बागलुङ/ चालु आर्थिक बर्षको झण्डै साढे दुई महिना बाँकी रहँदा बागलुङको जैमिनी नगरपालिकाका कर्मचारी फुर्सदिला भएका छन् । यहाँका जनप्रतिनिधि आगामी आर्थिक बर्षको नीति कार्यक्रम र बजेटको तयारीमा जुटेका छन् ।
जैमिनीमा चालु आ.ब.मा विनियोजन भएको बजेट तथा कार्यक्रममध्ये ९५ प्रतिशत काम सकिएको छ । बाँकी केही ठुला आयोजनाको काम चलिरहेका छन् । बहुबर्षे कार्यक्रमको भुक्तानी दिन बाँकी छ । नगर र वडास्तरका सबै योजनाको काम चैत मसान्तभित्रै सकिएकाले कर्मचारी र जनप्रतिनिधि फुर्सदिला भएका हुन् ।
जैमिनीले चालु आ.ब.मा विनियोजन भएका कार्यक्रम सम्झौताका लागि मंसिर मसान्तको समय तोकेको थियो । केही ढिलागरी सम्झौता भएका योजनासमेत चैत मसान्तमा अधिकांश योजनाको भुक्तानी फरफारकको काम समेत सकिएको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए । ‘नगरस्तरका झण्डै चार सय योजनामध्ये ९५ प्रतिशतको काम सकिएर फरफारक भएको छ’ गिरी भन्छन् ‘समपुरकका केही योजना बाँकी छन्, बहुबर्षे योजनाको कामबाहेक सबै काम सकेका छौं ।’
संघ र प्रदेश सरकारसँगको साझेदारीमा सञ्चालन भैरहेका तीन सडक र एक खानेपानी आयोजनाको काम चलिरहेको योजना अधिकृत प्रेम सापकोटाले बताए । त्यो बाहेक पाँच वटा झोलुङ्गे पुल बनाउने योजना सञ्चालनमा छन् । गत बर्षका गरी २५ विद्यालय भवन निर्माणाधिन छन् । राष्ट्रपति शैक्षीक सुधार कार्यक्रमअन्तर्गत बनिरहेका विद्यालय भवनमध्ये चारवटा भवनको काम सकिएर फरफारक भएका छन् । झोलुङ्गे पुल, विद्यालय भवन र समपुरकका सडक र खानेपानीबाहेक सबै योजना कार्यान्वयन सम्पन्न भएका छन् ।
असारको मसान्त नजिकिदै गर्दा भीडभाड हुने नगर कार्यपालिकाको कार्यालयमा यो बर्ष भीड हुने छैन । ‘हामीलाई आगामी बर्षको तयारीका लागि पर्याप्त समय उपलव्ध भएको छ, असारे विकास अन्त्य प्रयास थालेका हौं, केही हदसम्म सफल भएका छौं’ नगर उपप्रमुख हरिहर शर्माले भने ‘मंसिर र चैत मसान्तको समय सिमाले काम द्रुत भए ।’ उपभोक्ता समितिबाहेक ठेक्कामा गर्नुपर्ने काममा भने समयसिमा आयोजना सम्झौताकै समयमा तोकिने हुनाले त्यसको प्रभाव नपरेको शर्माले बताए ।
जैमिनीका दशवटै वडास्तरका योजनाको काम सकिएको छ । कार्यक्रम सम्झौता नै हुन नसकेका केही योजनाको रकमान्तर गरेर काम भैरहेको गिरी बताउँछन् । ‘वडामा पनि हामी लक्ष्यको नजिक छौं, रकमान्तर भएकाबाहेक सबै काम सकिए’ उनले भने ‘उपभोक्ता पनि उत्साहित भएर काममा लाग्नुभएकाले यो सफल भएको हो ।’
नगरपालिकाले संघीय र प्रदेश सरकारबाट प्राप्त हुने बिभिन्न शिर्षकका अनुदान र नगरको सञ्चितकोष लगायतको परिचालन गरेर योजनाको भुक्तानी समयमै दिएको हो । संघीय र प्रदेश सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँड र समानीकरण अनुदान कमी आएमा ठुला योजनामा असर पर्ने प्रमुख प्रशासकीय अधिकृत गिरी बताउँछन् ।





