बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’

‘पशु बिरामी भएमा तत्काल खबर गर्नुहोस्’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ८ २०८०, सोमबार

बागलुङ/पछिल्लो समय पशुमा देखिएको संक्रमक रोग नियन्त्रणकालागि पशु चिकित्सक र पशु प्राविधिकहरुले सक्रियता देखाएका छन् ।
भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रका प्रमुख डा. ऋषिराम सापकोटाको नेतृत्वमा सबै पालिकाको पशु सेवा शाखालाई सक्रिय बनाइएको हो । आफ्नो पालिका भित्रका पशुमा रोग देखिएमा तत्काल उपचार गराउने, किसानलाई क्षतिहुनबाट बचाउने काममा लाग्न सापकोटाले निर्देशन समेत दिएको बताए ।

संक्रामक रोगको रुपमा लम्पी स्किन देखिएको छ । यो रोगबाट बागलुङमा धेरै पशुको मृत्यु समेत भैसकेको बताइएको छ । सापकोटाका अनुसार झण्डै ४ सय पशु संक्रमित छन् भने १४ पशुको मृत्यु भैसकेको छ । शरीरमा गिर्खा आउने र सोही गिर्खा पाकेर रगत र पिप बग्ने कारणले पशुको मृत्यु भएको हो । मृत्यु हुने अधिकांस पशुमा उचच् ज्वरो देखिएको सापकोटाले जानकारी दिए ।

१ सय ४ डिग्री भन्दा बढी ज्वरो आएमा तत्काल उपचार सेवा बढाउन उनले प्राविधिकलाई आग्रह गरेका हुन् । होलिस्टाइन र अन्य बिकासे गाइ पालिएको फर्ममा यो संक्रमण बढी देखिएको हो । तराइका जिल्लामा देखिएको संक्रमण क्रमश बागलुङमा पनि आएको हो । पहिलो पटक अफ्रिकाको जाम्बियामा देखिएको रोग दुइ बर्ष अघि भारत र नेपालमा देखिएको थियो । अहिले भने यो रोग संक्रमक भएर फैलिएको सापकोटाले जानकारी गराए ।

जिल्लाका सबै पालिका स्थित पशुसेवा शाखाका प्राविधिकलाइ उपचारमा सक्रिय बन्न र प्राविधिक समस्या भए भेटेनरी अस्पतालमा सम्पर्क गर्न भनिएको हो । यो रोग संक्रमण भएको गाई भैसीमा ५ दिन सम्म लक्षण नदेखिने, देखिएका पशुलाई टोकेका किर्ना, लामखुट्टे र भुसुनाबाट अर्काे पशुमा सर्ने गरेको भेटिएको हो । त्यसकालागि गोठ सफाइ गर्ने, संक्रमण भएको पशुलाई अरुभन्दा पर राख्ने र उपचार सेवा दिने गर्नुपर्ने उनले बताए ।

यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या देखिएको छ । कतिपय गाईले ८० प्रतिशत सम्म दूध घटाएको र बढाउन नसकिने अबस्था भएको सापकोटाको भनाइ थियो । यो रोगको निश्चित औषधि नभएकोले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताए । ज्वरोकोलागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भैरहेको हो ।

अन्तरक्रियामा बडिगाड गाउँपालिका पशु शाखाका बसन्त गौतम, गलकोटका शिव आचार्य, ताराखोलाका चिन्तामणी शर्मा, ढोरपाटनकी टेकमाया खड्का, तमानकी यमकुमारी घर्ती, काठेखोलाकी तुला गलामी निसीका कृष्ण चन्द र जैमिनीका कृष्ण ढकालले नियमित किसानको फर्म र घरघरमा खटिएर उपचार सेवा दिएको बताए । कतिपय पालिकाले खोपकालागि रकम समेत संकलन गरेको तर चाहेजती खोप नपाएको गुनासो समेत गरेका थिए । नेपालमै अहिले यो रोग बिरुद्धको खोप अभाव भएकोले औषधि उपचारमै जोड दिनुपर्ने सापकोटाले जानकारी दिए ।

अन्तरक्रियामा जिल्ला समन्वय समितिका प्रमुख अमर थापाले किसानकोलागि पशु र जमिननै सबै सम्पत्ति भएकोले प्राविधिकले यो समयमा उपचारमा सहयोग गर्नुपर्ने बताए । उनले आम नागरिकलाई यो रोगबारे जानकारी समेत दिनुपर्ने धारणा राखेका थिए ।

सहायक प्रजिअ चित्राङगत बरालले किसानको समस्या समाधानमा प्रशासन पनि गम्भिर भएको बताए । उनले पशु आयात तत्काल रोक्नुपर्ने र प्रशासनले सोही अनुसार सहयोग गरेको पनि बताएका थिए । यो रोग प्राय गर्मी मौषम र भूगोलमा बढी हुने गरेको हो । कार्यक्रम पशु प्राविधिक केशव पौडेलको संचालनमा सम्पन्न भएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->