शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकी मिलिजुली सरकार, कांग्रेसका सुरेन्द्र मुख्यमन्त्री

गण्डकी मिलिजुली सरकार, कांग्रेसका सुरेन्द्र मुख्यमन्त्री


  • ढोरपाटन संवाददाता
  • बैशाख १२ २०८०, मंगलबार

पोखरा/ गण्डकीमा संविधानको धारा १६८ (२) अनुसार नै सरकार गठन हुने भएको छ । यसअघि सोही उपधारा अनुसार पुस २५ गते मुख्यमन्त्रीमा एमालेका खगराज अधिकारी नियुक्त भएका थिए । तर, केन्द्रमा राजनीतिक समीकरण फेरिँदा माओवादीका मन्त्रीहरु चैत १० गते उनको सरकारबाट बाहिरिए । माओवादी सरकारबाट बाहिरिएपछि अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीले शनिबार विश्वासको मत मागेका थिए ।

तर, प्रष्ट अल्पमतमा रहेको अधिकारीले विश्वासको मत नपाउँदा उनको सरकार ढलेको छ । संविधानको धारा १६८ (२) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका अधिकारी नेतृत्वको सरकार ढलेपछि अब उपधारा २ अनुसार नै सरकार बन्छ वा उपधारा ३ मा जान्छ भन्नेमा बहस सुरु भएको थियो ।

१६८ (२) अनुसार मुख्यमन्त्री बनेपछि र विश्वासको मत नपाइसकेपछि अब उपधारा (३) अनुसार सरकार बन्ने एमालेको तर्क छ । तर, प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरुलाई आह्वान गरिसकेका छैनन ।

प्रदेश प्रमुखले सरकार गठनका लागि दलहरुलाई आह्वान गर्दा संविधानको धारा १६८ को उपधारा पनि खुलाउनुपर्ने हुन्छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले कुन उपधारा अनुसार सरकार गठन आह्वान गर्ने कौतुहलताका बिच १६८ (२) अनुसार नै गण्डकीमा नयाँ सरकार बन्ने भएको छ । त्यस्तै अब बन्ने कांग्रेस र माओवादीसहितको गठबन्धनको सरकारमा पहिलो नेतृत्व पनि कांग्रेसले नै गर्ने भएको छ ।

सोमबार शीर्ष नेताहरुलाई दबाब दिनका लागि काठमाडांै गएका एक सहभागीका अनुसार गण्डकीमा पहिलो नेतृत्व कांग्रेसले लिनेबारेमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबिच सहमति भएको छ ।

उक्त सहमति अनुसार गण्डकीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने भएका छन । यहाँको मुख्यमन्त्रीमा माओवादी केन्द्रको पनि सशक्त दाबी थियो । पहिलो नेतृत्व आफूले लिनुपर्ने भन्द माओवादी केन्द्र संसदीय दलका नेता हरिबहादुर चुमानले माओवादीका शीर्ष नेताहरुसँग बाक्लै भेटघाट र दबाब सिर्जना गरेका थिए । माओवादी शिर्ष नेतृत्वले पनि सुरुमा नेतृत्व माओवादीले पाउने बताएपछि चुमान ढुक्क भएर पोखरा फर्किएका थिए ।

तर, कांग्रेसका सांसदहरुको डेलिगेसन पश्चात सोमबार प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले गण्डकीमा सुरुको नेतृत्व कांग्रेसलाई दिने सहमति गरेका हुन ।
कांग्रेसले भने उपधारा ३ अनुसार सबैभन्दा ठुलो दलको हैसियतमा मुख्यमन्त्री स्वतः नियुक्त गर्न प्रदेश प्रमुखलाई आग्रह समेत गरेको थियो । तर, गण्डकीमा उपधारा ३ अनुसार मुख्यमन्त्री नियुक्त गर्दाबित्तिकै लुम्बिनीमा पनि सोही उपधारा लगाएर एमाले पुनः सत्तामा फर्किने देखेपछि शिर्ष नेताहरुबिच छलफल भएको थियो ।

गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पनि लुम्बिनी र गण्डकीमा एउटै उपधारा अनुसार सरकार बन्ने बताएका छन ।
आइतबार पोखरा फर्किनु अघि काठमाडौं रहेका गुरुङले कुन उपधारा अनुसार सरकार गठनको लागि आह्वान गर्ने भन्ने बारेमा गठबन्धनका कांग्रेस र माओवादी शीर्ष नेतृत्वसँग छलफल गरेका थिए ।

‘हिजो (आइतबार) मेरै रोहवरमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुरजी, पूर्णबहादुर खड्का, रमेश लेखक, शक्ति बहादुर बस्नेत, रेखा शर्माहरुसँग धारा १६८ (२) र (३) मध्ये कुनबाट अगाडि बढ्ने भन्ने विषयमा छलफल भएको थियो,’ गुरुङले भने, ‘मलाई चाहिँ सर्वोच्चको नजिर, लुम्बिनी प्रदेशमा अभ्यास भइसकेको नजिरले गर्दा संसदमा बहुमतको सम्भावना रहुन्जेल उपधारा ३ मा जान उपयुक्त हुँदैन, २ अनुसार नै जाने सहमति भएको थियो । लुम्बिनी र गण्डकीमा एउटै उपधारा अनुसार अगाडि जानुपर्छ भन्ने कुरा भएको छ ।’

संविधानको कुन उपधारा समातेर अगाडि बढ्ने विषयमा टुंगो लागेतापनि मुख्यमन्त्री को बन्ने विषय अनिर्णित बन्दा गण्डकीमा तीन दिनसम्म पनि सरकार गठनको लागि प्रदेश प्रमुखले आह्वान गर्न सकेका थिए ।सोमबार शीर्ष नेतृत्वले मुख्यमन्त्रीको टुंगो लगाएपछि मंगलबार नै प्रदेश प्रमुखले सरकार गठनको लागि दलहरुलाई आह्वान गर्नेछन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->