बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

चोयासँग अपरिचित छ युवापुस्ता

चोयासँग अपरिचित छ युवापुस्ता


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०८०, सोमबार

बागलुङ/दिलबहादुरको दिन निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाईने निगालोलाई उनले क्षणभरमै चोया बनाउँछन् । बाहिरी–भित्री पत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि चाहिने डोको, नाङ्लो, भकारी, थुन्से र डालीहरु बुन्छन् । यी सबै सामग्री बनाउने सीप उनीसँग छ ।

उनी सानो छँदा गाउँको नजिकै विद्यालय थिएनन् । भएका विद्यालयमा पढ्न जाने पहुँच थिएन् । बाबुबाजेका पालादेखिको सीप दिलबहादुरले बालापनमै सिके । बाबुले बुन्दा डोको बुन्न सिके, बाजेले बुनेको देखेर भकारी ! पढ्न नपाए पनि बाबुबाजेले सिकाएको सिपले अहिले दिलबहादुरलाई खानबस्न पुगेको छ । आफ्नै आँगनमा सन्तुष्ट छन् उनी ।

काठेखोला गाउँपालिका–५ बिहुँका दिलबहादुर परियार गाउँमा एक्ला सीपालु भने होईनन् । उमेरले ६५ बर्ष पुगेका परियारको उमेर समुहका गाउँका अधिकांश जेष्ठ नागरिकमा यस्तो सीप छ । पहिले घरका लागि आँफै चोयाका सामग्री तयार गर्नेहरु अहिले कम छन् । पछिल्लो समय बिक्रीका लागि समेत चोया सामाग्री तयार हुन्छन् । सीप भएका सबैले अहिले डोका, डाला बुन्दैनन् ।

दिलबहादुर हिउँद बर्खामा खेतबारीको कामबाहेक फुर्सदको समयमा चोयासँगै लड्छन् । दिभरीमा तीन वटासम्म डोका तयार गर्ने दिलबहादुरले चोयाकै सामग्रीबाट आम्दानी गर्छन् र घर खर्च चलाउँछन् । एउटै डोकाको मुल्य गाउँमा चार सयदेखि आठ सय छभने अन्य चोयाका तयारी सामग्रीको मुल्य आकार अनुसार पर्छ ।

दिलबहादुरको जस्तै चोयाका सामाग्री तयार गरेरै आम्दानी गर्ने गरेको अनुभव छ बागलुङको जैमिनी नगरपालिका–३ दमेकका ५७ बर्षिय सूर्यबहादुर पुनको । उनले पनि निगालोको चोयाबाट सामाग्री बनाउँछन् । २०÷२५ बर्ष पहिलेसम्म त उनको आम्दानीको मुख्य स्रोत नै चोयाका सामग्री थिए । दमेकमा तयार भएका चोयाका सामाग्री स्याङ्जा र रुपन्देहीसम्म पुग्थे । भरिया लगाएरै डाला, नाङ्ला, डोका र भकारी बेच्न पुतलीखेतहुँदै बुटवल पुग्ने सूर्यबहादुर फर्किँदा घर खर्च खाद्यान्न, नुन र तेल लिएर फर्किन्थे । अहिले पनि उनको हातको सीप रोकिएको छैन् । अहिले तयार हुने सामाग्री गाउँमै बिक्री हुन्छन् ।

बिहुँका दिलबहादुर, दमेकका सूर्यबहादुर मात्रै होईन बाबुबाजेबाट सिप हस्तान्तरण भएर जीविकोपार्जन गर्ने बागलुङमा धेरै छन् । उमेरले ६० नजिक रहेका उनीहरुबाट भने नयाँ पुस्तामा यस्तो सिप हस्तान्तरण भएको छैन् । ‘छोराहरुले हामीले जस्तो सीप सिकेनन्, पहिला पढे, अहिले विदेश छन्’ बिहुँका दिलबहादुर परियारले भने ‘सिप सिक्ने समय नै भएन्, अहिले किन चाहियो भन्छन् ।’

बाबुबाजेका पालादेखिको सीप सिकेरै जीवन चलाएको अनुभव छ उनीसँग । दिलबहादुर चोयाका सामाग्री मात्रै होईन पुख्र्यौली पेशा कपडा सिलाउन पनि माहिर छन् । हातमा सीप भएकैले बुढ्यौलीसम्म पनि आम्दानी गरिरहेको अनुभव छ उनीसँग । ‘हामीले दुःखले सिकियो, छोराछोरीले पढे, काम लागेन् विदेश लागे’ दिलबहादुर भन्छन् ‘आफ्नै आँगनमा काम गर्दा मलाई त दुःख लाग्दैन् ।’ युवाले पनि आँफुहरुले जानेको सिकिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।

दमेकका सूर्यबहादुर पुन पनि सीप हस्तान्तरण नभएकोमा दुःखी छन् । उनका छोरा पनि वैदेशिक रोजगारीमा छन् । युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा गाउँमा घरायसी प्रयोजनका लागि चाहिने चोयाको सामाग्रीको ठाउँ बजारमा पाईने प्लाष्टिकका सामाग्रीले ओगटेको छ भने निगालो, बाँस खेर गैरहेका छन् ।

‘डालो, नाङ्लो प्लाष्टिकको आउन थाले, हामीले बुनेको भन्दा सस्तो पर्छ, भकारीको ठाउँमा प्लाष्टिकका भाँडा प्रयोग गर्छन्’ पुन भन्छन् ‘युवाले सिकेनन्, बुढापाका सकिए पनि वनको निगालो वनैमा रहने त होला ।’ व्यवसायीक बन्न नसकेपनि घरायसी प्रयोजनको लागि मात्रै भएपनि युवाहरुले यस्तो सीप सिक्नुपर्ने उनको तर्क छ ।

युवापुस्ताले भने चोयाको सामाग्री बनाउने सीपले आम्दानी नहुने तर्क गर्छन् । बागलुङका अधिकांश स्थानीय तहमा चोयाका लागि बाँस र निगालो पाईन्छ । ताराखोला गाउँपालिका निगाले बाँसबाट बनाईएको काईंयोबाट समेत चर्चित छ । तर, पहिले जस्तै न डोको, डालो, नाङ्लो, भकारी र थुन्सेको प्रयोग हुन्छ न बाँसको काईंयोको । नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा प्लाष्टिकका सामाग्रीले पौराणीक सीप विस्थापन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->