बागलुङ/ खानेपानीको योजना बनेको तीन बर्षमै मुहान सुकेको छ । ‘एक घर एक धारा’ कार्यक्रमअन्र्तगत घर घरमै पानी झरेको केही बर्षमै बरेङ गाउँपालिकामा यो समस्या आएको हो ।
बरेङ गाउँपालिका–१ को धुल्लुबास्कोटको लिउँवामा ल्याएको खानेपानीको मुहान सुकेको हो । लिउवा खानेपानी आयोजनाको चित्रे सिस्नेरी मुहान सुकेपछि नियमित पानी आउन छाडेको हो । ‘मुहान एकाएक सुक्यो, अहिले दुई तीन दिन बिराएर मात्रै पानी आउने गरेको छ’ उपभोक्ता समितिका सदस्य नारायणदत्त पाध्याले भने, ‘मुहानै सुकेपछि गाउँमा खानेपानीको हाहाकार हुने भयो ।’
पानी नभएपछि खाने, भाँडाकुँडा धुने र नुहाउन सास्ती भएको उनले गुनासो गरे । एकाबिहानै खोल्साखोल्सीको पानी खोज्न हिंड्नुपरेको उनले बताए । फागुनदेखि पानीको बढी समस्या भएको उनको भनाई छ । ‘बर्षात्मा नजिकका मुलबाट पानी खान सकिने तर हिउँदमा बढी समस्या बल्झेको छ’ अर्का उपभोक्ता रोमबहादुर थापाले भने, ‘जथाभावी सडक खनिंदा कतिपय मुहान सुकेका हुन् ।’ लिउँवाका १ सय ४ घरमा धारा जडान भएर पानी खाइरहेको बेला पानी सुकेको हो ।
यहाँकै जिमिरेबासीले पानी संकलन गरेर लगेपछि बाँकी रहेको लिउँवामा ल्याइएको थियो । अहिले जिमिरेमा लगेको ट्यांङकी भरिन पनि मुस्किल भएको हो । नेपाल स्वास्थ्यका लागि पानी (नेवा)ले बनाइदिएको आयोजना सुक्न थालेपछि उपभोक्ताले फेरी लिफ्ट आयोजना बनाइदिन आग्रह गरेका छन् ।
‘तीनै ट्यांकी र धाराको संरचना प्रयोग गर्ने गरी लिफ्ट आयोजना पनि माग्नुभएको छ’ नेवाका कार्यक्रम अधिकृत महेन्द्र कोइरालाले भने, ‘लिफ्ट आयोजना महंगो र झण्झटिलो हुने भएकोले सकेसम्म अरु बिकल्प खोज्न भनेका छौं ।’ नभएमा लिफ्ट योजना बनाउने लक्ष्य रहेको उनले सुनाए ।
यहाँको गैराबारीको मुलमा गएर ल्याउने पानीसमेत आजकल घटेको छ । नाम्दुकदेखि लिउँवा आउने सडक बिस्तारपछि तल्लो खण्डको मुहान सुकेको थापाले बताए । ‘सडक खनेपछि त तल्लो मुहान पनि कता गयो कता ?’ थापाले भने, ‘अब खोलाखोल्सीको पानी ल्याउनुको बिकल्प छैन ।’ पानी अभावमा गाइबस्तु तल्लो खण्डमा पाल्नुपर्ने बाध्यता भएको उनले बताए ।
गाउँमा हुने भेला र कार्यक्रममा बाल्टीमा ल्याएको पानीले हात धुन लगाउनुपरेको भन्दै पानीले बारीमा तरकारी लगाउन पनि समस्या पर्ने बताए । यहाँको ४० घरमा गत बर्ष संचालित मुख्यमन्त्री कृषि आधुनिकीकरण परियोजनाको उत्पादन क्षमता पनि घटेको छ । ‘पानी अभावमा उत्पादन कम हुन्छ, महंगो पर्छ’ पाध्याले भने, ‘सस्तो खान तराइको तरकारी आउन थाल्यो ।’ खानेपानीसँगै सिंचाइको अभाव खेप्नुपरेको उनले बताए । यहाँ घर घरमा प्लाष्टिकका टनेल छन् । ती टनेलमा बेमौषमी तरकारी खेती थालिएको थियो । पानीको अभावमा चाहेजती उत्पादन लिन नसकिएको स्थानीय बिष्णुकुमारी शर्माले बताइन् ।
पानी सुक्नुमा सडक निर्माणको केही हात भएपनि मुख्य कारण पत्ता लगाउन नसकिएको गाउँपालिका अध्यक्ष कृष्णप्रसाद पौडेलले बताए । ‘हामीले पानी सुक्ने कारण पत्ता लगाएर मात्र पनि भएन, गाउँमा अर्को योजना ल्याउने काम गर्नुपर्छ’ उनले भने, ‘लिफ्ट योजना ल्याएर फेरी उत्पादन बढाउनुपर्छ ।’ पानी प¥र्याप्त भए तरकारी बेचेर पनि स्थानीय धनी बन्न सक्ने उनले बताए ।





