शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

राप्रपाको कामना : यो अन्तिम गणतन्त्र दिवस होस्

राप्रपाको कामना : यो अन्तिम गणतन्त्र दिवस होस्


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १६ २०८०, मंगलबार

पोखरा/ राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले १६ औं गणतन्त्र दिवस नै अन्तिम दिवस बनोस् भन्ने कामना गर्दै आफ्नो स्थापना दिवस मनाएको छ । आजभन्दा ३४ वर्ष अगाडि २०४७ साल जेठ १५ गते नेपालमा एकैदिन दुईवटा राप्रपा स्थापना भएका थिए ।

स्थापना दिवसको अवसरमा आयोजित शुभकामना तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा गण्डकी प्रदेशका अध्यक्ष एवम् गण्डकीका निवर्तमान शिक्षा, स्वास्थ्य सामाजिकमन्त्री पञ्चराम गुरुङले गणतन्त्र दलालहरुका लागि मागी खाने भाँडो भएको जिकिर गरे ।

‘यो गणतन्त्र दलाल भ्रष्टहरुका लागि मागी खाने भाँडो भएको छ । काँग्रेस, एमाले र माओवादी मिलेर देश बेचिसके । देशको अस्मिता जोगाउने जिम्मेवारी अब हाम्रो काँधमा छ,’ उनले भने । प्रदेश मन्त्रीबाट हटेको एक महिना नहुँदै उनले प्रदेश संरचनाको औचित्य माथि प्रश्न उठाए ।

गण्डकी प्रदेश सांसद विन्दु पहाडीले अहिले देशमा जात र धर्मका नाममा अहिले देश टुक्र्याउने खेल भएको जिकिर गरिन् । केन्द्रीय सदस्य डा.महेन्द्रबहादुर कार्कीले अझ आक्रामक हुँदै गणतन्त्रवादीहरुलाई राष्ट्रबाट लखेट्नुपर्ने धारणा राखे ।

केन्द्रिय सदस्य जयलाल पुनले कांगे्रस, एमाले र माओवादी विदेशको एजेण्ट भएको उल्लेख जिकिर गरे ।

महिलाहरुको प्रतिनिधित्व गर्दै सुशिला केसी अधिकारीले देशमा राजा किन भन्ने विषयलाई युवाहरु माझ लैजानुपर्ने बताइन् ।
राप्रपा पोखरा महानगरपालिकाका अध्यक्ष महेश्वर आचार्यले २०८४ को आम निर्वाचनमा दुई तिहाइ ल्याएर राप्रपाको एकल सरकार बनाउने गरी अगाडि बढिने घोषणा गरे ।

राप्रपा महिला संघकी केन्द्रिय महासचिव रञ्जु सेनले हिजोको गल्तीलाई सच्याउँदै आगामी योजना तय गर्नुपर्ने बताइन् । राप्रपा भूपूसैनिक संघका अध्यक्ष गणेशबहादुर पौडेल क्षेत्रीले गणतन्त्रको नाममा लुटपाट मच्याउने हरुलाई धपाउनुपर्ने बेला आएको बताए । राप्रपा कास्कीका अध्यक्ष नारायण गुरुङले युवाहरुलाई पार्टी भित्र आर्कषित गराई परिमार्जित भएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले संचालन गरेको कार्यक्रममा राप्रपा युवा संघ कास्कीका अध्यक्ष सोपन भूजेल र राप्रपा कास्कीका उपाध्यक्ष शालिकराम घिमिरेलगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->