बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

धुमधामसँग सुरु भयो ट्राफिक सप्ताह

धुमधामसँग सुरु भयो ट्राफिक सप्ताह

बागलुङमा दुर्घटनाको कारण खोजी ।


  • ढोरपाटन संवाददाता
  • बैशाख २६ २०८०, मंगलबार

पोखरा/ नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीका अनुसार २०७८ साल माघदेखि २०७९ को पु्स मसान्तसम्म सडक दुर्घटनामा परी २१३ जनाले ज्यान गुमाए । ४०२ वटा दुर्घटना हुँदाको विवरण हो यो । पुस मसान्तपछि पोखराकै न्यूरोड,दमौलीलगायतका जिल्लामा भएको दुर्घटनाको विवरण यसमा समावेश छैन । तर, सडक दुर्घटनामा परी ज्यान गुमाउनेहरुको सख्ंया भने कहालीलाग्दो छ । २०७७ को माघदेखि २०७८ सालको पुससम्म भएका ४१५ वटा दुर्घटनामा २१३ जनाको ज्यान गएको प्रहरीको तथ्याङ्क रहेको छ ।

दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले चालकसँग एक मिनेट,सडक सुरक्षाबारे सचेतना कार्यक्रम,दण्ड–जरिवाना,सडक सुधारलगायतका कार्यक्रम पनि गर्दै आएको छ । तर, दुर्घटना बढ्दो छ । दुर्घटनामा प्राविधिक कारण पनि हुन्छन् । तर, असुरक्षित सडक, ट्राफिक नियमको उल्लंघन तथा मादक पदार्थ सेवन गरी सवारी चलाउँदा भएका दुर्घटनाको संख्या बढेको ट्राफिक प्रहरीको भनाइ छ । दुर्घटना कम गराउन ट्राफिक प्रहरीले वर्षैभर विविध कार्यक्रम आयोजना गर्छ । वर्षको एकपटक ट्राफिक सप्ताह नै मनाइन्छ । यसो गर्दा पनि सोचेजस्तो उपलब्धी नभएको प्रहरीको भनाइ छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गण्डकीले यहाँका ११ वटै जिल्लामा सोमबारबाट ट्राफिक सप्ताह सुरु गरेको छ ।
यही उपक्रममा पोखरा, बागलुङ,नवलपुरलगायतका जिल्लाहरुमा विभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । पोखरामा भने सोमबार प्रभातफेरीसहितस सचेतना कार्यक्रमको सुरुवात गरियो । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले ट्राफिक सप्ताह कार्यक्रमको उद्घाटन गरे । प्रभातफेरिमा विद्यार्थी, शिक्षक, सुक्षाकर्मी, विभिन्न क्लब, आम समूह, विभिन्न संघ संस्थाका प्रतिनिधि सहभागिता थियो । अन्यत्रजस्तै यहाँ पनि ¥यालीमा सहभागीहरुले नसामा सवारी, दुर्घटनाको तयारी, तीव्र गति, जीवन क्षति, तपाईं हाम्रो जिम्मेवारी, सुरक्षित सवारीलगायतका ट्राफिक सचेतनासम्बन्धी प्लेकार्ड प्रदर्शन गरेका थिए ।

बागलुङमा दुर्घटनाको कारण खोजी

कतै साँघुरा, कतै ग्रेड नमिले सडक । कालोपत्रे सडक कम भएकाले बागलुङमा सवारी दुर्घटनाको जोखिम संरचनाकै कारणले बढी छ । चालक, सवारी साधनको अवस्था, यात्रु र समाजका अन्य कारणले पनि सवारी दुर्घटनालाई बढवा दिइरहेका छन् ।

बागलुङमा चालु आर्थिक वर्ष सुरु भएपछि ११ दुर्घटना भएका छन् । ती दुर्घटनामा ८ जनाले ज्यान गुमाएका छन् । कयौं नागरिक दुर्घटना परी घाइते र अंगभंग भएका छन् । यो परिदृष्य सुधारको प्रयास थालिएको छ ।

