
पोखरा/ कास्कीको मादी गाउँपालिकाकी माया विक यतिबेला पोखरामा छन् । पोखरा ५ जिरोकिलो मिटरमा रहेकी छोरी निरा विककहाँ जान उनी पोखरा आएकी हुन् । एक वर्षअघि मानसिक रुपमा तनाब बोक्न बाध्य माया यतिबेला पुनः तनावमा छन् । कारण हुन्– छोरी । जेठी सन्तानको रुपमा रहेकी उनकी छोरी मिरा २०७८ असोजमा वैदेशिक रोजगारका लागि दुवई उडिन् ।
आफ्नो परिवारको उज्ज्वल भविष्यको सपनाका पोको बोक्दै उनी दुवईतर्फ लागिन् । नारायणघाटका मनोज श्रेष्ठले उनलाई विदेश पठाए । निरासँगै उनका कान्छा भाई सुवास पनि भविष्यको सपना बोकेर कलिलै उमेरमा विदेशिए । दुवैजना दुवईका लागि उडे । दुवई पुगेपछि दिदीभाईको विचल्ली भयो । छोरी र छोरालाई विदेश पठाउँदा ऋण काढेर बसेकी माया भने दुई सन्तान विदेश भएपछि कमाइ हाल्छन् भन्ने आशामा बसिरहिन् । दिन बित्दै जाँदा छोरासँग सम्पर्क भयो तर छोरीसँग हुन सकेन् । छोराले आमालाई भने, ‘आमा म इलीगल (अवैध) ठहरिएँ । मैले यहाँ काम पाइन् । ठगहरुले ठगेछन् ।’ छोरासँग सम्पर्क भएपनि छोरी निरासँग भने सम्पर्क भएन । तीन महिनासम्म पनि सम्पर्क नभएपछि जनप्रतिनिधिमार्फत खोजी सुरु भयो ।
खोजी गर्दै जाँदा दुवईबाट ओमान गएको कुरा खुल्यो । तर, दलालले उनलाई पाँच लाखमा बेचेका रहेछन् । ओमानमा उनलाई जसले किन्यो,उसले निकै दुःख दिने गरेको रहेछ । यतिमात्र होइन् निरालाई काममा दलाउने तर खाना समयमा नदिने दिनरात नभनी काम गराउने गरियो आजित भएर उनी भागिन् । दुई ठाउँमा काम गरिन् । दुवै ठाउँमा उनले पाउनु कष्ट पाइन् । दूतावाससम्म खबर पु¥याउँदा उनलाई लगेको कम्पनीमा फर्काइयो । त्यहाँ उनले कुटाइ खानु प¥यो । कुटाइबाट उनको अहिले एक हातको काँधमा समस्या छ । छोरी बेचिएको कुराले यता माया बेहोस भइन् । छोरा र छोरी दुवै फसेको कुराले आमा छटपटिन थालिन् । छोराछोरीलाई पठाउँदाको ऋण हुँदाहुँदै पुनः उनीहरुलाई नेपाल ल्याउनका लागि हारगुहार गरिन् । पहिला विदेश पठाउँदा तनाव, पछि झिकाउँदा र अहिले पाल्दा । यतिबेला छोरीको अवस्था देखेर उनी फेरि दुःखी भएकी छन् ।
‘मलाई सुगर, प्रेसर छ । छोराछोरीले तनाव हुने कुरा भन्दैनन् । तर, तनाव धेरै छ । मर्न लागेको मान्छे म बाचेकी हुँ । पहिला विदेश गएपछि समस्या आयो अहिले त्यही छोरी समस्यामा छे,’ उनले भनिन्,‘ विदेशबाट निकालेर पोखरामा डेरामा राखेँ । अहिले डेरामा चाबी लगाइदिएको छ । ढोका लगाएको कुरा मलाई भनेका छैनन् । मैले अर्कै मान्छेबाट थाहा पाएर यहाँ आएको हुँ ।’
डेराको भाडा तिर्न नसक्दा घरधनीले ताल्चा लगाइदिएको हो । विगतलाई बिर्सन खोजीकी मायाको जिवनमा फेरि एक टक समस्या आइलागेको छ । ‘अहिले बहाल तिर्न (भाडा) तिर्न नसकेर कोठामा ताल्चा लगाइदिएको छ । छोरी पठाउँदा तीन लाख रुपैयाँ ऋण लाग्यो । अहिले फेरि बाल तिर्दा कति लाग्ने हो ? ती बाल्खा (तीन नाति– नातिना) फिस कति लाग्ने हो ? अब ती बाल्खाको पनि फिस तिर्नुपर्ने होला,’ उनले भनिन् । निराका श्रीमान् बेखबर छन् । पेशाले चालक रहेका निराका श्रीमान् अहिले कता छन् अत्तोपत्तो छैन् ।
निरालाई विदेशबाट उद्धार गरेर ल्याउन भूमिका खेलेकी सिर्जना गुरुङले नागरिकता र पासपोर्टको आधारमा उनी बेचिएको कुरा खुलेको बताइन् । उनले निरालाई दुवई हुँदै ओमानमा बेचेको सुनाइन् ।
‘दुवई लगेर ओमनमा बेचिएको रहेछ । पाँच लाखमा उनी बेचिएकी हुन्’ सिर्जनाले भनिन् । बुधबार नेस्टको आयोजनामा पोखरामा भएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रममा सहभागी भएकी आमाले आँसु झारिरहिन् ।
(तस्वीर : निराकी आमा र सिर्जना गुरुङ )





