बागलुङ/ जैमिनी नगरपालिकाका गाउँ गाउँमा पुग्ने सडकमा पूर्वाधार बनाउने काम शुरु भएको छ । नगरका सबै वडामा एक÷एक वटा सडक दिगो रुपमा चलाउन नाली, पर्खाल लगायतका आबस्यक पूर्वाधार बनाउन शुरु भएको हो ।
बर्षात्मा पनि सवारी चलाउन हरेक बजेटमा लगानी गरिएको उपप्रमुख हरिहर शर्माले बताए । गाउँनै गाउँ भएकोले बस्तीमा बर्षातमा पनि पुग्ने गरी काम गरिएको शर्माले बताए । जैमिनी नगरपालिकाले मुख्य–मुख्य गाउँदेखि कुश्मीसेरा जोड्ने सडक पक्की बनाउने काम समेत शुरु भएको हो ।
आगामी असार मसान्तभित्र दुइ सडक कालोपत्रे गर्ने लक्ष राखेको नगरपालिकाले दर्जन सडक भने स्तरीय बनाइरहेको हो । ‘सडकको पक्की नाली बनेर ग्राभेल गरेपछि नियमित सवारी चल्छन्, मर्मतमा धेरै खर्च गर्नु पर्दैन’ शर्माले भने, ‘दुइचार बर्षमा धेरै गाउँमा कालोपत्रेमा पुगिनेछ ।’ ग्रामीण क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि पनि स्तरीय सडक चाहिएको उनले बताए ।
नगरभित्र दिगो सडक नामाकरण गरिएका १३ सडक लक्षित कार्यक्रममा नगरले नियमित बजेट लगानी गरेको छ । कालीगण्डकी करिडोरले विकासको खाका कोरेपछि करिडोर जोड्ने गरी योजना बनेका हुन् । कुश्मीसेराबाटै सर्कुवा र राङखानी जोड्ने व्याडथला हाडिकोट, बेलबगरदेखि छिस्तीहुँदै पुरानो गाउँ जस्ता सडक नगरको प्राथमिकतामा परेका हुन् । ती सडकमा स्टक्चरको काम भैरहेका हुन् ।
धेरैजसो साँघुरा घुम्ती मिलाएको र त्यसले सहज यात्रा बनेको योजना अधिकृत प्रेम सापकोटाले बताए । ‘घुम्तीहरु ढलान गरेर कालोपत्रेका लागि तयारी बनाउने योजनाले यात्रा सहज भयो’ सापकोटाले भने, ‘आगामी बर्ष अप्ठ्यारा घुम्ती बाँकी राख्दैनौं ।’ नुवारढीक धुल्लु व्याडथलाहुँदै हाँडीकोट जोड्ने सडकसमेत निर्माण भैरहेको हो । १ करोड २० लाखको लागतमा उक्त सडकको काम भईरहेको छ ।
कुश्मीसेरादेखि राङखानी, बरेङहुँदै शान्तिपुर जाने रणनीतिक सडकमा भने गण्डकी प्रदेशले लगानी गरेको छ । यो सडकको दुइ खण्डमा सडक चौडा पार्ने, नाली निर्माण सहित स्तरीय सडक बनाउने काम भैरहेको छ । यी सडक बनिसक्दा जैमिनीमा विकासले गति लिनेमा स्थानीय आशावादी छन् ।





