बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

मनकारी ट्याक्सी चालक : जसले निशुल्क बिरामी बोक्छन्

मनकारी ट्याक्सी चालक : जसले निशुल्क बिरामी बोक्छन्


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ५ २०८०, शुक्रबार

बागलुङ/ पश्चिम बागलुङका ट्याक्सी चालक बिष्णु काउचा मगर दुईसाता पहिले बडिगाड गाउँपालिकाबाट बिरामी बोकेर गलकोट नगर अस्पताल पुगे । सधैंजसो बिरामी बोकेर धौलागिरी अस्पताल बागलुङ र पोखराका बिभिन्न अस्पताल पुगेका काउचाले सोचेकै थिएनन् गलकोटमै ती बिरामीको उपचार होला भनेर ।

अस्पताल पुगेपछि बिरामी उपचारतर्फ लागे, काउचा भने नगर अस्पतालका सेवा सुविधा के–के छन् भनेर बुझ्न थाले । आँफैले अस्पताल पु¥याएको बिरामीले उपचारपछि औषधि लिएर फर्किएको देखेपछि काउचा दंग परे ।

अस्पतालको सेवा सुधार भएको बिषयमा सबै जानकारी पाएका काउचा आँफुले ल्याएको बिरामीले समयमा उपचार पाएपछि खुसी मात्रै भएनन्, तत्कालै समाजसेवी निर्णय समेत गरे । वडिगाडबाट तोकिएको भाडा लिएर अस्पताल बिरामी पु¥याएका काउचाले अब भने निशुल्क बिरामी बोक्ने निधो गरे ।

‘अस्पताल पुगेपछि थाहा भयो यहाँ राम्रो उपचार हुँदोरहेछ’ काउचा भन्छन् ‘गाउँमै सेवा पाए किन बाहिर जानु, विपन्न बिरामीका लागि त झन् राम्रो सुविधाको कुरा भयो, सवारीको असुविधा देखेर मैले निशुल्क बिरामी बोक्ने निर्णय गरेँ ।’ काउचा अहिले हप्तामा एक दिन गलकोटको हटिया बजारदेखि हरिचौरस्थित अस्पतालसम्म निशुल्क बिरामी ओसार्छन् । अस्पताल पुगेपछि आँफु निकै प्रभावित भएको काउचा बताउँछन् । हरेक सोमबार उनले निशुल्क बिरामी बोक्ने निधो गरेका छन् । यो निर्णयले उनलाई धेरै गलकोटेले हौसाएका छन् ।

गलकोटको हटिया बजारदेखि १५/२० मिनेट कच्चि सडकको यात्रा गरेपछि नगर अस्पताल पुगिन्छ । मध्यपहाडी लोकमार्गमा चल्ने सवारी चढेर हटिया बजार झर्नेहरुका लागि ट्याक्सी, पिकअप भ्यान वा टेम्पो रिजर्भ गर्दा महंगो शुल्क तिर्नुपर्ने बाध्याता छ । भाडादरमा एकरुपता नभएकाले बिरामीले अस्पताल पुग्न असुविधा महसुस गर्दै आएका थियो । यही अवस्था देखेपछि निशुल्क बिरामी बोक्ने निर्णयमा पुगेको काउचा बताउँछन् । ‘अस्पतालमा बिरामीको उपचार भैरहेको देखेपछि सहयोग गरौं भन्ने लाग्यो, आँफुसँग गाडी भएकाले बिरामी बोक्ने निर्णय गरेँ ।’

काउचाको यो निर्णयको चर्चा नसकिँदै अर्का मनकारी ट्याक्सी व्यवसायीले पनि निशुल्क सेवा दिने निर्णय गरेका छन् । मानवसेवा नै धर्म हो भन्दै गल्कोट–२ तोरीखोलाका रामु पुनले हरेक बिहिबार निशुल्क बिरामी बोक्ने निर्णय गरेका छन् । उनको ट्याक्सी चल्ने क्षेत्र वडा नं. २ नरेठाँटी हो । नरेठाँटीबाट निशुल्क रुपमा बिरामीलाई अस्पताल पु¥याउने पुनले बताए ।

‘बिष्णु जीले हटियाबाट बिरामी निशुल्क बोक्न थाल्नुभयो, बुढाबुढी, बिरामी र अपांगता भएकाहरुले अस्पताल पुग्दा भोगेको सास्ती देखेर मलाई पनि सेवा गरौं भन्ने लाग्यो’ पुनले भने ‘हप्तामा छ दिन त मैले कमाईहाल्छु, एक दिन सेवामा लाग्दा के नै सकिन्छ र ।’ उनले पहिलो दिन नै नरेठाँटीबाट २० जना बिरामी अस्पताल पु¥याएका छन् । दुवै जनाले बिहान दश बजेदेखि दिउँसो चार बजेसम्म आफ्ना ट्याक्सी बिरामीका लागि तयारी अबस्थामा राख्ने गरेका छन् । बिहान बेलुका भने भाडामा चलाउँछन् ।

‘अस्पताल र हटिया बजारको डिस्टेनका कारण बिरामीले मर्काको महसुस गर्नुभएको थियो, अर्को कुरा सवारीमा अस्पताल पुग्दा भाडादरमा एकरुपता नहुँदा समस्या थियो’ अस्पतालका प्रमुख डा. राजेश पौडेलले भने ‘अहिले युवाहरुले समाजसेवी भाव राख्नुभएको छ, यसले बिरामीलाई धेरै सहयोग गर्छ ।’

गलकोट नगरपालिकाले नै अस्पतालसम्म पुग्ने भ्यान वा टेम्पो सेवा सञ्चालनमा ल्याउने बिषयमा छलफल भैरहेको डा. पौडेलले बताए । हरिचौर प्राथमिक स्वास्थय केन्द्रलाई स्तरोन्नती गरेर नगर अस्पताल सञ्चालनमा आएपछि पौडेल सहितका चिकित्सक र स्वास्थ्यकर्मीले सेवा दिईरहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->