बागलुङ/ जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुको भाडादरमा एकरुपता कायम भएको छैन । सरोकारवाला निकायले समयमा ध्यान नदिंदा एम्बुलेन्स भाडा कायम हुन नसकेको हो । भाडा कायम नहुँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन् ।
यातायात व्यवस्था कार्यालय बागलुङको अगुवाईमा स्वास्थ्य कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय बागलुङ, ट्राफिक प्रहरी कार्यालय बागलुङले संयुक्त बैठकले भाडादर कायम गर्ने प्रावधान छ । तर, यातायात व्यवस्था कार्यालयले समयमा अगुवाई नगर्दा भाडादर तोक्न नसकिएको हो ।
एम्बुलेन्सको भाडा मनपरी लिने गरेको गुनासो र उजुरीपछि स्वास्थ्य कार्यालय बागलुङले जिल्ला प्रशासन कार्यालयको निर्देशनमा भाडादर कायम गराउन पहल गरेको छ । ‘हामीले मात्रै भाडा दर कायम गर्न सक्दैनौं, सिडियोसापको निर्देशन पछि डिजेलको मूल्य र सडकको अवस्था समेतको अध्ययन गरी भाडा दरका बिषयमा छलफल थालेका छौं,’ स्वास्थ्य कार्यालयका प्रमुख प्रविण शर्माले भने ‘हामीले तयार पारेको प्रस्तावित भाडा जिल्ला प्रशासन कार्यालयलाई बुझाउँदै छौं, त्यसपछि थप छलफल हुन्छ ।’
यातायात व्यवस्था कार्यालयले भने एम्बुलेन्सको भाडादर तोक्ने बिषयमा स्वास्थ्य कार्यालयलेनै अगुवाई गर्नुपर्ने बताएको छ । जिल्लास्तरीय भाडादर निर्धारण समितिले निर्णय गर्नुपर्ने भएपनि त्यसको अगुवाइ स्वास्थ्य कार्यालयले नै गर्नु पर्ने कार्यालय प्रमुख पारसिंह थापाले बताए । ‘हामीले अन्य सवारी साधनको भाडादरको विषयमा समेत स्थानीयतहसँग समन्वय गरिरहेका छौं, एकै पटक एम्बुलेन्सको समेत भाडादर तोक्नेगरी तयारी छ,’ थापाले भने ‘अन्य सवारी र एम्बुलेन्सको भाडादर तोक्दा आधारहरु फरक फरक हुन्छन् सोही अनुसार हुन्छ ।’
जिल्लाभर सञ्चालनमा रहेका १३ वटा एम्बुलेन्स मध्ये सबैले आ–आफ्नै तरिकाले भाडा लिने गरेका छन् । एम्बुलेन्सको भाडा कायम नहुँदा बिरामी मर्कामा परेका छन् । जिल्लाको ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजारदेखि बागलुङ बजार आउँदा एम्बुलेन्सले ६ हजार रुपैयाँ भाडा लिन्छन् भने गलकोट नगरपालिकाको मुकाम हटिया बजारदेखि बागलुङ बजार बिरामी ल्याउँदा ८ हजार रुपैयाँ भाडा लिने गरिएको छ ।
बुर्तिबाङदेखि बागलुङ बजार ९१ किलोमिटर सडकमा भन्दा त्यसको आधा दूरीमा रहेको हटिया बजारदेखि बागलुङ बजारको भाडा २ हजार रुपैयाँले बढी रहेको पाइएको हो । स्थानीय तहले सञ्चालन गरेका र सामाजिक संघ संस्थाले सञ्चालन गरेका एम्बुलेन्सका बीचमा समेत भाडादर फरक छ । जिल्लाको दक्षिण क्षेत्र कुश्मीशेरा र बरेङमा सञ्चालनमा रहेका एम्बुलेन्समा पनि भाडाको एकरुपता छैन् ।
नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेका बागलुङमा दुईवटा मात्रै एम्बुलेन्स छन् । धौलागिरि अस्पताल र तमानखोला गाउँपालिकाले सञ्चालन गरेको एम्बुलेन्स मात्रै तोकिएको मापदण्ड पुरा गरेको स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक लक्ष्मी शर्माले बताइन् । ‘जिल्लाभर ‘ग’ बर्गका एम्बुलेन्स धेरै छन्, स्वास्थ्य मन्त्रालयले एम्बुलेन्सलाई ‘ख’वर्गमा रुपमान्तरण गर्न भनेको छ,’ शर्माले भनिन् ‘नयाँ खरिद भएकाले मापदण्ड पुरा गरेका छन्, पुरानाले नवीकरणका बेला मापदण्ड पूरा गर्नैपर्छ ।’ स्वास्थय मन्त्रालयले गरेको परिपत्र अनुसार एम्बुलेन्समा अक्सिजन, जिपिएस प्रणाली, बिरामी र कुरुवा राम्रोसँग सुत्न मिल्ने दुई बेड, इसिजी मोनिटर, लगायतका २१ वटा उपकरण तथा संरचना अनिवार्य हुनुपर्ने भनिएको छ ।
सरोकारवालासँग समन्वय गरेर एम्बुलेन्सको स्तरउन्नतीकालागि कार्यालयले पहिलो चरणमा स्थानीयतहसँग विवरण मागेको छ । विवरण संकलन भएपछि स्तरउन्नतीकालागि पत्राचार गरिने शर्माले बताईन् ।बागलुङ जिल्लाभर बागलुङ नगरपालिकामा पाँच, काठेखोला गाउँपालिकामा दुई, वडिगाड गाउँपालिकामा दुई र अन्य स्थानीय तहमा एक÷एक एम्बुलेन्स छन् । एम्बुलेन्स नै नभएको निसीखोला गाउँपालिकाले खरिद प्रक्रिया अगाडि बढाएको छ । जैमिनी नगरपालिकाले थप एक एम्बुलेन्स खरिद गर्दै छ । बडिगाड गाउँपालिका, बागलुङ नगरपालिका र काठेखोला गाउँपालिकाका एक/एक एम्बुलेन्स बिग्रिएर थन्किएका छन् ।





