बागलुङ/सहकारीमा तरलता अभावको कारण देखाउँदै कारोवार रोक्का गरेको इमेज बचत तथा ऋण सहकारी संस्था लिमिटेड बागलुङले बचतकर्ताहरुलाई ढुक्क रहन आग्रह गरेको छ । बचतकर्ताको पैसा लगानीमा रहेकाले आत्तिनुपर्ने अबस्था नरहेको सहकारीले जनाएको छ ।
५० प्रतिशत तरलता राख्दा समेत दैनिक कारोवार धान्न गाह्रो भएकाले समस्या आएको भन्दै सहकारीले बचत कर्ताको कुनै पनि रकम हिनामिना नहुने प्रष्ट पारेको हो । सहकारीका कार्यवाहक अध्यक्षले सूचना जारी गरेर कारोवार रोके पछि बचतकर्ताले कार्यालय घेरेका थिए । सहकारीले बचत रकम फिर्ता नगरेको भन्दै निरास भएका बचत कर्तालाई सहकारीका कार्यबहाक अध्यक्ष डोर बहादुर परियारद्वारा हस्ताक्षरित प्रतिबद्धतामा ढुक्क रहन भनिएको हो ।
सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलले बचत कर्ताको पैसा जसरी पनि फिर्ता गर्ने भन्दै ढुक्क रहन अनुरोध गरेका छन् । सहकारीले यो साता मात्रै सात करोड रुपैयाँ एकैपटक सहकारीबाट बचत फिर्ता भएकाले तरलता अभाव भएको स्वीकार गर्दै आएको छ । आर्थिक वर्ष २०७८/०७९ मा ४५ लाख खुद मुनाफा गरेको सहकारीको रु.१ अर्ब १४ करोड ५८ लाख ६२ हजार रुपैयाँको कुल सम्पत्ती रहेको छ । सहकारीले सदस्यको बचत सदस्यमै लगानी भएकाले बचत कर्तालाई ढुक्क हुन आग्रह गरेको छ ।
प्रतिवद्धता जारी गर्दै शेयर सदस्य वचतकर्ताहरुको रकम फिर्ता गरिने भएकाले ढुक्क हुन अनुरोध गरिएको छ । संस्थाको चल अचल सम्पत्ती तथा व्यक्तिगत सम्पत्ती समेत विक्री वितरण गरेर भएपनि वचत फिर्ता गर्ने प्रतिवद्धता व्यक्त गर्दै धैर्यधारण गर्न आव्हान गरिएको छ ।







