बागलुङ/भौगोलिक हिसाबले दुर्गम गाउँ रमुवामा बर्थिङ सेन्टर सञ्चालनमा आएको छ । बागलुङको गलकोट नगरपालिका–१० पाण्डवखानी रहेको रमुवा शहरी स्वास्थ्य केन्द्रमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याईएको हो ।
बर्थिङ सेन्टरको गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले मंगलबार उद्घाटन गरे । हटिया बजारदेखि चार घण्टाको सवारी यात्रापछि पुगिने रमुवामा गर्भवती महिलाको समस्यालाई मध्यनजर गरी नगरपालिकाले बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको हो । यसअघि यहाँका गर्भवती महिला दुई घण्टा पैदल यात्रा गरी पाण्डवखानी स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा पुग्ने गरेका थिए ।
पाण्डवखानी स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा सुत्केरी हुन नसकेका महिला चार घण्टा लगाएर हटिया बजार र त्यहाँ पनि नभए पोखरा पुग्नुपर्ने बाध्यता थियो । बर्थिङ सेन्टर सञ्चालनमा आएसँगै सुत्केरी हुनकै लागि टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको छ ।
‘भौगोलिक हिसाबले बर्थिङ सेन्टर टाढा हुँदा गर्भवतीलाई असुविधा थियो’ नगर स्वास्थ्य शाखाका प्रमुख सुशिल पौडेलले भने ‘घरमै सुत्केरी हुने जोखिम, असुरक्षीत सुत्केरीको जोखिम अब टरेको छ ।’ रमुवामा मात्रै एक सय बढी घरपरिवार बसोबास गर्छन् । पौडेलका अनुसार बर्षमा सरदर २० देखि २५ जना सुत्केरी हुने अनुमान छ ।
बर्थिङ सेन्टर सञ्चालनका लागि सामाजिक संस्था बिवाईसी बागलुङ र फेयरमेड नेपालले उपकरण सहयोग गरेका थिए । नगरपालिकाले भौतिक संरचना निर्माण र जनशक्तिको व्यवस्थापन गरेपछि सेन्टर सञ्चालनमा आएको हो । बर्थिङ सेन्टर सञ्चालनका लागि अहेव दुर्गा राना र अनमी कृति श्रीषलाई तालिम दिईएको छ । यो बर्थिङ सेन्टरबाट रमुवाका साथै छिमेकी बडिगाडको खौलाराका सर्वसाधारण समेत लाभान्वित हुने छन् ।
गलकोट नगरपालिकाले सबै स्वास्थ्य संस्थाहरुमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याएको छ । बर्थिङ सेन्टरको सुविधा नपुगेको रमुवामा समेत सञ्चालनमा आएपछि गलकोटमा बर्थिङ सेन्टरको संख्या ९ पुगेको पौडेलले बताए ।
गलकोटले नगर अस्पताल सञ्चालनमा ल्याएर चिकित्सकीय सुविधासमेत दिँदै आएको छ । बर्थिङ सेन्टरको उद्घाटन गर्दै नगर प्रमुख गैरेले शिक्षा र स्वास्थ्यमा नागरिकको पहुँच पुग्ने गरी सुविधा बिस्तार गरिरहेको बताए । बालमैत्री नगर घोषणाको चरणमा रहेको नगरपालिकाले आवश्यक सूचकहरु पुरा गर्ने चरणमा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ ।





