बागलुङ/ जिल्लाको बडिगाड गाउँपालीका–३ की होटल व्यवसायी गंगा शेरचनको हत्यामा संलग्न तीन जना अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ ।
शेरचनको हत्यामा संलग्न बागलुङको बडिगाड गाउँपालिका–७ असारे माझखर्क घर भई गलकोट नगरपालिका–१ दुदिलाभाटि बस्ने थम्मनबहादुर घर्ती, मकवानपुरको बितिनी गाउँपालिका–७ घर भई हाल काठमाडौंको चन्द्रगिरी नगरपालिका–१० ढुङ्गेअड्डा बस्ने लोकबहादुर दर्लामी र सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ भर भई हाल काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका–७ हुर्का बेइजिङ बस्ने शिवबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो ।
उनीहरुलाई प्रहरीले पक्राउ गरी जिल्ला अदालत गुल्मीले पूर्पक्षका लागि कारागार चलान गरेपछि प्रहरीले उनीहरुलाई सार्वजनिक गरेको हो ।
गत माघ १५ गते गुल्मी मुसिकोट नगरपालिका–७ न्वारमा गंगादेवी शेरचनको हत्या भएको थियो । उनको हत्यामा संलग्न भएको तथ्यहरुको आधारमा अभियुक्तहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गल्मीका प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डेले बताए ।
५७ बर्षिय शेरचन माघ १५ गते आइतबार बिहान आफ्नै होटलको भुँईमा हात–खुट्टा र मुख सेलो टेपले बाँधिएको अवस्थामा फेला परेकी थिईन् । बागलुङको बडिगाड–३ सिसाखानीकी गंगादेवी मुसिकोट नगरपालिका–७ मा ३० वर्षदेखि होटल संचालन गर्दै आएकी थिईन् ।
भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाएर अनुसन्धान अघि बढाईएको उक्त घटनामा गुल्मी प्रहरीले लुम्बिनी प्रदेश प्रहरी दाङसँगको समन्वय तथा केन्द्रीय अनुसन्धान ब्युरोको सहयोगमा हत्यामा संलग्न थम्मनबहादुर घर्तीलाई गत फागुनमा पक्राउ गरिसकेको थियो ।
उनै घर्तीको बयानको आधारमा तिन जना मिलेर सामुहिक हत्या गरेको खुलेपछि प्रहरीले अनुसन्धानलाई तिव्रता दिएको थियो । शुरुमा गुल्मीका प्रमुख प्रहरी उपरीक्षक अर्जुन रानाभाट र प्रहरी नायब उपरीक्षक माधवराज खरेलको टोलीले अनुसन्धान गरेको थियो ।
त्यसपछि हत्यामा संलग्न रहेका लोकबहादुर दर्लामी र शिवबहादुर तामाङलाई गत चैत २८ मा धुलिखेलबाट पक्राउ गरिएको थियो । हत्यामा संलग्न पुष्टि भएपछि उनीहरुलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । हत्यामा संलग्न एक जना भने फरार छन् । उनको खोजीकार्यलाई तिव्रता दिईएकोे गुल्मी प्रहरीले जनाएको छ ।





