बागलुङ/ अधिकांश भुगोल समथर भएकाले बागलुङ नगरपालिका–१४ नारायणस्थानमा सडक पूर्वाधारको विकास गर्न सजिलो छ । हवाई पूर्वाधारसमेत रहेको वडा धेरै पहिलादेखि सडकको विकास थालिएको थियो ।
यहाँका हरेक टोलमा सडक पुगेको छ । सडकदेखि बढीमा दुई सय मिटरभन्दा पर कुनैपनि घरधुरी छैनन् । तर यहाँ सडकको मापदण्ड कायम गरेर पक्कि पूर्वाधार निर्माणमा भने निकै सकस भयो । बागलुङ नगरपालिकाले सडकको मापदण्ड बनाएर कार्यान्वयनमा ल्याएपछि नारायणस्थानले सबैभन्दा धेरै मर्का महशुस ग¥यो । अघिल्लो कार्यकालका नगरप्रमुखकै सक्रियतामा यहाँ सडकको मापदण्ड १५ मिटर चौडाई हु्नुपर्ने बनाईएको थियो ।
सडकको मापदण्ड कायम गर्दा बनेका नीजि संरचना मासिने र गाउँमा मापदण्ड पनि धेरै भएको भन्दै झण्डै एक दर्जन रिट दायर भए । उच्च आदालत बागलुङ इजलाशमा दायर भएका रिटको टुंगो नलाग्दासम्म यहाँका सडक संरचनाको विकास रोकिएको थियो । स्थानीय आठ जनाले बागलुङ नगरपालिका र वडा कार्यालयविरुद्ध रिट दायर गरेका थिए । रिटको अदालतले टुंगो लगाउँदासम्म नगरपालिकाले भने मापदण्ड परिवर्तन गरिसकेको थियो । अहिले यो वडाका लागि १२ मिटर चौडाई हुनुपर्ने मापदण्ड छ ।
सुनुवाई गरेको अदालतले कारण मागेपछि सबै रिटहरु खारेज गर्यो । अदालतको झण्झट हटेपछि भने वडाका सडक संरचनाले मुहार फेरेका छन् । ‘आठ वटा मुद्धाको सामना गरेपछि बल्ल वडाका सडकको काम गर्न पाइयो’ वडा अध्यक्ष चक्रबहादुर खत्रीले भने ।
यहाँ सडकका संरचना बनाउँदा बनिसकेका नीजि घरगोठ, धार्मिक तथा सामाजिक संरचना अबरोध बनेको खत्री बताउँछन् । नारायणस्थानले सडकको नयाँ ट्रयाक बनाउने काम बाँकी नरहेकाले स्तरोन्नती र पक्कि बनाउने कामलाई प्राथमिकतामा राखेको छ । ‘एक बर्ष यता एक किलोमिटर सडक ढलान गरेका छौं, दुई किमी पक्कि नाली निर्माण भैसकेको छ’ खत्रीले भने ‘हामीले कानूनी अबरोध झेल्नुनपरेको भए धेरै काम गरिसकेका हुने थियौं ।’
बागलुङ कुश्मीशेरा सडक कालोपत्रे भएपछि वडाले सबै स्थानीय सडक कालोपत्रेका लागि पहल थालेको छभने कालीगण्डकी करिडोरसँग जोडिएका सडकलाई पहुँचमार्गको रुपमा विकास गर्ने योजना छ । ‘बलेवा बिमानस्थल हाम्रो वडाको सान हो, यो सञ्चालनमा आउँदा आसपासका सडक पक्कि हुन जरुरी छ’ खत्री भन्छन्, ‘बिमानस्थलदेखि बागलुङ कुश्मीशेरा सडक र छिमेकी पर्वतसँग जोडिएका पुलसम्म पुग्ने सडकमा ध्यान केन्द्रित गरेका छौं ।’





