बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एक बर्षमै सेलाउँदै जनप्रतिनिधिको उत्साह

एक बर्षमै सेलाउँदै जनप्रतिनिधिको उत्साह


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८०, शुक्रबार

बागलुङ/ गतबर्ष जेठ ६ गते पहिलो पटक पदासिन हुँदाको जनप्रतिनिधिको उत्साह एक बर्ष नपुग्दै सेलाएको छ । के के गरौंला भनेकाहरुले परिणाम दिन नसक्दा निरास जस्तै छन् ।

सदरमुकामस्थित बालुङ नगरपालिकाले आफ्नै भवन बनाएर नगरपालिका सार्ने योजना अलपत्र भयो । फोहोरको व्यवस्थापन गर्ने चाहना पुरा भएको छैन । ‘मेरो बर्षभरीका दौडधुप नगरको आफ्नै घर बनाउनेमा बित्यो, तर अझै लक्षमा पुग्न सकिएन’ नगरप्रमुख बसन्तकुमार श्रेष्ठले भने, ‘जुन उत्साहले आएका थियौं, काम गर्ने वातावरण अझै मिलेको छैन ।’

नगर प्रमुख बसन्तकुमार श्रेष्ठले बालमैत्री नगर बनाउने पहिलो निर्णय गरे । यो निर्णयमा भने धमाधम काम भैरहेको छ । बालमैत्री बनाउन आवस्यक पर्ने ५१ सूचक पुरा गर्ने काममा नगरले निरन्तर काम गरिरहेको छ । बालमैत्री नगरका लागि चाहिनेमध्ये शिक्षा र स्वास्थ्य संस्थामा मात्रै २५ सूचक पुरा गर्नुपर्ने बाध्यता छ । त्यसका लागि बालमैत्री भौतिक संरचना, बालमैत्री व्यवहार र शिक्षाको काम शुरु भएका छन् ।

ढीलागरी रातो किताब आउने, समयमा काम नसक्दा बजेट फ्रिज हुने समस्या समाधान गर्न नगरपालिकाले असार ३१ गते रातो किताब सार्वजनिक ग¥यो । साउनदेखि योजना सम्झौता थाल्यो । वडा तहमा पुगेर योजना सम्झौता, अपांग परिचयपत्र बितरण र स्वास्थ्य परीक्षण समेत गरायो । यो कामले मंसिरभित्रै ९५ प्रतिशत योजना सम्झौता भए । नियमित सार्वजनिक सुनुवाइको काम थालनी गरेर पारदर्शीता ल्याउने प्रयास भयो । तर, जुन जोश र उत्साहका साथ काम थालिए, ती काम पुरा गर्न सकेनन् । नगरप्रमुख बसन्तकुमार श्रेष्ठ र उपप्रमुख राजु खड्काले दु्रत गतिमा काम गर्ने चाहना राखेकोमा कार्यान्वयन धिमा भयो । समयमा सम्झौता भएका योजना पुरा भएनन् । अझै कतिपय योजना पुरा नभएपछि चैत मसान्तमा सबै फरफारक गर्ने चाहना तुहियो ।

अधिकांस योजनामा मुद्दा मामिलाले अप्ठ्यारो बनाएको उपप्रमुख राजु खड्काको भनाइ छ । यहाँको बसपार्क निर्माणको क्रममा भ्रष्टाचार भएको भन्दै तत्कालिन उपप्रमुख सुरेन्द्र खड्का, इन्जिनियर मनोज शर्मा लगायतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा मुद्दा दायर गरेपछि काम गर्न हौसिएका कर्मचारी र जनप्रतिनिधि पछि हटे । बर्षभरी फाइल बोकेर अख्तियार धाउने कामले उत्साह घटेको कर्मचारीले बताए ।

फोहोर व्यवस्थापनमा गलकोटको प्रगती

फोहोर व्यवस्थापनमा भने गलकोटले प्रगती गरेको छ । फोहोरलाई कुहिने र नकुहिने गरी छुट्टयाएर बिक्री गर्दै आम्दानी गर्न थालेको छ । नगरको सबै वडा कार्यालय भवन बनाएर सेवा दिन थालेको छ । आफ्नै प्रशासकीय भवन बनाउने काममा भने नगर पछि परेको छ । एक बर्षअघि थालिएको भवन ठेकेदारले ढीलाइ गर्दा जनप्रतिनिधिको कार्यकाल सकिंदा पनि भवन बन्ने नबन्ने अन्यौल छ । गलकोटले आफ्नै नगर अस्पताल बनाएर संचालनमा ल्याएको छ । दुइ जना डाक्टर राखेर उपचार सेवा दिएको नगरमा केही ट्याक्सी व्यवसायीले निशुल्क यातायातको सेवा पनि दिएका छन् । नगरभित्र नो होम डेलीभरी अभियान समेत चलेको छ ।

बिपन्न बस्तीमा किसानको व्यवसायिक उत्पादन बढाएर बजारीकरण गर्ने काममा लगानी गरेको गलकोटले रैथाने बाली संरक्षण अभियान चलाएको छ । भवन निर्माण संहिता पालना र बजार व्यवस्थापन गलकोटको चुनौती हो । धान फल्ने गलकोटे फाँट अहिले कंक्रीडको सहर बनिरहेको छ । त्यो रोक्ने ताकत नगरसँग छैन ।