सवारी दुर्घटना न्युनीकरण र सडक अनुशासन कायम गर्न बागलुङमा सोमबारदेखि ट्राफिक सप्ताह सुरु गरिएको छ । जिल्ला ट्राफिक कार्यालय बागलुङको आयोजनामा सप्ताहव्यापी ट्राफिक जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइने छ ।

बागलुङ बजारमा सामाजिक संघसंस्था सँगको सहकार्यमा सप्ताहको पहिलो दिन सोमबार ट्राफिक सचेतनामुलक प्लेकार्डसहित ¥याली र उद्घाटन गरिएको छ । सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले प्रत्येक व्यक्ति सचेत भएमात्र सवारी दुर्घटना न्यूनीकरण हुने भएकाले यस्ता अभियानलाई निरन्तरता दिनुपर्ने बताए । ‘साँधुरो र ग्रेड नमिलेका सडकमा सवारीसाधन जथाभावी सञ्चालन हुँदा दुर्घटना बढेको छ,’ थापाले भने, ‘दुर्घटना कम गर्न सवारी चालक र यात्रुहरु बढी जागरुक बन्नुपर्छ’ थापाले भने, ‘सडक प्रयोगकर्ता अनुशासित भए दुर्घटनामा कमी आउँछ ।’

बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले भुगोल र कच्ची सडकका कारण जिल्लामा दुर्घटना हुने गरेकोले यसको न्यूनिकरणको लागि सबैले ध्यान दिनुपर्ने औल्याए ।

पैदल यात्री जथाभावी बाटो काट्ने, सवारी चालकले ट्राफिक नियमको पालना नगर्ने जस्ता कार्यले थप दुर्घटना बढ्दा जनचेतना जगाउँदै दुर्घटना न्यूनीकरण गर्न ट्राफिक सप्ताह सुरु गरिएको ट्राफिक कार्यालय बागलुङका प्रमुख मिनबहादुर खड्काले बताए ।

खड्काले सप्ताहमा चोक चोकमा ट्राफिक प्रहरीसँग स्वयंसेवक परिचालन कार्यक्रम, जनचेतनामूलक पम्प्लेट वितरण, पैदल यात्रुलाई बाटो काट्न सिकाउने, खाल्डाखुल्डी पुर्ने, ग्रामिण सडक लक्षित प्रशिक्षण, सवारी चालक र परिचालकलाई प्रशिक्षण दिने बताए ।

यस्तै, सिट क्षमता अनुगमन, सडक प्रयोगकर्ता प्रशिक्षण, यात्रु सचेतना, शैक्षिक संस्थामा विद्यार्थीलाई प्रशिक्षण, विद्यार्थीहरुलाई ट्राफिक सचेतना, सेना, सशस्त्र र प्रहरीलाई प्रशिक्षण, ग्रामिण स्थलमा सचेतना, सवारी चालकको स्वास्थ्य जाँच, स्टिकर टाँस, मास्क वितरण, सवारीको छत हुट अनुगमन, सिट क्षमता, बढी भाडा र आरक्षण सिट अनुगमन, लघु सचेतना कार्यक्रम र यात्रु सचेतना कार्यक्रम गरिने खड्काले जानकारी दिए ।

ट्राफिक प्रहरीले सप्ताहको अवसरमा चालक र परिचालकलाई प्रशिक्षण गरि पोशाक प्रयोग जुत्ता लगाएको नलगाएको, ओभरटेक गरे नगरेको सम्बन्धि प्रशिक्षण दिने र अन्तिम दिन सप्ताहको समिक्षा र सवारी दुर्घटनाबाट ज्यान गुमाएकाहरुको सम्झनामा दिप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ ।

कार्यक्रममा धौलागिरि गण्डकी यातायात सेवा प्रालिका अध्यक्ष उमेश केसीले बोलेका थिए । बागलुङका प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी उपरीक्षक मदन केसी र संचालन बागलुङ उद्योग वाणिज्य संघका महासचिव ऋषिराम गौतमले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->