बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

धौलागिरि अस्पताल: ‘रिफर सेन्टर हैन, उपचार केन्द्र बनाऔं’

धौलागिरि अस्पताल: ‘रिफर सेन्टर हैन, उपचार केन्द्र बनाऔं’


  • ढोरपाटन संवाददाता
  • बैशाख ५ २०८०, मंगलबार
फाईल तस्वीर ।

बागलुङ / धौलागिरि अस्पताललाई रिफर सेन्टरबाट उपचार केन्द्र बनाउन सबैको चासो र प्रयास हुनुपर्ने सरोकारवालाले बताएका छन् । अस्पतालले थालेका सेवा सुविधा र जनशक्तीबारे सोमबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सरोकारवालाले स्वास्थ्य क्षेत्रको साख जोगाउँदा जिल्लाकै सान बढ्ने बताए । उनीहरुले अस्पतालमा आएका बिरामीको उपचारपछि घर फर्कने वातावरण बनाउनुपर्ने धारणा राखे ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले गाउँमा अनुगमनमा पुग्दा धेरै जनाले अस्पतालमा सेवा नपाएको गुनासो गरेको बताए । ‘सेवा नपाएको गुनासो धेरै आउने गरेको थियो, अहिले केही सुधार भएको पाइयो,’ थापाले भने, ‘अब अस्पतालमा नियमित डाक्टर बस्ने र सेवा प्रभावकारी बन्ने अवस्था हुनुपर्छ ।’ स्थायी डाक्टरको व्यवस्थापन गर्दा सेवा पनि प्रभावकारी हुने उनले बताए ।

यसअघि छात्रवृत्ति कोटाका डाक्टर आउँदै फर्कदै गर्ने पद्धतिले आम नागरिकले उपचारमा सास्ती खेप्नुपरेको थियो । लामो समयसम्म स्त्रीरोग विशेषज्ञ नहुँदा धेरैले उपचार नपाएर पोखरा धाउनुप¥यो । त्यसबाहेक अन्य विशेषज्ञ डाक्टरसमेत अस्पतालमा थिएनन् । चैतको तेस्रो सातादेखि भने अस्पतालमा अधिकांश बिज्ञ डाक्टर थपिएका छन् । अस्पतालमा अहिले १५ जना बिज्ञ डाक्टर, ८ जना मेडिकल अधिकृत र ४५ जना स्टाफ नर्स कार्यरत रहेको मेडिकल सुपरिटेण्डेन्ट डा. रविरञ्जन प्रधानले बताए ।

सोमबारको बैठकमा प्रधानले अस्पतालको वर्तमान अवस्था, कार्यरत दरबन्दी, सेवाको प्रकार र अस्पतालको आगामी कार्यदिशाबारे प्रस्तुतीकरण गरेका थिए । उनले आगामी असार मसान्तभित्रै सिटि स्क्यान जडान गरेर टाउको तथा चोटपटकका बिरामीको उपचार सेवा सहज बनाइने जानकारी दिए । त्यसबाहेक अस्पतालमा आधारिक संकट व्यवस्थापन केन्द्र, बाल रोग, इमरजेन्सी र आइसीयू समेतमा सुधार भएको बताएका थिए । उनका अनुसार अस्पतालमा अहिले हरेक विभागमा विशेषज्ञ डाक्टरको सहभागिता पुगेको छ । केही अझै आउने क्रममा रहेकोले अस्पतालले पूर्ण रुपमा काम गर्न सक्ने बनाउन लागेको जानकारी गराए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नारायण शर्मा पौडेलले पनि हिजोका समस्याबाट पाठ सिकेर धेरै सुधारको प्रयास गरेको बताए । उनले नियमित अनुगमन गरेर सेवालाईपनि चुस्त बनाउन लागेको जानकारी दिए । अस्पतालमा केही वर्षमै २ वटा ब्लक थप गरेर २ सय बेड संचालन गर्ने, चौबीसै घण्टा अक्सिजन प्लान्टबाट बितरण, नियमित बिशेषज्ञ डाक्टरसहितको सेवा, स्तरीय एम्बुलेन्स लगायतको सेवा सहज बनाइने पौडेलले बताए ।

गण्डकी प्रदेश सरकारले दिएको १० करोड रुपैयाँ, बागलुङ नगरपालिकाको २० लाख लगायतको सहयोज जुटाएर सिटि स्क्यान मेसिन खरिद, व्यवस्थापकीय सुधार र हरि खड्का ट्रमा सेन्टर जस्ता उपचार सेवा पनि संचालन गर्ने तयारी छ ।

अस्पतालमा पछिल्लो समय सडक दुर्घटनालगायतका कारणले टाउकोको घाउ तथा समस्या भएका बिरामी धेरै आउने गरेका छन् । उनीहरुको उपचारका लागि सिटि स्क्यान र ट्रमा उपचार कक्ष आवश्यक पर्ने गरेको हो । नेपाल सरकारले पनि स्वर्गीय हरि खड्काको स्मृतिमा ट्रमा सेन्टर बनाउने नीतिगत निर्णय गरेको थियो । उक्त निर्णय पछि गण्डकी प्रदेश सरकारले सिटिस्क्यान खरिदका लागि बजेट विनियोजन गरेको हो भने अस्पतालले सेन्टरकालागि सी ब्लकलाई व्यवस्थापन गरिरहेको हो । उक्त भवनको पूर्ण व्यवस्थापन भइसकेपछि अस्पतालमा थप दुइवटा भवन बनाएर प्रदेश स्तरीय सेवा दिने लक्ष बनाएको प्रधानले जानकारी दिए ।

कार्यक्रममा जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुन, उपप्रमुख तथा कांग्रेस सचिव हरिहर शर्मा, बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, एमाले अध्यक्ष हिराबहादुर केसी, नेकपा समाजवादीका अध्यक्ष लालबहादुर थापा लगायत राजनीतिक दलका अगुवाले अस्पतालप्रति आम नागरिकको धारणा नकारात्मक बनेकोमा चिन्ता व्यक्त गरेका थिए । उनीहरुले अस्पतालको सेवा सुचारु र स्तरीय बन्दा बागलुङको आर्थिक अवस्थामा पनि सुधार आउने धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->