बागलुङ/ अर्थमन्त्री डाक्टर प्रकाशशरण महतले संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम प्रस्तुत गर्दा गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने उल्लेख गरे । उनको घोषणा सुन्दा सभामुख देवराज घिमिरे हाँसे, मन्त्री रोष्टममै हाँसे र केही सांसदहरुको मुहारमा अनौठो चमक देखियो ।
नेपालमा गाँजा खेतीलाई वैधानिकता दिनुपर्ने विषयमा दुई खाले मत छन् । बैधानिक मान्ने र नमान्ने मतका बीचमा औषधिजन्य प्रयोगका लागि खेती गर्न सरकारले अध्ययन गर्ने घोषणा गरेको छ । यसको प्रत्यक्ष प्रभाव गण्डकी प्रदेशमा पर्ने छ । त्यसको लाभ लिने बागलुङ हुनेछ ।
गाँजाको अध्ययन हुन सक्यो भने बागलुङको निसी, तमान, ताराखोला र ढोरपाटनका किसानले भाँगो उत्पादनका लागि लगाईका गाँजा जस्तै रुखहरु प्रहरी पुगेर जवरजस्ती फँडानी गर्नेछैन् । किसानले भाँगो उत्पादन बढाउन सक्छन् भने अध्ययन हुँदै गरेको गाँजाबाट पनि किसान लाभान्वित हुने छन् ।
गण्डकी प्रदेशभर सबैभन्दा धेरै भाँगो उत्पादन हुने जिल्ला बागलुङ हो । बागलुङको पश्चिम क्षेत्रका अधिकांश स्थानीय तहमा भाँगो फल्छ । भाँगो लगाएका किसानले फुल खेल्न थालेपछि मात्रै छुट्टाउन सक्छन् भाँगो हो कि गाँजा भनेर । गाँजा फल्दैन् तर भाँगो फल्छ ।
‘हाम्रो भूगोलका लागि यो असाध्यै राम्रो घोषणा सावित हुने छ, भाँगो र गाँजाको सदुपयोग र दुरुपयोग कसरी हुन्छ भन्ने हो,’ तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले भने ‘हाम्रो पालिकाको जमिन उम्रिने फल्ने र आम्दानी दिने बिषय बजेटमा समावेश हुनु सुखद हो ।’ उनले अध्ययन मात्रै होईन औषधिजन्य गुण भएको गाँजाको व्यावसायिक उत्पादन र निर्यात हुनसके जिल्लाका अधिकांश स्थानीय तहका किसान धनी हुने बताए ।
भाँगो नेपालमा मात्रै होईन खाडी मुलुक र ल्याटिन अमेरिकन मुलुकबाहेक प्रतिबन्ध नरहेका युरोपियनलगायतका मुलुकमा निर्यात हुने गरेको बागलुङका व्यवसायी बताउँछन् । वैधानिक बाटो नहुँदा यसको उत्पादन र निकासीको तथ्यांक भने छैन् । बागलुङका किसानले पाखोबारी बाँझो नराख्नका लागि भाँगोको खेती गर्छन् । भाँगो सँगै गाँजा उम्रिने भएकाले प्रतिबन्धित लागुऔषधको रुपमा रहेको जाँगाका रुखहरुलाई सरकारी संयन्त्रले नष्ट गर्ने गरेको छ ।





