बागलुङ/ लामो समयको प्रतिक्षा पछि काठेखोलाको पानी बागलुङ बजारमा वितरण गर्ने गरी सञ्चालनमा रहेको योजना ‘बागलुङ नगर सहलगानी (लिफ्टिङ खानेपानी) आयोजना परीक्षण सुरु भएको छ ।
आईतबारदेखि निर्माण व्यवासयीले काठेखोलाको पानी सुद्धिकरण स्थल र शुद्धीकरणस्थलबाट वितरण ट्याङ्कीसम्म पानी तानेर परीक्षण सुरु गरेको हो । आयोजना निर्माण गरिरहेको कम्पनी कन्काई जयमाता जेभीका इञ्जिनियर बिक्रम अधिकारीका अनुसार लिफ्टीङमाा आउनसक्ने समस्या, वितरण ट्याङ्कीसम्मको पाईपलाईन, पानी सुद्धिकरण स्थल र अन्य प्राबिधिक बिषयहरुको परीक्षण थालिएको छ ।
परीक्षण सफल भएमा आगामि एक महिना भित्र आयोजना हस्तान्त्रण गर्नेगरी निर्माण कम्पनीले तयारी गरिरहेको छ । आयोजनाको अनुगमन तथा सुपरीवेक्षण गरिरहेको संघीय खानेपानी आयोजना बेनी म्याग्दी र बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको प्रत्यक्ष निगरानीमा परीक्षण थालिएको अधिकारीले बताए ।
परियोजनाको बागलुङ नगरपालिका–३ काठेखोला किनारदेखि पानी प्रशोधन केन्द्र रहेको कैलामपोखरीसम्म र कैलामपोखरीदेखि वितरण ट्याङ्कीसम्म छुट्टाछुट्टै परीक्षण भैरहेको छ । आयोजनाको परीक्षण सुरु भएसँगै बागलुङ बजारमा शुद्ध खानेपानी आउने छिट्टै वितरण सुरु गर्ने तयारी रहेको संस्थाका अध्यक्ष हरीप्रसाद श्रेष्ठले बताए ।
लामो समयदेखि अलपत्र आयोजनाको काम अन्तिम चरणमा पुगेको हो । यसअघि निर्माण व्यवसायीले पुस मसान्तसम्म खानेपानी आयोजना सम्पन्न गर्ने लक्ष्य लिएपनि अझै आयोजना सम्पन्न हुन नसकेको हो । दुई वर्षमा आयोजना सक्नेगरी २०७५ असार ३१ गते कन्काई जयमाता जेबीले निर्माणको जिम्मा लिएको थियो । निर्माण कम्पनीको ढिलासुस्तीले तीन पटक म्याद थपेर योजना निर्माण सम्पन्नको चरणमा पुगेको हो । लिफ्ट आयोजनाले बागलुङ बजारमुनी रहेको काठेखोलाको पानी लिफ्टीङमार्फत रातमाटामा तानेर शुद्धिकरण गरेर वितरण गर्नेगरी काम भैरहेको हो ।
३२ करोड २५ लाख रुपैयाँको लागतमा कन्काई जयमाता जेबीले ठेक्का सम्झौता गरी निर्माण थालेको थियो । कोरोना महामारी, आयोजना निर्माणस्थलको भौगोलिक बनावट कमजोर भएका कारण निर्माणमा ढिलाई भएको निर्माण व्यवसायीले बताउँदै आएका थिए ।
पानी लिफ्टिङ गर्न मोटर सञ्चालनका लागि ६३० केभिएको ट्रान्सफरर्मर जडान भइसकेको छ । पानी जम्मा गर्नका लागि काठेखोला किनारमा पाँचवटा व्यवस्थित इनार तयार भएका छन् । पानी प्रशोधनका लागि ९ वटा र बितरणका लागि २ वटा ट्याङ्की तयार भएका छन्भने खोला किनारका इनारदेखि वितरण ट्याङ्कीसम्म पाइपलाइनको पनि परीक्षण भैरहेकोे इञ्जिनियर अधिकारीले बताए ।
अहिले बजारमा मागको आधा मात्रै पानी बागलुङको काठेखोला गाउँपालिकास्थित रेश र लेखानी खोलाबाट ल्याइदै आइएको छ । बागलुङ बजारमा खानेपानीको समस्या देखिदै आएपछि बागलुङ जिल्लाकै ठूलो लिफ्ट आयोजना निर्माण थालिएको थियो । डिभिजन खानेपानी कार्यालय, बागलुङ नगरपालिका र नगरखानेपानी उपभोक्ता संस्थाको सहलगानीमा लिफ्ट आयोजना निर्माण थालिएको थियो ।
सहलगानी आयोजना शुरुहुँदा नेपाल सरकारले सञ्चालन गरेको (लिफटिङ्ग खानेपानी) सहलागनी आयोजना नेपालकै सवै भन्दा ठूलो आयोजनाको रुपमा रहेको यो आयोजना सम्पन्न भए बागलुङ वासीलाई चोविसै धण्टा पानी उपलब्ध हुनसक्छ । आयोजनामा नेपाल सरकारको ७० प्रतिशत र उपभोक्तको ३० प्रतिशत लगानी भएको छ । आयोजनाले काठेखोलावाट प्रति सेकेण्ड ७० लिटर पानी तान्ने योजना छ ।
प्रतिसेकेण्ड ४० देखि ५० लिटरसम्म पानीको माग रहेको बागलुङ बजारका झण्डै चार हजार धारामा चौविसै घण्टा पानी खसाल्ने लक्ष्य रहेको संस्थाका प्रबन्धक हिमाल शर्माले बताए ।





