शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कांग्रेस वडाध्यक्षहरुको ‘कटुता’ सडकमा

कांग्रेस वडाध्यक्षहरुको ‘कटुता’ सडकमा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १० २०८०, बुधबार

पोखरा/ वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द् मर्सानीले दलका नेता तथा वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्घले आफ्नो वडामा हस्तक्षेप गरेको आरोप लगाएपछि विवाद सडकमा पोखिएको हो ।

पोखरा महानगरपालिका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको एक वर्ष पुग्नै लागेको छ । गएको वर्ष वैशाख ३० गते सम्पन्न निर्वाचनबाट चुनिएका मेयर धनराज आचार्यसहितका जनप्रतिनिधिहरुले जेठ १२ गते पदभार ग्रहण गरेका थिए । चुनावले कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनबाट साझा उम्मेदवार बनेका नेकपा (एकीकृत समाजवादी) का धनराज आचार्यलाई १६औं मेयर बनायो । एमालेकी मञ्जुदेवी गुरुङलाई जनताले पुनः उपमेयरमा अनुमोदित गरे । उपमेयरमा कांग्रेसकी उम्मेदवार कोपिला राना पराजित भए पनि चुनावले कांग्रेसलाई यहाँका वडाहरुमा भने पुनःस्थापित गरायो । २०७४ सालमा ३३ वडामध्ये ११ वडामा विजय हाँसिल गरेको कांग्रेसले २३ वटा वडामा बाजी मा¥यो । अघिल्लो पटक २२ वडा जितेको नगर कार्यसमितिमा ९ वडामा समेटियो ।

दुई तिहाइ वडा जितेको कांग्रेसले जेठको अन्तिमतिर वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्घलाई दलको नेता र २७ का वडाध्यक्ष पूर्णबहादुर गुरुङलाई उपनेताको जिम्मेवारी दियो । पूर्णबहादुर दोस्रो पटक जनताबाट अनुमोदित भएका थिए भने तरुण दलको राजनीतिबाट आएका दिवसमान पहिलोपटक वडाध्यक्ष बनेका थिए । नेपाली कांग्रेस विभाजन हुँदा नै प्रजातान्त्रिक कांग्रेसमा सक्रिय दिवसमानलाई दलको नेता बनाउन पोखरा नगर समितिका सभापति सुरेन्द्रमान विजुक्छेको विशेष भूमिका थियो ।

दिवसमान दलको नेता बनेकोमा कांग्रेसका अन्य वडाध्यक्षहरु खुसी थिएनन् । दलको नेताको रुपमा दिवसमान ‘हाबी’ भएको उनीहरुको गुनासो रहँदै आएको थियो । कतिसम्म भने, अन्य वडाध्यक्षहरु दलको नेताको रुपमा दिवसले दिएको निर्देशन टेर्दैनथे । दिवसमान ‘एकलकाटे’ भएको आरोप लगाउँथे । अहिले भने यो आरोप सडकमा पोखिएको छ । आमा समूहको भवन निर्माणको विषयमा दलका नेता दिवसमानले हस्तक्षेप गरेको भन्दै वडा नम्बर ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले सार्वजनिक रुपमै असन्तुष्टि जनाएपछि उनीहरुबीचको विवाद सतहमा आएको हो ।

वडा नम्बर ९ ले नागढुंगा आमा समूहको भवन निर्माणलाई वार्षिक कार्यक्रममै समावेश गरेको थियो । तर, भवनको लागि रकम विनियोजन भएन । बजेट नआएपछि आमा समूहले महानगर र नेपाली कांग्रेस दलका नेता दिवसमानलाई गुहारे । यही वैशाखमा पोखरा महानगरले अबण्डा बजेटमार्फत् वडा नम्बर ९ को नागढुंगामा आमा समूहलाई भवन निर्माणको लागि १० लाख रुपैयाँ विनियोजन ग¥यो । महानगरले नै प्राविधि पठाएर गएको वैशाख २५ गते भवनको लागत अनुमान ग¥यो । यता, वडाध्यक्ष दीपेन्द्रले भने ५० लाखसम्मको योजनाको लागत अनुमानको अधिकार वडालाई नै हुँदा किन महानगरबाट सोझै काम थालियो भन्ने प्रश्न गरे । कतिसम्म भने,उनले महानगरका योजना शाखा प्रमुख कृष्णप्रसाद तिवारीलाई हकारे ।

