बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

जैमिनीका एक बर्ष : असारे विकासको अन्त्य, कार्यसम्पादनमा पहिलो

जैमिनीका एक बर्ष : असारे विकासको अन्त्य, कार्यसम्पादनमा पहिलो


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८०, बुधबार

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक बर्षमा असारे विकासको अन्त्यदेखि कार्यसम्पादन मुल्यांकनमा जिल्लाकै पहिलो नगरपालिका बन्नेलगायत २७ बुँदे उपलव्धी सार्वजनिक गरेको छ । वित्तीय सुशासन जोखिम मूल्यांकनतर्फ बागलुङका दश स्थानीय तहमा पहिलो भएको नगरपालिका स्थानीय तह संस्थागत क्षमता स्व–मूल्यांकनतर्फ गण्डकी प्रदेशमा दोस्रो बनेको थियो ।

जैमिनीले चालु आर्थिक वर्षका योजनाको काम कार्यतालिका निर्माण गरेर चैत मसान्तमै ९५ प्रतिशत सकेको थियो । समयमा काम सकिँदा असार मसान्तमा मात्रै खर्च गर्ने र उपलव्धी सुन्य हुने परिपाटीको अन्त्य भएको नगर प्रमुख नरबहादुर पुनले बताए । नगरपालिकाले बितेको एक बर्षमा सडक, कृषि, शिक्षा, पशुपालन, पर्यटन र स्वास्थ्यका क्षेत्रमा धेरै कामको सुरुवात भएको जनाएको छ ।

आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट बनाउनु पूर्व बिज्ञ सम्मेलन गरेको नगरपालिकाले विज्ञ सम्मेलनको निष्कर्ष कार्यान्वयनको सुरुवात हुनु उपलव्धी भनेको छ । ‘हामीले विज्ञ सम्मेलन गरेर बिषेशतः स्वास्थ्य, शिक्षा, कृषि र पर्यटनको क्षेत्रमा परिवर्तन गर्न खोजिरहेका छौं,’ पुनले भने ‘स्वास्थ्यको क्षेत्रमा हामीले बिज्ञ सम्मेलनको निष्कर्ष अनुसारको कामको कार्यान्वयन थालिसकेका छौं,आगामी बर्ष बजेट बिनियोजन भएपछि उपलव्धी देखिन थाल्छ ।’ विज्ञ सम्मेलनले १३ बुँदे घोषणा पत्र जारी गरेको थियो । सोही अनुसार काम कारवाही अघि बढेको पुनको दाबी छ ।

सोमबार एक समारोहमा नगरपालिकाका एकबर्षे मुख्य उपलव्धी सार्वजनिक गर्दै नगर उपप्रमुख हरिहर शर्माले हेलिप्याड निर्माणका बिषयमा आलोचना भैरहेको भन्दै दुर्घटनाका घाईते, आकस्मिक बिरामी र गर्भवतीको उद्धारका लागि राष्ट्रिय कार्यक्रम अनुसार नै हेलिप्याड निर्माण गरिएको बताए । जैमिनीले पालिका मुकाम कुश्मीशेरा, वडा नं. ८ छिस्ती र वडा नं. ३ दमेकमा पक्कि हेलिप्याड निर्माण गरेको छ ।
अहिलेसम्म सडकको ट्रयाकसमेत नखुलेको खोलाखानी गाउँमा सडक पुगेको, जैमिनीधाम पुग्ने सडक कालोपत्रे र ढलानको काम, कुश्मीशेरा बजार लगायत वडाका विभिन्न सडकको स्तरोन्नतिलाई नगरले चालु बर्षको उपलव्धी भनेको छ ।

सिस्नोको पाउडर, बाँकोको गुन्द्रुक, आलु चिप्स बनाउने तालिम र महिला स्वास्थ्य स्वयंसेविकालाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्थालाई नगरले उपलव्धी भनेको छ । नगरमा लिड स्कुलको प्रारम्भिक सुरुवातले नगरको शिक्षा क्षेत्रमा सम्भावनाको उदय भएको शर्माले बताए । खानीको खोजी र अध्ययन, बाँदर आतंक नियन्त्रणका लागि बाँदर बगैंचाको सम्भाव्यता अध्ययन र कृषि मजदुर परिचालनमार्फत बाँझो जग्गाको उपयोग, र व्यवसायीक कृषकहरुलाई अनुदान र प्रोत्साहनमार्फत मासु र दूधमा आत्मनिर्भर बन्दै गरेको उनले सुनाए ।

स्थानीय पाठ्यक्रम निर्माण, शिक्षकको दरबन्दी मिलानको कामले शिक्षा क्षेत्रमा महत्वपूर्ण अर्थ राखेको उनको बुझाई छ । बैदेशिक रोजगारीलाई सुरक्षित बनाउन सामी परियोजनामार्फत् भैरहेका कामको सूचीलाई पनि नगरको उपलब्धीमा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->