बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

बागलुङका २२ बनमा डढेलो, ४५० हेक्टर वन सखाप

बागलुङका २२ बनमा डढेलो, ४५० हेक्टर वन सखाप


  • ढोरपाटन संवाददाता
  • बैशाख ९ २०८०, शनिबार

बागलुङ/ सुक्खायाम सुरु भएसंगै बागलुङको करिव ४ सय ५० हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । पाँच राष्ट्रिय र १७ सामुदायीक वनमा आगलागी भएको हो ।

गत माघ १८ गते पहिलो पटक जिल्लाको तमानखोला गाउँपालिकाको खुंखानीमा पर्ने हापली छहरा मठूरे राष्ट्रिय वनमा आगलागी भएको थियो । चार दिनसम्म फैलिएको आगलागीले २ सय हेक्टर वनक्षेत्र मासेको डिभिजन बन कार्यालय बागलुङको तथ्यांक छ ।

माघदेखि सुरु भएको आगलागीको श्रङ्खला रोकिएको छैन । बस्ती नजिकैका सामुदायीक तथा नीजि आवादी वनक्षेत्र र सामुदायीक तथा राष्ट्रिय वनमा आगलागी भैरहेको
डिभिजन वन अधिकृत मुकुन्द प्रसाद अधिकारीले बताए । जानी–जानी वा दुर्घटनावश बिहिबारसम्म बागलुङका २२ वनमा डढेलो लागेको तथ्यांक छ । केही तथ्यांक भने आउनै बाँकी छ ।

यो बर्ष सबैभन्दा धेरै आगलागी बागलुङ नगरपालिकाका वनमा भएको छ । बागलुङ नगरपालिकाका ६ सामुदायीक वन र एक ठाउँमा राष्ट्रिय वन क्षेत्रमा आगलागी भएको हो । जैमिनी नगरपालिकाका पाँच, बडिगाडका तीन, काठेखोलाका दुई र तमानखोला, निसीखोला र बरेङ गाउँपालिका तथा ढोरपाटन नगरपालिकाको एक÷एक वनमा आगलागी भएको छ ।

बागलुङमा एक लाख पाँच हजार ५०१ हेक्टर जमिनमा वन फैलिएको छ । जिल्लाभर ५ सय २७ सामुदायीक वन ३३ हजार ९ सय ९ हेक्टरमा फैलिएका छन्भने, आठ वटा दर्ता भएका नीजि र बाँकी राष्ट्रिय वनक्षेत्र रहेको सहायक वन अधिकृत मदन कँडेलले बताए ।

गत बर्ष हिउँदमा बर्षा हुँदा बागलुङका बन क्षेत्रमा आगलागी भएको थिएन् । एकाध वन क्षेत्रमा लागेको आगोसमेत समयमै स्थानीयले नियन्त्रणमा लिएका थिए । यो बर्ष हिउँद सुख्खा हुँदा अधिकांश वनक्षेत्र आगलागीको जोखिममा परेको अधिकारीले बताए । बर्षा नभएसम्म बाँकी रहेका वनक्षेत्रसमेत आगलागीको जोखिममा छन् ।

‘गत बर्ष डढेलो नलागेकाले वनहरुमा कुहिएका काठ र पात पतिङ्गरहरु संकलन भएर बसेका थिए’ अधिकारीले भने ‘थुप्रो लागेका काठ, पात र झाडीहरुका कारण यो बर्ष वन थप जोखिममा परे, आगलागी भएको ठाउँमा नियन्त्रण गर्न कठिन भयो ।’

डढेलोको सम्भावित जोखिम भएका ठाउँहरुमा सचेतनामुलक कार्यक्रमहरु गर्ने, अग्निरेखा बनाउने तालिम, आगलागी भइहालेमा रोकथाम र नियन्त्रणका लागि सुरक्षा निकायलाई उपकरणहरु उपलब्ध गराउने लगायतका काम गरिएको अधिकारीले बताए । वनमा आगो लगाउनेलाई बिगो असुल, तीन वर्ष कैद सजाय, ६० हजार जरिवाना वा ती सबै सजाय हुने कानुनी व्यवस्था छ । तर, वनमा आगो लागउनेहरुको पहिचान हुन सकेको छैन ।

जंगली जनावरहरुबाट बच्न, बर्षा याममा मल हुने लोभ लगायतका कारणबाट वनमा आगो लगाउने गरेको पाईन्छ । खरबारीमा डढेलो लगाएमा नयाँ घाँस राम्रो र बाक्लो पलाउँछ भनेर पनि आगो लगाउँदा नियन्त्रणभन्दा बाहिर गई ठूलो क्षति हुने गरेको छ । वनजंगलमा आगलागी हुँदा बस्तीमा ल्याइएका पानीका पाइपहरु पोलिएर कयौं ठाउँमा खानेपानीको समस्या छभने कतिपय जंगल क्षेत्रमा रहेका महत्वपूर्ण जडिबुटी जलेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->