
बागलुङ/बिद्यालय भर्ना अभियान चल्दा बाजागाजा सहितको ¥याली गर्ने, बालबालिकालाई फूल अविरले स्वागत गरेर बिद्यालय भित्राउने चलन थियो । तर, अहिले सामुदायिक बिद्यालयमा बालबालिका घटिरहेका छन् । पहिला जस्तो भर्ना अभिायन पनि प्रभावकारी बनेको छैन ।
बैशाख महिनाभर भर्ना अभियान चल्ने गरेकोमा अहिले न त्यसको रौनक छ, न अभिभावकले प्राथमिक तहको पढाइ सामुदायिकमा पढाउँछन् । केही पालिकाले सरकारी शिक्षक र कर्मचारीका छोराछोरी सामुदायिकमा पढाउनु पर्छ भन्ने अभियान चलाएपनि त्यो समेत प्रभावकारी बन्न सकेको छैन ।
यसअघिका बर्षहरुमा शिक्षा मन्त्रालय, शिक्षा विभाग र जिल्ला शिक्षाले कार्यक्रम र बजेट बिनियोजन गरेर अभिभावक जागरण तथा प्रचारका कार्यक्रम पनि राख्थ्यो । अहिले अधिकांस प्राथमिक तहका बिद्यालय सुनसान जस्तै छन् । ‘भर्ना अभियानमा हिंडेका छौं, गाउँमा बालबालिका पनि छन्, तर अधिकांसले बोर्डिङ ताक्छन्’ बागलुङ नगरपालिका ३ बसुन्धरा प्राबिकी शिक्षक दुर्गा शर्माले भनिन्, ‘अभिभावककै चासो नभएपछि शिक्षकले गरेर पनि केही नहुने रहेछ ।’ अभिभावकले गाडी चढाएर सदरमुकाम पठाएपछि बालबालिका अभाव भएको उनले बताइन् ।
जिल्लाभरकै कैयौं प्राथमिक बिद्यालयमा बिद्यार्थी संख्या न्युन भएको शिक्षकहरुले बताए । कक्षा ८ देखि १२ सम्म भने सामुदायिकका पढ्ने बालबालिका धेरै छन् । सामुदायिकको प्रमाणपत्र भएमा छात्रवृत्ति लगायतका कोटा पाउने आसले अभिभावकले सानो कक्षा बोडिङ र ठूलो कक्षा सामुदायिकमा पढाउने गरेका हुन् । ‘कक्षा ८ बाट मैले पनि सामुदायिकमा भर्ना गराएकी छु्’ बानपा १ की रुपा ढकालले भनिन्, ‘सामुदायिकको माथिल्लो तहमा पढाइ पनि राम्रो छ ।’ साना कक्षामा सामुदायिकका शिक्षकले बालबालिकाको ध्यान कम दिएको अभिभावकको गुनासो छ ।
सबैभन्दा धेरै बालबालिकाहरु बिद्यालयबाट बाहिर रहने तथा भर्नामा आउन नसक्ने ग्रामीण तहमा हो । तर, आजकल गाउँमा पनि प्राथमिक स्तरका नीजि बिद्यालय संचालनमा छन् । उनीहरुले शुल्क लिएर पढाउँदा पनि अभिभावक उतै जाने गरेका छन् । ‘हामीले परीक्षा सहयोग शुल्क भनेर ५० रुपैयाँ उठाउँदा सरकारी बिद्यालयले पैसा खाए भनिन्छ’ शर्माले भनिन्, ‘हजारौं खर्चेर अभिभावकले निजीमा लैजाने काम गरिरहेका छन् ।’ अभिभावकमा शिक्षकप्रति बिश्वास नहुनु, शिक्षकले पनि आफ्नै बालबालिका पढाउन नखोज्दा यो समस्या आएको उनले बताइन् ।
सामुदायिक बिद्यालयका शिक्षक, शिक्षा शाखाका कर्मचारी र अन्य सरकारी कर्मचारीले पनि बालबालिका निजीमा पढाउने गरेका छन् । ‘सामुदायिक बिद्यालय सबैको बेवास्तामा परेका छन्, त्यसैले समस्या पनि छ’ बागलुङ नगर शिक्षा समितिका सदस्य गोपालकुमार शर्माले भने, ‘आँफै खटिएर पढाउने र व्यवस्थापन गरेको बिद्यालयमा आँफै अविश्वास गर्न हुँदैन ।’ उनले सिगाना माबि तित्याङमा तुलनात्मक रुपमा बालबालिका पढाउने क्रम बढेको बताए ।
बडिगाड गाउँपालिका २ को त्रिभूवन माबिले पछिल्लो ५ बर्षमा नजिकको निजी बिद्यालय नै बन्द गरिदिएको छ । बिद्यालयमा अंग्रेजी माध्यमसहित गुणस्तरीय शिक्षाका सूचक पुरा गर्दा निजी बिद्यालयबाट बालबालिका फिर्ता आएको प्रअ ढालमणी भण्डारीले बताए । यो बिद्यालयको भौतिक पूर्वाधारसमेत अब्बल छ ।
दश बर्ष अघिसम्म बर्षेनी हजारौं बालबालिका भर्ना भएको तथ्यांक सार्वजनिक हुने गरेकोमा आजकल त्यो संख्या देखाउनै नसकिने गरी घटेको शिक्षा विकास तथा समन्वय इकाइ बागलुङका प्रमुख कुश्मराज उपाध्यायले बताए । ‘निशुल्क, तालिम प्राप्त शिक्षक र उपकरणसमेत सामुदायिकमा थुप्रेका छन्, तर बालबालिकाहरु निजीतर्फ गए’ उपाध्यायले भने, ‘अभिभावकमा जागरण ल्याउनै पर्ने भएको छ ।’
साधन श्रोतको अधिकतम उपयोग गर्ने हो भने सामुदायिक बिद्यालयको शिक्षा अझै पनि अब्बल हुने उनले बताए । अहिले पनि नेपालको सरकारी जागिरदेखि उच्च पदस्थ स्थानमा सामुदायिक बिद्यालयका उत्पादनकै बर्चस्व रहेपनि उनीहरुले नै सामुदायिक बिद्यालयमा विश्वास नगरेको उपाध्यायको टिप्प्णी छ ।





