बागलुङ/ नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले वर्तमान सरकार सुशासन, विकास र समृद्धिको वाधक भएको वताएका छन् । एमाले बरेङ गाउँपालिका कमिटीले सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानको समिक्षात्मक बैठकलाई मंगलवार नयाँ बजारमा सम्बोधन गर्दै उनले वर्तमान सत्ता गठनबन्धन स्वार्थको गठनजोड मात्रै भएकोले यो सरकार सुशासन, विकास र समृद्धिको बाधक भएको वताए ।
‘यो सरकारले अर्थतन्त्रलाई गतिशिल बनाउन पनि सक्दैन, लुट्नका लागि मात्रै ध्यान दिएको छ‘, प्रमुख सचेतक गिरीले भने, ‘मुलुकको समृद्धिका लागि पनि केही गर्ने सक्दैन । सत्ता स्वार्थमा चुर्लुम्म डुबेको छ ।’
नयाँ दलको नाममा केही झुण्डहरु देखिएको उल्लेख गर्दै उनले तिनीहरुबाट पनि मुलुक केही प्राप्त गर्न नसक्ने वताए । ‘आक्रोश र कुण्ठाबाट निर्माण भएको शक्तिले मुलुकलाई केही पनि दिन सक्दैन’ राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ लक्षित गर्दै गिरीले भने, ‘यो त इतिहासको घामछाया मात्रै हो । मुलुक बनाउन त दृष्टिकोण, विचार र विरासत चाहिन्छ । यसमा त कुण्ठा र आक्रोश र कुण्ठा बाहेक केही पनि छैन् ।’
मुलुकको समृद्धिका लागि एमालेको वहुमत आवश्यक रहेको वताउदै गिरीले पार्टीलाई आधारभुत जनताको तहमा पुराउन र जनताको आवाजलाई सुन्न मिसन ग्रासरुट अभियान सञ्चालन गरिएको जानकारी दिए । पार्टीलाई नियमित रुपमा सञ्चालन गर्न, जनताको आवाजलाई बुझ्न र आवश्यकताका आधारमा नीति निर्माण गर्न यो अभिायन सार्थक हुनेछ, गिरीले भने ।
पार्टी निर्माणमा आईपरेका समस्याहरुलाई जोत्ने वेलाको राटोको संज्ञा दिदै एमालेका केन्द्रिय सदस्य समेत रहेका गिरीले भने, ‘काम गर्दा देखिएका केही समस्या खेतवारी जोत्ने वेलाको राटो जस्तै हो, यसलाई राम्रोसंग जोत्यौ भने उत्पादन राम्रो दिन्छ, छाड्दै गयौं भने समस्या थपिदै जान्छन् ।’ सही विचार, स्पस्ट दृष्टिकोण र विरासतपूर्ण इतिहास भएको एमालेको विचारको लप्कालाई वडातहमा पुराउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा एमालेका केन्द्रिय सल्लाहकार परिषदका सदस्य नवराज शर्माले पार्टीका भेला, वैठक र प्रक्षिणबाट ज्ञान र जानकारी दुवै प्राप्त हुने भएकोले सहभागिताले दुवै पक्षको सिकाई हुने भन्दै मिसन ग्रासरुटबाट पार्टी निर्माणमा राम्रो उपलब्धी भएको वताए ।
पार्टीका जिल्ला अध्यक्ष हिरावहादुर केसीले खेतवारीमा जे रोप्यो त्यही फल्ने वताउदै यो अभियान रोप्ने समय भएको उल्लेख गर्दै रोपाई अनुसारको फल प्राप्त हुने उल्लेख गरे । ग्रासरुट अभियानले पार्टी कार्यकर्ताको एक्स रे गर्ने भन्दै अध्यक्ष केसीले समाुनपातिक मतबाट माननीय प्राप्त गरेको बरेङले त्यसको संरक्षण र इज्जत जोगाउन सक्नुपर्नेमा जोड दिए । एमाले वामपन्थीको नेता पार्टी भएको र जिल्लामा पनि त्यही अनुसारको भूमिका निर्वाह गर्दै अगाडि बढिएको जानकारी दिए ।
गाउँ पार्टी कमिटीका अध्यक्ष झोम वहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्य हरिनारायण गौतम, प्रदिप थाप, प्रदेश सल्लाहकार परिषदका सदस्य मूमीश्वर पौडेल, जिल्ला कमिटीका सदस्य जीत वहादुर काउचा, दुर्गा कार्की थापाक्षेत्री, पदमजंग श्रीस, टेक वहादुर पुन, रण वहादुर कार्की, तेजनारायण शर्मा, गोविन्द न्यौपाने लगायतले आआफ्ना भनाई र सुझावहरु राखेका थिए । कार्यक्रमको स्वागत गाउँ पार्टी कमिटीका सचिव लीलाधर पौडेल र सञ्चालन उपसचिव प्रदिप श्रीसले गरेका थिए ।





