । ‘ठगी धेरै प्रकारले गरेको भेटिन्छ ।
कोहीले ब्ल्याकमेल गरिरहेका छन् त कतिले ह्याक गरेका छन् । प्रयोगकर्ता सचेत नहुँदा लाखौं रकम गुमाउनुपरेको अवस्था छ,’ प्रवक्ता विकले भने,‘प्रयोगकर्ताले विचार नपु¥याउँदा ठगिने क्रम बढेको हो ।’ उनले कुनैपनि व्यक्तिलाई आफ्ना गोप्य तथा व्यक्तिगत विवरण दिन नहुने बताए । यस्ते विभिन्न समयमा आउने चिठ्ठाको प्रलोभनमा नफस्न समेत अनुरोध गरे ।
सन् २०२० मा सार्वजनिक एक रिपोर्ट अनुसार प्रत्येक ६० सेकेण्डमा युट्युबमा ४ हजार ३२० मिनेटका भिडियो अपलोड हुन्छन् । इन्स्टाग्राममा एक मिनेटमा २,१६,०० नयाँ फोटोहरु अपलोड हुन्छन् ।
त्यसका अलावा पिन्टरेस्टमा हरेक ६० सेकेण्डमा ३,४७२ वटा फोटो पिन हुन्छन् भने फेसबुकमा २४ लाख ६० हजार पोस्ट हुन्छन् । हरेक ६० सेकेण्डमा ट्वीटरमा २ लाख ७७ हजार नयाँ ट्वीट गरिन्छ भने स्नापच्याटमा हरेक दिन ६ अर्बवटा भिडियो हेरिन्छ ।
विद्युतीय अपरासँगै कास्कीमा बैंकिङ कसुरको मुद्दा बढ्दो छ । चैत १५ गतेसम्म एक हजार २२३ घटना दर्ता हुँदा बैंकिङ कसुरसम्बन्धी मुद्दा २६.८१ प्रतिशत रहेको छ । लेनदेनको विषयमा रकम नभएको बैंकको चेक दिएर भुलाउने गतिविधि बढिरहेको विकले बताए ।





