पोखरा / पश्चिमी वायुको प्रभावले उपत्यकासहित देशका आधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभावले आज र भोलि मौसम बदलीसँगै वर्षा हुनेछ ।
महाशाखाका मौसमविद् गोविन्दकुमार झाका अनुसार काठमाडौँमा विगत दुई घण्टादेखि मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ भने अहिले गण्डकी, कोशी, बागमती, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भेगमा हल्का वर्षा भइरहेको छ।
आज राति पनि देशका पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। पछिल्लो २४ घण्टामा काठमाडौंमा सबैभन्दा बढी वर्षा भएको छ ।
यो अवधिमा काठमाडौंमा ३१.५ मिलिमिटर वर्षा मापन गरिएको छ । झाका अनुसार यो अवधिमा काठमाडौंपछि पोखरामा सबैभन्दा धेरै २३.२ मिलिमिटर वर्षा मापन गरिएको छ ।
पछिल्लो तीन घण्टामा भने म्याग्दीमा सबैभन्दा बढी १७ मिलिमिटर वर्षा मापन गरिएको उनले जानकारी दिए ।





