बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

रेडक्रसको आधारभूत प्राथमिक उपचार तालिम

रेडक्रसको आधारभूत प्राथमिक उपचार तालिम


  • ढोरपाटन संवाददाता
  • बैशाख २१ २०८०, बिहिबार

बागलुङ/ नेपाल रेडक्रस सोसाइटी बागलुङ शाखाको आयोजनामा ताराखोला गाउँपालिकाका महिला स्वास्थ्य स्वयंसेविका तथा रेडक्रस उपशाखाका स्वयंसेवकका लागि तीन दिने आधारभूत प्राथमिक उपचार तालिम शुरु भएको छ ।

बुधबार बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले तालिमको उद्घाटन गरिन् । उक्त अबसरमा श्रेष्ठले बिपत्मा स्वयंसेवकहरुको पहिचान र महत्व हुने भन्दै तालिमबाट सिकेको सीप व्यवहारमा लागू गर्न आग्रह गरिन् । उनले मावनीय सेवामा रेडक्रसको विश्वव्यापी विश्वास र मान्यता बनेको समेत बताइन् ।

नेपाल रेडक्रस सोसाइटी बागलुङका सभापति जगन्नाथ आचार्यको अध्यक्षता, उपसभापति राजेन्द्र आचार्यको संचालन र उपाध्यक्ष सीता शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा रेडक्रसका सात सिद्दान्तबारे जिल्ला सदस्य कृष्ण आचार्यले जानकारी गराएका थिए । कार्यक्रममा ताराखोलाका ३५ जना स्वयंसेवकहरु सहभागि छन् ।

कार्यक्रममा बागलुङ नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक विष्णु शर्मा, प्रमुख प्रशिक्षक टिकाराम पौडेललगायतले बोलेका थिए । तालिममा पौडेलसहित कर्णबहादुर कार्की, किरण सेढाइ र श्रीषा ढकालले सहजीकरण गर्नेछन् ।

क्यानेडियन रेडक्रस र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा नेपालका तीन जिल्लामा प्राथमिक उपचार तालिम तथा बिपत जोखिम न्युनिकरण कार्यक्रम संचालन भएको सभापति जगन्नाथ आचार्यले बताए ।

‘बागलुङ पनि बिपत् जोखिमको क्षेत्रमा सूचिकृत छ, त्यसैले यहाँका सरोकारवालासँग तालिम र अन्तरक्रिया पनि गरेका छौं’ पौडेलले भने, ‘हरेक जिल्लामा बिपतको जोखिम बहन गर्न सक्ने दक्ष स्वयंंसेवक तयार पार्नुपर्छ ।’ बागलुङको काठेखोला र ताराखोला गाउँपालिकामा परियोजना संचालनमा रहेको छ ।
ती पालिकामा नियमित काम गर्ने गरी रेडक्रसले दुइ/दुइ जना सामाजिक परिचालक र एक जना स्टाफ नर्स खटाएर जोखिमको नियमित अनुगमन र रिपोर्टिङ गरिरहेको छ । जोखिमको बेला प्राथमिक उपचारको पनि व्यवस्थापन गरेको छ ।

यसैबीच, बागलुङकै काठेखोला गाउँपालिकामा जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्य चौकीका इन्चार्ज र स्वास्थ्य शाखाका प्रमुख समेतलाई एक दिने आपतकालिन स्वास्थ्य प्रतिकार्य योजना निर्माण कार्यशाला सम्पन्न भएको छ । गाउँपालिकाको आयोजना र रेडक्रस सोसाइटी बागलुङकै प्राविधिक सहयोगमा भएको कार्यशालाले वार्षिक कार्ययोेजना तथा बिपत् व्यबस्थापन तालिका समेत बनाएको छ ।

कार्यशाला उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले बिपत् भनेको बाजा बजाएर नआउने भएकोले तयारी भएर जोखिम न्यूनीकरणमा लाग्ने काम धेरै राम्रो भएको बताए । जोखिम न्युनिकरण गर्न नसके थप जोखिम निम्तने भएकोले यस्ता क्रियाकलाप हरेक वडा वडामा बनाउनु पर्ने थापाले धारणा राखे ।

रेडक्रसका सभापति जगन्नाथ आचार्यकै अध्यक्षता, जिल्ला सदस्य कृष्ण आचार्यको स्वागतमा सम्पन्न कार्यक्रममा रेडक्रसका पूर्व सभापति जब्बरबहादुर लामिछाने, केन्द्रीय स्वास्थ्य बिभाग प्रमुख भोला घिमिरे, दिपक घिमिरे, नलेज डभलपमेन्ट रिसर्च सेन्टरका प्रमुख कृष्णमणी खनाललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->