पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबाट लोकतन्त्र मजबुत हुने बताएका छन् ।
विश्व प्रेस स्तन्त्रताका अवसरमा बुधवार शुभकामना सन्देश व्यक्त गर्दै पाण्डेले नेपालको संविधानले पूर्ण प्रेस स्तन्त्रतालाई अंगिकार गरेको र यसको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको वताएका छन् ।
सरकारका तर्फबाट निर्माण गर्नुपर्ने सञ्चारसम्बन्धी ऐन नियम बनाउन प्राथमिकताका साथ लाग्ने भन्दै सन्देशमा पत्रकारिता क्षेत्रमा समस्या देखापरे पनि सबै खाले समस्यालाई सामुहिक समाधान गर्न सकिने विश्वास व्यक्त गरेका छन् ।
‘प्रविधिको प्रयोगले परम्परागत सञ्चार माध्यम क्रमशः सङ्कटमा पर्दै गएका छन् । प्रविधिलाई आत्मसात गर्दै पत्रकारिताले खोजमूलक र अनुसन्धानमूलक विषयमा ध्यान केन्द्रित गर्न सकोस्, आफैलाई परिष्कृत गर्न सकोस्’, शुभकामना सन्देशमा भनिएको छ ।
लोकतन्त्रको पहरेदार राज्यको चौथो अङ्गमाथि जुनसुकै ढङ्गले हुनसक्ने नियन्त्रणलाई अस्वीकार गर्दै प्रेस जगतलाई स्वतन्त्र, मर्यादित र व्यावसायिक बनाउन खेल्नुपर्ने सबै खाले भूमिकाका लागि सरकार तयार रहेको मुख्यमन्त्री पाण्डेले उल्लेख गरेका छन् ।





