बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका–३ दमेकको कालापातलमा तामा उत्खनन् लागि प्रारम्भिक अध्ययन सुरु भएको छ । खानी विभागको अनुमतीमा मोहङ मिनीरल्स र शुभम् ग्रुपले तामा उत्खनन्का लागि प्रारम्भिक अध्ययन थालेका हुन् ।
यहाँ परापूर्वकालमा तामाको उत्खनन् हुने गरेका तथ्यका आधारमा प्रारम्भिक अध्ययन सुरु गरिएको वडा अध्यक्ष कृष्ण भुजेलले बताए । पूर्खाले बनाएका पहाड भित्रका सुरुङमा तामाको सम्भाव्यताबारे खानी बिभाग र अनुमति प्राप्त कम्पनीहरुलाई जानकारी गराईएको थियो । खानीको अध्ययन गरिरहेका दुवै कम्पनीका इञ्जिनियरको समुहले काम थालेको हो ।
‘यो प्रारम्भिक अध्ययन हो, यहाँ तामा रहे नरहेको बिषयमा पहिले खोजी गर्छौं’ शुभम् ग्रुपका निर्देशक अशोक बिकले भने ‘प्रारम्भिक अध्ययनको रिपोटपछि अन्य प्रक्रिया थाल्ने छौं ।’ प्रारम्भिक अध्ययनका लागि मात्रै छ महिनाको समय लाग्ने बिकले बताए । अध्ययन सकिएपछि कम्पनीहरुले एक बर्षभित्र प्रतिवेदन तयार गर्ने छन् ।
‘दीर्घकालीन र महत्वकांक्षी प्रयासमा हामी छौं, संभावनाहरुको खोजी गर्दै नौलो कर्ममा जोडिदैँ छौं ।’ जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले भने ‘खानी नगरको महत्वपूर्ण क्षेत्र हो, अध्ययनले हामी कहाँ छौं, के छ भन्ने थाहा हुन्छ ।’ परम्परागत खानीहरुकै सेरोफेरोमा बिज्ञहरुको समुहले अध्ययन गरिरहेको छ ।
बागलुङकै तित्याङमा तीन बर्षअघि प्रारम्भिक अध्ययन थालेको शुभम् ग्रुपले कोरोना महामारीमा चीनबाट आएका प्राबिधिक फर्किएपछि अध्ययन रोकेको थियो । तित्याङमा अध्ययन सकिएकाले दोस्रो चरणको खानी अध्ययन र वातावरणीय परीक्षणको काम सुरु हुने बिकले बताए । ग्रुपले म्याग्दीको ओखरबोटमा पनि तामा खानीको अध्ययन गरिरहेको छ ।





