बागलुङ/आम नागरिक र व्यवसायीलाई उपभोक्ता शिक्षा सम्बन्धी ज्ञान दिदै उपभोक्ता हित बिपरित काम गर्नेलाई कारवाही गर्नुपर्ने नियामक क्षेत्रका अगुवाले बताएका छन् ।
बागलुङ नगरपालिकाको आयोजनामा जिल्ला प्रशासन, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता मञ्च र उद्योग बाणिज्य संघले आयोजना गरेको उपभोक्ता तथा बिक्रेता सचेतना कार्यक्रममा उक्त भनाइ आएको हो ।
मंगलवार आयोजित कार्यक्रममा नगरप्रमुख बसन्तकुमार श्रेष्ठले उत्पादनमा परनिर्भर बन्दा उपभोक्ता ठगिएको बताए । म्याद सकिएका सामान प्रति उपभोक्ता सचेत बन्न नसकेको भन्दै कतिपय सामान ग्रामीण बस्तीमा पठाएर नागरिकलाई ठगी भएको बताए । उनले औषधि पसलमा समेत जो मनलाग्यो त्यही मानिस बसेर बिक्री गर्दा मानव स्वास्थ्यमा गम्भिर असर परिरहेको बताए । ती बिषयमा प्रभावकारी अनुगमन थालेर कारवाही गर्ने उनले बताए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले जिम्मेवार उपभोक्ता र जवाफदेही बिक्रेता बन्न सकेमा बजारमा देखिने समस्या धेरै हदसम्म रोकिने बताइन् । बजार क्षेत्र मात्र नभइ ग्रामीण क्षेत्रमा पनि अनुगमन प्रकृया चुस्त र प्रभावकारी बनाउनुपर्ने उनको जोड थियो । उनले व्यवसाय म¥र्यादित बनाउन उपभोक्ता शिक्षा आबस्यक भएको बताइन् ।
कार्यक्रममा सहायक प्रजिअ चित्राङगत बराल, खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठ, उपभोक्ता मंचका केन्द्रीय सदस्य रामबहादुर केसी, प्रहरी उपरिक्षक योगेन्द्रकुमार श्रेष्ठ लगायतले बजारमा देखिने अव्यवस्था, उपभोक्ता शिक्षामा भएको कमजोरी तथा कारवाही प्रकृया बारे प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा पछिल्लो समय अखाद्य बस्तुको बिक्री बढीरहेकोमा उनीहरुको चिन्ता थियो । व्यवसायीले भने आर्थिक मन्दीले व्यवसायमा असर परेको र १० प्रतिशत मात्रै नाफा खान पाउने भन्ने प्रावधान अव्यवहारिक भएको दावी गरेका थिए । उनीहरुले सटर भाडामा लिँदा १० प्रतिशत नाफाले नपुग्ने बताएका थिए ।
सहायक प्रजिअ बरालले नेपालका उपभोक्ता हित संरक्षण तथा बजार अनुगमन सम्बन्धी कानूनी प्रावधान बारे जानकारी गराएका थिए । अधिकांस अनुगमनमा भेटिएका कमजोरीप्रति ५० हजार देखि ५ लाख सम्म जरिवाना, ३ महिना देखि ३ बर्ष सम्मका जेल सजाए हुने कानूनी प्रावधान बारे जानकारी गराए । कतिपय अनुगमनको क्रममा पहिलो दोश्रो पटकलाई सामान्य सुभाव दिएको, चेतावनी दिएको र न्युननम जरिवाना गराइएको बताइएको थियो ।
मिठाइ लगायतका रेष्टुरेन्टमा उत्पादन हुने खाद्यबस्तुमा अखाद्यबस्तु मिसावट हुने गरेको चिन्ता समेत कार्यक्रममा बताइएको थियो । खाद्यप्रविधि तथा गुणनियन्त्रण कार्यालयका प्रमुख सौरभ श्रेष्ठले बजारमा छ्याप्छ्याप्ती अखाद्य बस्तु भेटिएकोले कारवाही नगर्ने, अनुगमन नगर्ने भन्दापनि गुणस्तरीय सेवा दिन सकेमा कार्यालयबाट प्राविधिक सहयोग गर्ने जानकारी गराएका थिए ।
तारेको खानेकुरा पत्रपत्रिकामा राखेर खान नहुने, खाने तेललाई घाम लाग्ने स्थानमा भण्डारन गर्न नहुने लगायतका जानकारी समेत गराइयो । दूधको पाश्चराइजेसन नगरी खान बेच्न नहुने । व्यवसायमा मूल्यसूचि अनिवार्य राख्ने, बिना दर्ता व्यवसाय संचालन नगर्ने र घरेलु तथा स्थानीय तहमा व्यवसाय दर्ता गर्नुपर्ने प्रावधानलाई कडाइ गर्ने कार्यक्रमले निष्कर्ष निकालेको छ ।
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काको अध्यक्षता, नगरपालिकाका प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।