जैमिनीमा गाउँघरमै बस्ने वातावरण बनाउन चुनौती

बाढीपहिरो पीडित र बाँदर आतंकले बसाइसराइ बढेको जैमिनीमा गाउँघरमै बस्ने वातावरण बनाउने चुनौती छ । पहिरो पीडित र बाँदरका कारण बसाइसराइ बढेकोले नियन्त्रण प्रयासमा केन्द्र धाउने कामले समय बिताएको छ । पहिरो पीडितलाई पुर्नवास दिन नसक्दा तराइ झर्ने बढेका छन् । ‘बाँदर नियन्त्रण गर्न सकिएन भने हाम्रा जनता सबै पलायन हुने भए’ नगरप्रमुख नरबहादुर पुनले भने, ‘कृषि क्षेत्रको विकास भएमात्रै आत्मनिर्भर नगर बनाउन सकिएला भन्ने छ ।’ ग्रामीण बस्ती भएकोले कृषिको विकासबाटै समृद्धि ल्याउन सकिने उनले बताए ।
नगरपालिकाले एक बर्षअघि थालेको प्रशासकीय भवन बनाउने योजना ढीलागरी अगाडि बढेको छ । वडा वडामा पुग्ने स्तरीय सडक बनाउने र बाह्रै महिना गाडी संचालन गर्न १३ वटा दिगो सडकको अबधारणा ल्याएको छ ।

ढोरपाटन नगरपालिका : स्वास्थ्य क्षेत्र कमजोर

ढोरपाटन नगरपालिकाले स्वास्थ्य क्षेत्र कमजोर छ । बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पताल बनाउने योजना पुरा हुन सकेन । अहिले पनि सामान्य उपचारका लागि बुटवल धाउनेहरु धेरै छन् । २०७७ सालको पहिरोले पीडित भएकाहरु पुनस्थापित भैसकेका छैनन् । राज्य र नगरपालिकाबाट पाउनुपर्ने राहत नपाएको गुनासो बेला बेला आइरहन्छ । संकलित राहत एकद्वार प्रणालीबाट बितरण गर्ने भनिएपनि बिबादित बनेको छ । उपप्रमुख धनबहादुर कायतले प्रमुख देवकुमार नेपालीको पारदर्शीता माथी नै प्रश्न उठाएका छन् । पहिरोले ढोरपाटनका १ सय २५ घर बगेका थिए भने २२ को मृत्यु र १५ जना बेपत्ता भएका थिए ।

डिजीटल प्रविधिमा जोडिदै काठेखोला

काठेखोला गाउँपालिकाले राजश्वलाई अनलाइन व्यवस्थापन गरेको छ भने पालिकाभरको तथ्यांक पनि डिजिटल प्रविधिमा अद्यावधिक गराएको छ । राजश्वलाई अनलाइन व्यवस्थापन गर्दा पारदर्शीता कायम हुने गरेको उपप्रमुख तेजबहादुर थापाले बताए । सुन्तला, आलु र अदुवाको ब्लकमार्फत आम्दानी बढाएका किसानको फसल राख्ने शितभण्डारहरु निर्माण भएका छन् ।

प्राङगारिक खेतीमा अब्बल ताराखोला

ताराखोला गाउँपालिका यो पटक मध्यमखालको छ । उल्लेख्य काम गर्न नसकेपनि ढुंगा उद्योग दर्ता गरेर चलाउने, उद्यमी बढाउने र रसायनिक मल नभित्राउने नीतिमा ताराखोला अझैपनि अब्बल छ । सशष्त्र द्वन्द्वमा मारिएका ताराखोलाका २३ जना र बेपत्ता २ गरी २५ जनाको शालिक बनाएर सहिद पार्कको अन्तिम स्वरुप दिन लागेको अध्यक्ष धनबहादुर बिकले बताए ।

तमानका दुर्गम बस्तीमा सडक संजालको विस्तार

गाउँपालिकाभर खरको छानामुक्त बनाएको तमानखोला गाउँपालिकाले सोलेडाँडालाई पर्यटकीय गन्तव्य बनाउन लगानी बढाएको छ । सडक संजालले नछोएको यो पालिकाको सबै वडामा स्तरीय सडक बनेको छ । पालिकाले स्वास्थ्यचौकीबाहेक ५ वटा सामुदायिक स्वास्थ्य इकाइ स्थापना गरेर महिला स्वास्थ्यको सुधार गरेको छ ।

बालबालिकालाई शिक्षासंग जोड्दै बडिगाड

बडिगाड गाउँपालिकाले आफ्नै सिंहदरवार बनाएर कार्यालय संचालन गरेको छ । भौगोलिक कठिनाइ भएकोले वडा वडामा सडक संजाल लैजाने काम पहिलो प्राथमिकतामा राखिएको छ । शिक्षामा कमजोर पालिकामा अहिले सबैभन्दा धेरै शिक्षक दरबन्दी बितरण भयो । वडा तहमा आबासीय बिद्यालय बनाएर बालबालिकालाई शिक्षाको पहुँचमा लैजाने लक्ष समेत पालिकाको छ ।

सुगम बन्दै बरेङ, शिक्षा र स्वास्थ्य कमजोर निसीखोला

पहिला दुर्गम मानिएको बरेङ सडकले सुगम बनेको छ । मुख्य सडकखण्ड कालोपत्रे भैसकेकोले कृषि, पशुपालन र उद्यमशिलतालाई प्राथमिकता दिएर बजारमा जोड्ने लक्ष राखेको अध्यक्ष कृष्णप्रसाद पौडेलको भनाइ छ । बागलुङको निसीखोला अझैपनि शिक्षा र स्वास्थ्यमा पछि परेको छ । सुधारका ठोस कार्यक्रम ल्याउन सकेको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->