मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेबाट

गण्डकी प्रदेशसभाको अधिवेशन वैशाख २१ गतेबाट


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८०, सोमबार

पोखरा/ गण्डकीका प्रदेश प्रमुख पृथ्वीमान गुरुङले यही वैशाख २१ गतेका लागि प्रदेशसभा अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषदको सिफारिसमा उनले वैशाख २१ गतेबाट सुरु हुने गरी प्रदेशसभा बैठक आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालका अनुसार वैशाख २१ गतेको बैठक दिउसो २ बजे सुरु हुनेछ । विश्वासको मत नपाएसँगै यसअघिका मुख्यमन्त्री खगराज अधिकारीले शनिबार नै प्रदेशसभाको अधिवेशन अन्त्यको सिफारिस गरेका थिए ।

शुक्रबार मुख्यमन्त्रीको सपथ लिएका सुरेन्द्रप्रसाद पाण्डेले विश्वासको मत लिने तयारीसँगै मन्त्रिपरिषद्ले प्रदेशसभाको बैठक बोलाउने निर्णय गरेको हो । आफूसहित दुई विना विभागीयमन्त्री नियुक्त गरेका पाण्डेले एक साताभित्र नै मन्त्रिपरिषद्लाई पूर्णता दिने बताएका थिए । तर,अहिले आएर उनी पहिला विश्वासको मत लिएपछिमात्र ७ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारीमा लागेका हुन् ।

नेपाली कांग्रेसकी सरस्वती अर्याल तिवारी र सत्ता साझेदार माओवादी केन्द्रकी सुशीला सिम्खडालाई मन्त्री बनाएका उनीमाथि थप मन्त्री छान्न सकस परेको छ । दुई मन्त्रालय लिएर एमाले नेता खगराज अधिकारी नेतृत्वको सरकारमा सामेल भएको माओवादी केन्द्रले अहिले तीन मन्त्रालयको माग गरेको छ । माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले तीन मन्त्रालय र समय किटानसहित लिखित रुपले नै मुख्यमन्त्रीमा आलोपालो चाहेका छन् ।

सुरेन्द्रसामु नेकपा एकीकृत समाजावादीका सांसद राजीव गुरुङलाई मन्त्री बनाउनुपर्ने दवाब पनि परेको छ । सत्ता साझेदार दल बिच्कने हुन् कि भन्ने ठानेर नै उनी पहिला विश्वासको मत लिने निर्णयमा पुगेको कांग्रेसका एक सांसदले बताए । उता,कांग्रेसका आधा दर्जनभन्दा बढी सांसदहरु मन्त्री बन्ने दौडमा सामेल छन् । ‘आफैंभित्रका सांसदलाई मिलाउनुपर्ने चुनौती थपिएपछि मुख्यमन्त्रीज्यू पहिला विश्वासको मत लिने निर्णयमा पुग्नुभएको हो,’ती सांसदले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->