बागलुङ/ जैमिनी नगरपालिका–८ को पुरानो गाउँलाई पर्यटकीय क्षेत्र बनाउन पहल भएको छ । जैमिनी नगरपालिकाका बाँदर संकलन गरेर फरक प्रकारको पर्यटन गन्तव्य बनाउन लागिएको हो ।
जैमिनी र डिभिजन वन कार्यालय बागलुङको संयुक्त आयोजनामा पुरानो गाउँमा भएको सरोकारवालाको भेलाले बाँदरले दिएको दुःख हटाउन संरक्षण पार्क बनाउने योजना संचालन गर्ने सहमति भएको हो । साथै, भेलाले बाँदर पार्क बनाउन आवस्यक सहयोग गरिदिन गण्डकी प्रदेश सरकारमा समेत लेखी पठाउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले बताए ।
भेलामा नगर प्रमुख नरबहादुर पुन, उपप्रमुख हरिहर शर्मा, जिल्ला वन अधिकृत मुकुन्द अधिकारी, सबै वडा अध्यक्ष र कार्यपालिका सदस्य तथा स्थानीय सहभागि थिए । उनीहरुले जैमिनी नगरपालिका भित्रको बसाइसराइ रोक्न बाँदर आतंक रोक्नुपर्ने धारणा राखेका थिए । उनीहरुले बाँदर नियन्त्रण भएमा बसाइँसराइ पनि रोकिने आशा व्यक्त गरेका थिए ।
‘हामीलाई बाँदरले धेरै दुःख दिएको छ, बालीनाली खाएकोे छ, नष्ट गरेको छ जसका कारण घरमा खाने केही बाँकी छैन,’ स्थानीय दुर्गाबहादुर थापाले भने, ‘जैमिनी नगर भित्रका बाँदर ल्याएर संरक्षण गरियो भने खेतीपाती लगाएर खान पाइएला ।’ हरेक घरमा बाँदरको हेरालो राख्दा पनि बाली जोगाउन नसकिएको उनले बताए ।
वडा वडामा बाँदरको समस्या भएपछि कतिपयले घरै छाडेर बसाइ सरेका छन् । घरहरु रित्तिन थालेको र खेतीपाती लगाउने क्रम घटेपछि बस्तीमा छिरेर बाँदरले आतंक मच्चाउने गरेको किसानको गुनासो छ । यहाँ बनाउने योजना गरिएअनुसार बाँदरलाई संरक्षण गरेर राख्ने, जंगलमै खाने व्यवस्थापन गर्दा समुदायमा खेतीपाती जोगाउने समस्या नहुने सहभागिको भनाइ थियो ।
नगरपालिकाले डिभिजनसँगको सहकार्यमा डिपिआर बनाउने, लगानीका बाटोहरु खोज्ने र दिर्घकालिन रुपमा बाँदर नियन्त्रण गर्ने लक्ष राखिएको जनप्रतिनिधिहरुले बताए । नगर प्रमुख नरबहादुर पुनले बाँदरको संरक्षण गरेर पर्यटनमा जोड्नुपर्ने धारणा राखे । उनले बाँदरबारे अध्ययन गर्न चाहने बिद्यार्थीका लागि अध्ययन केन्द्रको रुपमा पनि विकास गर्न सुझाए । बाँदरको राम्रो संरक्षण भएमा छिमेकी पालिकाबाट समेत बाँदर ल्याएर राख्ने र पालिकाले राजश्व संकलन गर्ने, आम्दानीको दायरा बढाउने अबस्था आउने उनले बताए ।
कालीगण्डकी करिडोरको छिस्ती सडकदेखि ११ किमी यात्रा गरेपछि पुरानो गाउँ पुगिन्छ । पालिकाले लगानी गरेर स्तरीय सडक बनाउने र संरक्षणको अभियानबारे प्रचार गर्दा तराइ झरेका स्थानीय र उनीहरुको संगतबाट गर्मी छल्न आउने पर्यटक प्रसस्त हुने अनुमान छ । पुरानो गाउँमा हरेक वर्ष जेठमा मेला समेत लाग्छ ।





