बागलुङ/ सडक संजालले ग्रामीण क्षेत्रका टोल टोलमा छोएको छ । धेरै गाउँ पुग्न अहिले गाडी चढेर जान सकिन्छ । तर बडिगाड गाउँपालिका–८ को वडा कार्यालय जानु परे गाडीबाट झरेपछि ३ घण्टा पैदल हिंड्नुपर्छ ।
वडा कार्यालयबाट यहाँको भेडिखोर, खोलाखर्कतर्फ जानुपरे ३ घण्टा हिंड्नुपर्छ । पुरानो गाउँ र होरहोरेतर्फ गएपनि तीन घण्टाकै पैदल यात्रा पर्छ । वडामा सेवा लिन जाने जेष्ठ नागरिक, बिरामी लगायतले अहिले पनि सास्ती खेपेका छन् ।
भौगोलिक रुपमा कठिन हुँदा रणसिंकिटेनीबासीले सडक लैजाने र गाडी चढेर वडाको मुकाम पुग्ने सपना पुरा गर्न सकेका छैनन् । १४ बर्ष अघिदेखि काम थालेपनि अझै सडक पुग्न नसकेको हो । अत्यावस्यक काम पर्दा गाउँपालिकाको मुकाम पुग्न पनि उनीहरुले घण्टौ पैदल यात्रा गर्नुपर्छ । छिमेकी जलजलासम्म पैदल गएपछि मात्र उनीहरुले सवारी पाउन सक्छन् ।
स्थानीयले चन्दा उठाएर थालेको कामले अझै पुर्णता नपाएपछि सडक सपना पुरा नभएको हो । उपभोक्ताले ५० लाख चन्दा संकलन गरेर काम थालेपछि तत्कालिन जिविसले ८० लाख बजेट बिनियोजन गरिदिएपछि शुरुवातमा १२ किमी ट्रयाक खोलिएको रणसिंकिटेनी जाने सडक अझै दुइ बर्षमा पनि पुरा हुन सक्ने नसक्ने अन्यौल भएको वडा अध्यक्ष जंगबहादुर बलालले बताए ।
तत्कालिन जिविसले बिनियोजन गरेको रकमले १२ किमी ट्रयाक खोल्ने लक्ष बनाएका स्थानीयले आधा पनि काम गर्न सकेनन् । मेहरसिंह पाइजा अध्यक्ष रहेको उपभोक्ता समितिले जलजलादेखि रणसिंकिटेनीको सिमानासम्म सडकको ट्रयाक खोलेपछि बजेट सकियो । पटक पटक स्थानीयले चन्दा उठाएर केही पहरा फोड्ने प्रयास पनि गरे ।
जिविस खारेजीपछि स्थानीय तहले आफ्ना वडालाई सडक संजालमा जोड्ने लक्ष्य बनायो । पाइजाले आँफू अध्यक्ष भएको बेला जलजला र भिमगिठे दुवै तर्फबाट ट्रयाक खोल्न ठूलो बजेट लगानी गरे । तर अझै काम पुरा नभएको हो ।
अहिलेकी अध्यक्ष गण्डकी थापा अधिकारीले पनि हरेक बर्ष बजेटमा प्राथमिकता दिएकी छिन् । तर भौगोलिक कठिनाइले अझै सडक संजालले जोड्न नसक्दा सवारी चढेर गाउँ पुग्ने स्थानीयको सपना पुरा हुन सकेको छैन । वडाको दुवै तर्फको सिमानामा सडकले छोएपनि वडा कार्यालय पुग्न अझै दुई घण्टा पैदल हिंड्नैपर्छ ।
‘म आँफै दुइ घण्टा नहिंडे वडामा पुग्नै सक्दिन’ वडा अध्यक्ष बलालले भने, ‘शिक्षा र स्वास्थ्य सेवा लिनेले पनि पैदलै गर्न बाध्य छन् ।’ बलाल अध्यक्ष भएर पनि यो सडक जोड्न लामो समय काम गरेका थिए । हरेक बर्ष श्रमदान र स्थानीयले पैसा उठाएर शुरु गरेको सडक अझै पुरा हुन नसकेको उनले बताए ।
बलाल नेतृत्वमा वडाका बस्ती जोड्न सडक खन्ने क्रम भने जारी छ । चार बर्षअघि गाउँपालिकाले पालिका भित्रको चक्रपथ निर्माणका लागि यो सडक रोजेको थियो । अहिलेसम्म जलजलादेखि भेडिखोरहुँदै खोलाखर्क पुग्ने सडकको ट्रयाक खुलेको छ । तर यी गाउँलाई स्वास्थ्यचौकी र वडा जोड्ने योजनामा बजेट अभाव छ ।
‘गाउँपालिकाको ४५ लाख लगानी गरेर भेडिखोरदेखि दोभान जाने ट्रयाकको तयारी भएपनि यो बजेट अभाव भएको हो । अहिले पुरानो गाउँ नजिकको भीरमा खन्न लागिएको सडक पनि बजेट अभावले स्थगित भएको छ । बलालका अनुसार चालुबर्ष भेडीखोरदेखि दोभान जाने सडकलाई गण्डकी प्रदेश सरकारको ६० लाख बिनियोजन छ । पालिकाले ९७ लाख बिनियोजन गरेको थियो । हिउँदे अधिवेसनले पनि २९ लाख लगानी गर्ने निर्णय गरेको छ । पहरा परेकोले प्रदेशको ६० लाखले २ सय मीटर पनि बाटो खन्न नसकिएको उपभोक्ता समितिका अध्यक्ष दलबहादुर पाइजाले बताए ।





