बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

संस्कृत विषयबारे पोखरामा मन्थन : संस्कृतको महत्व नबुझेको जिकिर 

संस्कृत विषयबारे पोखरामा मन्थन : संस्कृतको महत्व नबुझेको जिकिर 


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३ २०८०, बुधबार
पोखरा/ अनुसन्धान व्यवस्थापन एकाइ, विन्दुवासिनी संस्कृत विद्यापीठ, पोखराको आयोजनामा मंगलबारदेखि चार दिवसीय क्षमता विकास तालिम सुरु भएको छ ।

तालिमको गण्डकी प्रज्ञा प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीले उद्घाटन गरे । कुलपति बिखर्चीले संस्कृत वाङ्मय मानवताको जरो भएको बताउँदै यो नैतिक चेतना र सभ्यताको श्रोत भएको उल्लेख गरे ।
बाहिरी संसारले उच्च महत्त्व दिनुका साथै माया गरेको यस वाङ्मयलाई हामीले कदर गर्न नसकेको उनको भनाइ थियो । विद्यालय शिक्षामा संस्कृत हटाउनु दुर्भाग्य भएको उल्लेख गर्दै उनले हाम्रो सभ्यता र संस्कृतिको मौलिकता जोगाउन संस्कृतको पठनपाठनलाई  तल्लो तहसम्मै पु¥याउनु जरुरी रहेको तर्क गरे ।
नेपाल संस्कृत विश्विद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिका उपसभापति सहप्राध्यापक आनन्दमणि रिजालले विश्वविद्यालयले सबै प्राध्यापकहरूलाई  प्राज्ञिक अध्ययन र अनुसन्धानका निश्चित कार्य  गर्नैपर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे । विद्यापीठका प्राचार्य डा. जगन्नाथ रेग्मीले विद्यापीठलाई अनुसन्धान एवम् प्राज्ञिक क्षेत्रमा गतिशील बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए । विद्यापीठका संस्थापक प्राचार्य सह प्राध्यापक श्रीराम बरालले तालिमका उपलब्धिलाई व्यवहारमा उतार्नु जरुरी रहेको धारणा राखे ।
 विद्यापीठका प्राचार्य डा.जगन्नाथ रेग्मीको सभापतित्वमा सम्पन्न उद्घाटन समारोहमा अनुसन्धान व्यवस्थापन एकाइका संयोजक सह प्राध्यापक डा. चूडामणि कँडेलले स्वागत गरेका थिए । सहप्राध्यापक सत्यराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यपत्र प्रस्तुतिका दुई सत्रअन्तर्गत पहिलो सत्रमा पृथ्वीनारायण क्याम्पसको अंग्रेजी विभागका उपप्राध्यापक डा.सवीन्द्रराज भण्डारीले प्रोस्पेक्ट्स एण्ड च्यालेन्ज्स अफ टिचिङ कम्पलसरी इङ्गलिस इन शास्त्री फस्ट एण्ड सेकेन्ड इयर विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । उक्त कार्यपत्रमाथि पोखरा विश्वविद्यालयका उपप्राध्यापक भरत ढकालले  टिप्पणी गर्नुभएको थियो भने प्राध्यापकहरू श्यामप्रसाद पौडेल, अम्बिकाप्रसाद भट्टराई, योगराज पौडेल, विष्णुप्रसाद शर्मा, प्रकाश पौडेलले  विभिन्न जिज्ञासा र सुझाव व्यक्त गरेका थिए ।
दोस्रो सत्रमा सिद्धान्त ज्योतिषका सह प्राध्यापक पूर्णचन्द्र वाग्लेले ‘प्रथम लग्नानयनमा देखिएका समस्या र निराकरणका उपायहरू’ शीर्षकको अवधारणापत्र प्रस्तुत गरेका थिए । उक्त अवधारणापत्रमा सह प्राध्यापक श्रीराम बरालले टिप्पणी एवम् प्राध्यापकहरू पशुपति दवाडी, नारायणप्रसाद सापकोटा, योगराज पौडेल, जगन्नाथ रेग्मी, सवीन्द्रराज भण्डारी, भानुभक्त आचार्यले विभिन्न जिज्ञासा र सुझाव व्यक्त गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन उपप्राध्यापक प्रकाश पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->