बागलुङ/ तीन वर्षअघिको बाढी पहिरो पीडितलाई संकलन भएको आर्थिक तथा अन्य सहयोग उचित वितरण नभएको गुनासो आएको भन्दै ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले छानविनको माग गरेका छन् ।
२०७७ साल भदौ १७ गते ढोरपाटनमा बाढी आउँदा १२५ घर विस्थापित थिए । घटनामा २२ जनाको मृत्यु भएको थियो भने १५ जना बेपत्ता भएका थिए । बेपत्ता र मृतक परिवारलाई मृतककै रुपमा राहत पनि बितरण गरिएको थियो ।
कायतले सामाजिक संजाल र उपप्रमुखको हैसियतले पीडितलाई पत्र लेखेर आफूले पाएको राहत तथा क्षतिपूर्ति रकम र सामग्रीबारे सत्यतथ्य प्रमाण पेश गर्न आग्रह गरेका छन् । देशविदेशबाट कसले के कति रकम सहयोग गरेको सो जानकारी दिन उनको आग्रह रहेको छ ।
पहिरो जाँदा नगर प्रमुख वर्तमान प्रमुख देवकुमार नेपाली र उपप्रमुख करमती पुन थिए । लामो समयसम्म पीडितले राहत नपाएको गुनासो आएपछि राजनीतिक तथा सामाजिक क्षेत्रबाट दबाव आएको थियो । दवाबपछि पीडितले केही राहत पाएको तर भनेजति नपाएको गुनासो गरेका थिए ।
कायतले नगरपालिकाको लेटर प्याडमा निकालेको विज्ञप्तिमा नगरपालिकाले राहत वितरण गरेको तर पीडितहरुले पाउनुपर्ने नपाएको र नगरपालिकाले हिनामिना गरेको भन्ने चर्चा आएकोले कसले के कति रकम पाएको हो सो को जानकारी दिन आग्रह गरेका छन् । तत्कालीन अवस्थामा एकद्धार खाता संचालनमा उपप्रमुख करमती पुन र योजना शाखा प्रमुख चण्डीराज शर्मा जोडिएकोले बैंक भौचर भए पनि ल्याएर बुझाउन उनले आग्रह गरेका छन् । रकम हिनामिना भएको भए कारवाही हुने समेत विज्ञप्तिमा उल्लेख छ ।
उनले सामाजिक संजालमा आफ्नो भाषामा नगरप्रमुख देवकुमार नेपालीलाई समेत रकम हिनामिनाको आरोप लगाएका छन् । एउटा जनप्रतिनिधिले जनताको सुख–दुःखमा साथ दिनुको साटो उल्टै जनतामाथि शोषण गर्ने किन ? मेयरसाप भन्दै प्रश्न गरेका छन् । व्यक्तिगत लगानीमा घर बनाइदिन्छु भनेर दाताले सहयोग गरेको रकमसमेत नदिएको कुरा हो भने गम्भीर भयो भन्ने उनले जिज्ञाशा उठाएका छन् ।
नगरप्रमुख र उपप्रमुखको कार्यकक्ष एउटै भवनमा छ । तर, उनीहरु बीच बैठक भए नभएको, यस विषयमा छलफल भए नभएको कुरा कतै उल्लेख छैन । बरु, यो घटनाको निश्पक्ष छानविन हुनुपर्ने भन्दै नगर प्रमुखलाई मिडियाबाजी मात्र नगर्न सुझाव दिएका छन् ।
नगर प्रमुख नेपालीले उपप्रमुखले किन र केका लागि यो विषय उठाएका हुन् भन्ने थाहा नपाएको बताए । ‘हामीले आवश्यक कागजात पुगेका सबै पीडितलाई २ लाख रुपैयाँको दरले राहत दिएका थियौं, अहिले पनि राहत दिने काम जारी छ,’ उनले भने, ‘उपप्रमुखको हैसियतमा यो बिषयको आवश्यक कागजात संकलन गरेर छुटेकालाई राहत दिन पनि भनेको छु,’ नेपालीले भने, ‘कसैले काम थालेकै छैनन् भने कसरी घर बनाउने खर्च दिनु?’ उनले कर्मचारीतर्फ चण्डीराज पौडेलले सबै हिसाबकिताब राखेको दाबी गरे ।
बाढी पहिरोले ढोरपाटन जाने सडकसमेत क्षतविक्षत भएको थियो । उक्त सडक बनाउने जिम्मा लिएको सालझण्डी ढोरपाटन आयोजनाले पनि लामो समयसम्म काम नगर्दा स्थानीयले अत्यावश्यक सामान ढुवानी गर्न पाएका थिएनन् ।
पीडितलाई एकीकृत बस्ती विकास बनाएर राख्ने र तत्काल राहन दिने भन्दै हेलिकोप्टर चढेर आएका तत्कालीन गृहमन्त्री, मुख्यमन्त्रीलगायतका नेताले पनि पछि बस्ती व्यवस्थापनमा साथ नदिएको गुनासो आएको थियो ।
नगरप्रमुख नेपालीले भने छरिएर बस्ने, गोठमा जाने प्रकृतिका नागरिक बसेकोले एकीकृत बस्ती बनाउन नसकेको बताए । मृतक र बेपत्ता परिवारलाई काजकिरिया खर्च र घर बनाउन दुई लाखको दरले राहत उपलब्ध गराएको उनले बताए । दाताले दिएको रकम मात्रै २ करोड बढी संकलन भएको चर्चा भएपनि हिसाबकिताब सार्वजनिक भने नभएको कायतले टिप्पणी गरे ।





