
बागलुङ/ ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार याम सकिएको छ । शिकारीले नाउर र झारलको शिकार गरेर फर्किएसँगै शिकार याम अन्त्य भएको हो ।
दोस्रो शिकार याममा ढोरपाटनमा १२ नाउर र ६ झारलको शिकार भएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दोस्रो शिकार यामको लागि ९ झारलको कोटा निर्धारण गरे पनि तीन झारलको कम शिकार भएको हो ।
हिमालयन सफारिज प्रालिबाट आएका तीन विदेशी शिकारीले यस पटक निर्धारित कोटामा तीन झारलको शिकार गर्न नसकेको ढोरपाटन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कंडेलले बताए । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत् आठ देशका पेशेवर विदेशी शिकारीले यस वर्षको दोस्रो याम (फागुन–वैशाख)मा शिकार गरेका थिए ।
यस पटक शिकारीले एक नाउरको ५ लाख २० हजारदेखि ७ लाख ८० हजारसम्म र झारलको ३ देखि ३ लाख १० हजार रुपैयाँसम्म राजश्व तिरेका थिए । पहिलो याममा एक नाउरको २० लाख ५ हजार र झारलको ६ लाख राजश्व बुझाइएको थियो । शिकारको माग बढी हुँदा राजस्वको दर पनि बढ्ने र माग घट्दा राजस्व पनि घट्ने गरेको छ ।
यस वर्षको पहिलो सिजनमा आठ नाउर र छ झारलको शिकार कोटा निर्धारण गरिएपनि सात नाउर र पाँच झारलको शिकार भएको थियो । आरक्षमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खान्छन् भने सिंङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरुले सिंङको प्रतिष्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।





