बागलुङ/पूर्वाधार विकासले ग्रामीण क्षेत्रहरु सदरमुकाम र बजारक्षेत्रबाट नजिक बन्दैगएको सरोकारवालाले बताएका छन् । मुख्यमन्त्री कार्यालय पोखराले आयोजना गरेको एक कार्यक्रममा सहभागिले पूर्वाधार विकासको आवश्यकता र महत्व अहिले देखिन थालेको उनीहरुको जिकिर छ ।
पूर्वाधार कार्यालय बागलुङले संचालन गरेका मुख्य सडक आयोजनाको सामाजिक परीक्षण तथा प्रगतिबारे सार्वजनिक सुनुवाइमा सहभागिको त्यस्तो भनाइ आएको हो । कार्यालयले निर्माण गरिरहेको कुश्मीसेरा नाम्दुक, बरेङ हुँदै शान्तिपुर सडकसहित मुख्य आयोजनाको अबस्था बारे आम नागरिकलाई सूचना दिंदैं बुधवार कामको प्रगती र सार्वजनिक सुनुवाइ समेत भएको छ । मुख्यमन्त्रीको कार्यालय पोखराको आयोजना र पोखरास्थित सुशासनका लागि नागरिक समाजको समन्वयमा भएको सुनुवाइमा आयोजनाको प्रगती बारे कार्यालयका प्रमुख गणेश सुवेदीले जानकारी गराएका थिए ।
सुनुवाइमा सरोकारवालाले सडक निर्माणमा ढिलाइ भएको, सडक बनाउने क्रममा विद्यालय तथा नीजि घरजग्गामा पुगेको असरप्रति आयोजना जिम्मेवार नभएको टिप्पणी गरेका िथए । साथै कतिपयले सडक निर्माणमा ठेकेदारले ढिलाइ गर्दा वर्षातमा दुःख पाएको पनि बताए । सडकको यथार्थ हिसाव सार्वजनिक गर्न मागसमेत भएको थियो ।
जिज्ञासाको जवाफ दिंदै कार्यालय प्रमुख सुवेदीले चालु वर्ष ७५ करोड रुपैयाँको आयोजना संचालन भएकोमा अहिलेसम्म सडकतर्फ ४१ करोड ३९ लाख, झोलुंगे पुलतर्फ २ करोड ७९ लाख, पक्की पुलतर्फ २ करोड ७८ लाख, भवनतर्फ १ करोड खर्च भएको बताइएको थियो । निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमतर्फका योजना ८६ प्रतिशत पुरा भएको सुवेदीले जानकारी गराए । गत वर्ष ३ सय ५ योजना सम्पन्न गरेकोमा चालु वर्ष १ सय ९६ योजनामा काम गरेको उनले बताए । वर्षात लाग्न लाग्दा यो वर्षपनि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमका टुक्रे योजनाहरु हेर्नुपर्ने अवस्था आएको उनले जानकारी गराए ।
पूर्वाधार विकास कार्यालय बागलुङमा १९ जनाको दरबन्दी भएपनि अहिले ९ जना खाली छ । तीमध्ये ४ जना इन्जिनियर र एकजना प्रमुख इन्जिनियर नै खाली भएकोले कामले गति लिन नसकेको बताइएको छ । भएको जनशक्तिको अधिकतम उपयोग गरेर परिणाम दिन लागेको भन्दै सुवेदीले बढी जिज्ञासा उठेको कुश्मीसेरा बरेङ सडकको दुइ खण्डमध्ये पहिलो खण्डमा काम ढिला भएको स्विकारे । उनले ठेकेदारले कोरोना कालमा काम नगर्दा ढिला भएको भन्दै चालु वर्ष असार मसान्तसम्म १० किमी सडक ग्राभेल हुने र आगामी दशै सम्ममा कालोपत्रे हुने विश्वास व्यक्त गरे ।
नाम्दुकदेखि बरेङ खण्डको १० किमी सडक भने चालुबर्ष भित्रै कालोपत्रे भैसक्ने दाबी गरे । यो खण्डको ४ किमी ढलान भइसकेको, ३ किमी खण्ड कालोपत्रे भएको र बाँकी ३ किमीमा पनि कालोपत्रेको तयारी भएकोले समयमै सकिने बताए । त्यसपछि सडक सफा गरेर ठेकेदार कंपनीले हस्तान्तरण गर्ने तयारी गरेको जानकारी गराइयो ।
उक्त अवसरमा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले सबैको चासो र चिन्ता भएमा पूर्वाधारका काम समयमा सकिने भन्दै दुर्गम मानिने बरेङ अब सुगम बन्न थालेको बताए । उनले काम गर्ने ठेकेदारलाई प्रोत्साहन गर्ने र नगरेकालाई गराउने वातावरण बनाउनु पर्ने बताए । कार्यक्रममा जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, गाउँपालिकाका अध्यक्ष कृष्ण पौडेल,सहायक प्रजिअ चित्राङ्गत बराल, सुशासनका लागि नागरिक समाजका अध्यक्ष रवीन्द्रनाथ बास्तोलालगायतले बोलेका थिए । समाजले बागलुङको पूर्वाधार विकास कार्यालय, म्याग्दीको स्वास्थ्य कार्यालय र पर्वतको घरेलु तथा पर्यटन कार्यालयको सार्वजनिक सुनुवाइ गर्ने जिम्मा पाएको र सोही अनुसार सेवाग्राहीको नागरिक अभिमत र बर्हिगमन अभिमत लिएर सुनुवाइ गरेको बताइएको थियो । कार्यक्रम समाजकै सचिव भानु पराजुलीले संचालन गरेका थिए ।





