बागलुङ/ कक्षा ६ मा अध्ययन गर्ने समिक्षा गैरेले शुक्रबार पहिलो पटक मतदानको अनुभव गरिन् । उमेद्वारको नाम लेखिएको मतपत्रमा संकेत गरेपछि उनको दाहिने हातमा निसो मसी लगाईयो ।
विद्यालय प्राङ्गणमा आयोजना गरिएको मतदान कार्यक्रममा मतदान कर्मचारी, सुरक्षाकर्मी लगायतका आवश्यक जनशक्तिको व्यवस्थापन विद्यालयमा अध्यापनरत शिक्षक–शिक्षिका र विद्यार्थीहरुबाटै मिलाईएको थियो । शिक्षक-शिक्षिका कर्मचारीको रुपमा खटिएका थिए भने सुरक्षाकर्मीको पोशाकमा विद्यार्थी मतपेटिका सुरक्षाका लागि खटिएका थिए ।
न्यु एभरेष्ट एकेडेमी बागलुङको परिसरमा शुक्रबार दिउँसो पुग्दा कुनै आम निर्वाचन झल्किने परिदृष्य देखिन्थ्यो । विद्यालयले मतदान, मताधिकार र नेतृत्व छनोटका बिषयमा विद्यार्थीलाई व्यवहारिक ज्ञान दिन विद्यालय क्याप्टेन र सधनात्मक नेतृत्व चयनका लागि मतदान नै गराएको थियो । हरेक सदनमा परेका उमेद्वारहरुमा दावी बिरोध, छानविन, नामावली प्रकाशन लगायतका प्रकृया पुरा गरेर मतदान गराईएको थियो ।
‘नेतृत्व छनोटमा वालबालिकालाई सचेत बनाईरहनु पर्छ, उत्कृष्ट नेतृत्व चयनका लागि सानैबाट बालबालिकाले प्रयास गरुन भनेर मतदान गराईएको हो’ बिद्यालयका प्रिन्सिपल कृष्ण अधिकारीले भने, ‘निर्वाचन र मतदानबारे विद्यार्थीले व्यवहारिक ज्ञान पाएका छन् ।’
विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप गराउँदा विद्यालयले नयाँ नयाँ अभ्यास गराउने गरेको विद्यालयका शिक्षक माधव शर्मा बताउँछन् । निर्वाचन प्रकृयामा विद्यालयले कक्षा ६ देखि १० सम्म अध्ययनरत विद्यार्थीहरुलाई सहभागि गराईएको थियो ।
निर्वाचनबाट विद्यालय क्याप्टेनमा सौरव घर्ति चयन भए । उप–क्याप्टेन भने ओलिप खनाल भए । चारवटा सदनमा भने केही निर्विरोध निर्वाचित भएका थिए भने केही सदन र कक्षा क्याप्टेनको लागि मतदान भएको थियो ।





