बागलुङ/वनमा खेर गैरहेको बाँको अहिले भान्सामा पुगेको छ । सिपालुको हात लागेपछि बाँको गुन्द्रुक बन्छ । बारीमा झाडी बनेको सिस्नोको माग अधिक छ । सीप सिकेका महिला सिस्नोको धुलो बनाउँछन् ।
प्याकिङपछि सिस्नो सबैको भान्सामा पुग्छ । तरकारीका लागि मात्रै प्रयोग गरिने आलु खाजा बनेको छ । चिप्स बनाएपछि आलुको मुल्य दोब्बर पर्छ । बागलुङको जैमिनी नगरपालिका–३ दमेकका उद्यमीको परिचय यिनै उत्पादनले बदलेको छ ।
यहाँका किसानले उत्पादन गरेको बाँको, सिस्नो र आलु चिप्सको माग बजारमा बढ्दो छ । वनजंगल र घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर बनाइन्छ । पहिले तरकारीका रुपमा एकाध प्रयोग हुने बहुगुणी सिस्नोको बजारीकरणमा जैमिनी नगरपालिकाले सघाएको छ । नगरपालिकाले सिस्नोको धुलो बनाउने आधारभुत तालिम र मेसिनसमेत सहयोग गरेपछि महिला उद्यमीहरु उत्साहित छन् ।
‘यो बर्ष मात्रै ६५० किलो सिस्नो पाउडर तयार भयो, माग धान्नै सकिएन’ गाजा दह सिस्नो पाउडर उत्पादन समितिका अध्यक्ष अध्यक्ष तारादेवी पुनले भनिन् ‘अब सिस्नो उत्पादनमा लाग्नुपर्ने भयो ।’ पहिले छुँदा पोल्ने सिस्नोलाई झाडीका रुपमा पन्छाएर आगो लगाउने किसानहरुले अहिले सिस्नो जोगाउन थालेका छन् ।
‘बाँझो जग्गामा सिस्नो लगाउने योजना छ, आँफै उम्रिएको सिस्नोले अब पुग्दैन्’ पुन भन्छिन् ‘सामान्य प्रचार हुँदा मात्रै देश विदेशबाट माग आयो ।’ चितवन, काठमाण्डौ, पोखरा र हङकङका बजारमा दमेकको सिस्नो पुगेको उनले बताईन् । यसले स्थानीय महिलालाई आम्दानी पनि राम्रो भएको छ । पाउडरको रूपमा उत्पादन गरिने सिस्नो विभिन्न खानाको परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकाले माग बढ्दै गएको हो । प्रतिकेजी दुई हजार रुपैयाँमा सिस्नोको धूलो बिक्री भइसकेको पुनले बताईन् ।
सिस्नोको धुलो जस्तै बाँकोको गुन्द्रुक पनि दमेकको परिचय बनेको छ । छुँदा चिलाउने बाँकोलाई किसानले साबधानीपूर्वक टिपेर गुन्द्रुक बनाउँछन् । त्यहि गुन्द्रुकले प्राङ्गारिक स्वाद दिन्छ । ‘हामीले यो बर्ष व्यवसायीक उत्पादनको प्रयास थाल्यौं, प्रसोधन र प्याकिङमा नगरपालिकाले सहयोग गरेको छ’ स्थानीय कृष्णबहादुर छन्त्यालले भने ‘गाउँ आउनेले बोकेर जानुहुन्छ, बजारबाट आएको माग पुरा गर्न सकिएको छैन् ।’
बाँको सबै याममा पाईंदैन् । किसानले बर्षा याममा जंगलबाट बाँको घर भित्राउँछन्, गुन्द्रुक बनाउँछन् । बाँकोको गुन्द्रक एक सय ग्रामलाई दुई सय रुपैयाँमा बिक्री हुने गरेको छ । ‘धान फल्दैन्, कोदो, मकै र गहुँ कम फल्छ, हाम्रो मुख्य उत्पादन आलु हो, अहिले गुन्द्रुकले आम्दानीसँग जोडेको छ’ छन्त्यालले भने ।
खानाको स्वादका लागि निकै राम्रो मानिने दमेकको आलुले पनि स्वरुप फेरिएपछि मुल्य पाउन थालेको छ । किसानले बर्षेनी उत्पादन गर्ने आलु कहिले खाद्यान्नसँग साटेर त कहिले बिक्री गरेर खर्च चलाउँथे । पछिल्लो समय वडा र नगरले चिप्स बनाउन सिकाएको छ । किसानले आलुको चिप्स बनाउन थालेपछि आलुको सटही र बिक्री गर्दाभन्दा दोब्बर मुल्य पर्ने गरेको स्थानीय इन्दिरा थापाले बताईन् ।
‘स–साना उत्पादन गरेरै भएपनि नागरिकलाई उद्यमी बनाउने प्रयासमा छौं’ वडाअध्यक्ष कृष्णबहादुर भुजेल भन्छन् ‘आलु चिप्स वडाका बिद्यालय, कार्यालय र सार्वजनिक कार्यक्रममा खाजाको रुपमा प्रयोगमा ल्याएर भएपनि यसको प्रबद्र्धन गर्छौं ।’





