बागलुङ/ बागलुङ नगरपालिका–९ तित्याङ र वडा नं. १० भकुण्डेको सिमानामा पर्ने रिठ्ठा खोलामा झोलुङ्गे पुल निर्माण भएको छ । नेपाल सरकार र बागलुङ नगरपालिकाको ५३ लाख रुपैयाँको लागनीमा पुल निर्माण भएको हो ।
तित्याङ र भकुण्डेका सर्वसाधारणले ओहोरदोहोर गर्ने खोलामा बर्षा याममा सर्वसाधारणले जोखिम मोलेर यात्रा गर्दै आएका थिए । ५३ मिटर लामो पुल ‘ रिठ्ठा खोला झोलुङ्गे पुल उपभोक्ता समितिले निर्माण गरेको हो । झोलुङ्गे पुल निर्माणपछि स्थानीयको जोखिमपूर्ण यात्रा अन्त्य भएको छ ।
‘लामो समयको मिहिनेतपछि पुल निर्माण भएको छ’, उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद शर्माले भने ‘केही बर्षअघिसम्म खोलाले हरेक बर्खामा सर्वसाधारण बगाउने गरेको थियो, पुल निर्माणपछि पैदलमार्गहुँदै तित्याङको बाटो भकुण्डे जाने पर्यटकलाई सहज हुने छ ।’
तित्याङ र भकुण्डेबासीलाई मेलापात गर्न, वारीपारीका गाउँमा हुने मेला महोत्सव, पर्वका बेला आउजाउ गर्न सहज हुने शर्माले बताए । ‘खोलावारी घर छ पारी खेतीपाती, बर्खाको समयमा उर्लेर आउने खोलालले जोखिम थियो’ स्थानीय टिकाराम पौडेलले भने ‘विवाईसीको २० हजार रुपैयाँबाट सुरु भएको पुलले आकार पाएको छ, हामी खुसी छौं ।’
२०७७ साल मंसिरबाट निर्माण थालिएको पुल निर्माण सम्पन्न भएपछि शनिबार पूर्व शिक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलले उद्घाटन गर्दै पौडेलले बागलुङमा चालु आर्थिक बर्षमा थप ३७ वटा पुल निर्माण हुने चरणमा रहेको बताए ।
देशमा देखिएको आर्थिक समस्याका कारण आगामी आर्थिक बर्षमा नयाँ ठुला योजनाको काम अघि बढ्ने सम्भावना नरहेको भन्दै पौडेलले विकासका लागि उपभोक्ता जागरुक हुनुपर्नेमा जोड दिए । ‘विकास खल्तीबाट आउने होईन्, कसैले ल्याईदेला भनेर बस्नु हुँदैन्,’ पौडेलले भने ‘सबैको प्रयासले मात्रै बिकास हुने हो ।’
सोही अबसरमा पौडेलले बागलुङ नगरपालिकाको सहयोगमा झप्री सामुदायिक भवन उपभोक्ता समितिले तयार गरेको सामुदायीक भवनको उद्घाटन गरेका थिए । सामुदायीक भवनको उद्घाटन गर्दै पौडेलले सामाजिक विकास महत्वपूर्ण पाटो भएको बताए ।
पौडेलले सरकारी सामुदायीक विद्यालयको शिक्षा सुधारका लागि कसैले कसैलाई गाली गरेर मात्रै नपुग्ने बताए । सामुदायीक बिद्यालयको शैक्षिक सुधारका जिम्मेबार शिक्षक, अभिभावक, लगनशिल विद्यार्थी र उत्तरदायी राज्य संयन्त्र बन्नुपर्ने बताए ।
‘प्रयास गरे नहुने भन्ने हुँदैन, कुनै समय शैक्षिक सत्र सकिँदा समेत पाठ्यपुस्तक छापिँदै हुन्थ्यो, अहिले शैक्षिक सत्र सुरु नहुँदै विद्यार्थीको हातमा पुस्तक छन्’ पौडेलले भने । पौडेलले देशको राजनीतिले सहि दिशा पक्रेको भन्दै पाँच बर्ष स्थायी सरकारले काम गर्ने बताए ।
कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, वडा अध्यक्षहरु तिलबहादुर थापा, राजु थापा, नेकपा एमालेका उपसचिव गणेश थापा, नेकपा एकिकृत समाजबादीका जिल्ला अध्यक्ष लालबहादुर थापा लगायतले बोलेका थिए ।
सामुदायीक भवन, शौचालय र धारासमेत गरि पाँच लाख रुपैयाँको लागतमा निर्माण गरिएको हो । माघदेखि निर्माण सुरु भएको भवन गत चैतमा निर्माण सम्पन्न भएको थियो ।