तिवारीका अनुसार अपशब्द नै बोले । दीपेन्द्रले योजना शाखामा कार्यरत अधिकृत कमला गुरुङलाई धम्क्याउन बाँकी राखेनन् । वडाध्यक्षले गालीगलौज र अपशब्द बोलेपछि कर्मचारीहरु रुष्ट भए । उनीहरुले मंगलबार मेयर धनराज आचार्यलाई ज्ञापनपत्र बुझाउँदै दीपेन्द्रको व्यवहारलाई ‘सनक’को संज्ञा दिए । उनीहरुले कर्मचारीलाई काम गर्ने वातावरण मिलाइदिन महानगरका प्रमुखसँग माग पनि राखे । योजना शाखा प्रमुखसहित ८ जना कर्मचारीले बुझाएको ज्ञापनपत्रमा भनिएको छ,‘स्थानीय तहमा निरन्तर खटिएर सेवा प्रवाह गर्ने इमान्दार,बफादर र कर्तव्यनिष्ठ कर्मचारीलाई कुनै एक जनप्रतिनिधिको सनकमा हुने यस्तो अनैतिक कार्यप्रति गम्भीर खेद प्रकट गर्दछ । कार्य कक्षमा काम गरिरहेको अवस्थामा आएर धम्कीपूर्ण शैलीमा गालीगलौज र अपशब्द बोलेर मानमर्दन गरेको हुँदा हामीलाई कार्यालयमा सौहार्दपूर्ण वातावरणमा काम गर्ने वातावरण नरहेको व्यहोरा जानकारी गराउँदछौं ।’

योजना शाखा प्रमुखसहितका कर्मचारीहरुले नेपाली कांग्रेस दलका नेताको आग्रहमा काम भएको बताएपछि दीपेन्द्रले आफ्नै दलका नेता दिवसमानमाथि ‘फायर’ खोलेका छन् । वडाको अधिकार क्षेत्र मिचेर आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।

‘मेरो वडाको काम गर्ने अधिकार मैसँग छ, म २ नम्बरको वडाध्यक्ष र दलको नेता चिन्दिन,मेरो काममा हस्तक्षेप भयो, यसो हुनुहुँदैन भनेको हो,’उनले टेलिफोनमा ढोरपाटन दैनिकसँग भने,‘मलाई वडा नम्बर २ का वडाध्यक्षले तलब खुवाउने हैन, म मेरो काम गर्छु, दुई गिलास रक्सीमा बिक्ने मान्छे हैन ।’

उता, महानगरमा नेपाली कांग्रेस दलका नेता तथा वडा नम्बर २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्घले महानगरका कर्मचारीहरुमाथि भएको दुव्र्यवहारप्रति दुःख व्यक्त गरेका छन् । उनले अबण्डा बजेटमार्फत् आमा समूहको भवनका लागि रकम विनियोजनको लागि सहजीकरण गरेको स्वीकार्दै महानगरबाटै लगत अनुमान हुनु गलत नभएको बताएका छन् ।

‘आमा समूहबाट रकम विनियोजनको लागि अनुरोध आयो,मैले सहजीकरण गरेकै हो, महानगरबाट महानगरभित्रको वडामा बजेट जाँदा आपत्ति मान्नुपर्ने के छ र ?,’उनले भने,‘कर्मचारीहरुमाथि दुव्र्यवहार हुनु राम्रो हैन ।’ उनले यो विषयलाई गम्भीरतासाथ लिएको र दलको बैठकमा वडा नम्बर ९ का अध्यक्षको अभिव्यक्तिबारे गम्भीर समीक्षा गरिने बताए ।

नेपाली कांग्रेस स्रोतका अनुसार वडाध्यक्ष मर्सानीबाट कांग्रेस वडाध्यक्षबीचको जुँगाको लडाइँसँग यो विवादको साइनो जोडिएको छ । ‘कर्मचारीमाथि दुव्र्यवहारलाई बिर्सने हो भने पनि यो घटनालाई सामान्य मान्न सकिँदैन । अहिले कांग्रेसका वडाध्यक्षहरु भुइँ न भाँडामा भएका छन्,उनीहरु एकले अर्कालाई स्वीकार्ने अवस्थामा छैनन्,’कांग्रेस स्रोतले भन्यो,‘समूह बनाएर कमाउने धन्दामा लागेको गाइँगुइँ पनि सुनिन थालेको छ, यो प्रवृत्ति राम्रो भएन ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->