बागलुङ/ कालीगण्डकी करिडोरको मालढुंगा–रुद्रवेणी खण्डमा भैरहेको कालोपत्रेको कामले प्रभावित क्षेत्रका सर्वसाधारणमा आशा जगाएको छ । बागलुङ र छिमेकी जिल्ला गुल्मीका अधिकांश स्थानीय तहको मुख्य सडकको रुपमा रहेको करिडोरको काम धमाधम हुँदा सर्वसाधारणमा आशा जागेको हो ।
कोरिडोर गैंडाकोट–राम्दी–मालढुंगा सडक आयोजना पाल्पाले मालढुंगादेखि रुद्रवेणीसम्म तीन खण्डमा कालोपत्रेको काम गरिरहेको छ । गुल्मीको रुद्रवेणीदेखि हर्मिचौर सम्मकोे १४ किलोमिटर खण्डमा कालोपत्रेको काम अन्तिम चरणमा छ । आगामी बर्ष यो खण्डको कालोपत्रे सकिने आयोजना कार्यालय पाल्पाका प्रमुख शंकर पौडेलले बताए ।
बागलुङको मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको १० किमी सडक कालोपत्रेका लागि संरचना बनाउने काम भैरहेको छ । निर्माण व्यवसायी खड्का कृष्ण जेभीले सम्झौता भएको छ महिनाको अबधिमा २५ प्रतिशत काम सकेको पौडेलले बताए । दुई बर्षको समयावधी पाएको कम्पनीले निर्धारित समयमा काम सक्नेगरी संरचना निर्माणको काम गरिरको छ ।
बलेवा बिमानस्थलदेखि हर्मिचौरसम्म सबैभन्दा लामो दुरीको खण्ड छ । ४४ किमी खण्डमा एकै पटक काम सुरु भएको हो । यहाँ १२ प्रतिशत भौतिक प्रगति छ । यो खण्डको कामले समेत समयमा नै तिब्रता पाएको पौडेल बताउँछन् । करिडोरले सदरमुकाम बागलुङ बजारदेखि बलेवा क्षेत्र र जैमिनी नगरलाई प्रभाव पार्छ । यो सडक कालोपत्रे हुँदा जिल्लाको दक्षिण क्षेत्रलाई बुटवल भैरहवाहुँदै भारतीय नाका पुग्न सहज हुने स्थानीय बताउँछन् ।
‘करिडोरमा भैरहेको कामले छिट्टै कालोपत्रे सडकको यात्रा गर्न पाउँछौं’ जैमिनी–८ छिस्तीका राजेन्द्र शर्मा भन्छन् ‘बागलुङ–गुल्मीसँग जोडिएको छिस्ती पुग्न सडकले सहज बनाउँछ ।’
कालीगण्डकी करिडोरको निर्माण भएसँगै सुदुरपुर्वका गुल्मेली जनताहरुले यसैमा समृद्धिका आशा र सपना देखिरहेका छन् । करिडोरले रुरुक्षेत्र, सत्यवती, कालीगण्डकी गाउँपालिकालाई समेट्दै बागलुङ जोडेको छ । कालीगण्डकी नदिका तटहरुमा रहेका धार्मिक तथा पर्यटकिय स्थलहरुलाई जोडेर चीन र भारत जोड्ने भएकाले सर्वसाधारण उत्साहित भएका हुन् ।
करिडोरको बागलुङ मालढुंगादेखि बुटवलसम्मको सबै खण्डमा काम चलिरहेकाले अबको दुई बर्षमा कालोपत्रे सडकमा यात्रा गर्न सकिने आयोजना कार्यालयले जनाएको छ । कुल ४३५ किलोमिटर लम्बाइ रहेको यो आयोजनाको मालढुंगा–बेनी–जोमसोम सडकखण्डअन्तर्गत ११० किलोमिटर सडक पर्छ भने बाँकी सडक गैंडाकोट–राम्दी–मालढुंगा खण्डमा पर्छ ।
करिडोरहुँदै पालिका मुकाम र गाउँ बस्तीमा पुग्ने सडकको स्तरोन्नतीमा समेत स्थानीय तहले ध्यान दिन थालेका छन् । करिडोर कालोपत्रे हुँदा पहुँच मार्ग बिस्तार गरेका स्थानीय तहहरुका मुकाममा कालोपत्रे सडक पु¥याउन सहज हुने छ ।





