बागलुङ/ सर्बोच्च अदालतकी न्यायाधीश सपना प्रधान मल्लले कारागारमा बढेका कैदीबन्दीलाई सिर्जनशील काममा लगाउन सके राम्रो हुने बताएकी छिन् । सोमबार उच्च अदालत बार एसोसिएसन बागलुङमा कानून व्यवसायीसँग छलफल गर्दै कारागार बसेका सबैलाई सडाउनु पर्ने धारणा परिवर्तन गर्नुपर्ने बताइन् ।
उनले कारागारमा बसेका बन्दीलाइ सिर्जना र काममा लगाउने, पीडितलाइ राहत र क्षतिपूर्ति दिने जस्ता सुधार गर्दा न्यायक्षेत्रमा पनि सुधार आउने बताइन् । केही दिनदेखि मल्ल बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङ अदालतको अनुगमनमा छन् । आम नागरिकको आस्था र बिश्वास कायम हुने अदालत बनाउन कानून व्यवसायी र न्यायाधिसले पहल गर्नुपर्ने उनको धारणा थियो ।
उनले अदालतप्रति जनआस्था बिग्रन थालेकोले अब कानून व्यवसायी र अदालत मिलेर सुधार गर्नुपर्ने बताइन् । न्यायालयलाई आस्थाको धरोहर बनाइराख्न सबैको सकारात्मक सोच र काम हुनुपर्ने उनको भनाइ छ । सर्वोच्च अदालतबाट स्पष्ट दिशा निर्देश नगर्दा देशभरको न्याय र मुद्दामा पनि असर परेको बताइन् ।
कतिपय मुद्दामा कानून व्यवसायीले मागदावी स्पष्ट नगर्दा फैसला पनि स्पष्ट आउन नसकेको भन्दै न्याय प्रणालीमा दोष दिने सोच बदलेर विवेकपूर्ण काम गर्नुपर्ने बताइन् । न्यायालय प्रभावमा परेको हो की भन्ने बिषय बेला बेला उठ्ने भन्दै सबै न्यायाधीश त्यस्तो नभएको पनि उनले स्पष्ट पारिन् ।
‘प्रभावमा परेर फैसला गर्ने पनि हैन, संख्या बढाएर मुद्दा छिने भन्ने पनि हैन,’ मल्लले भनिन्, ‘फैसला भएका मुद्दामा गुणस्तरीयता देखियो कि देखिएन, जनताले न्याय पाएकी पाएनन् हेर्नुपर्छ ।’ उनले सर्बोच्चमा साताअघि नै पेशी तोकेर जिल्लाबाट आउने पक्षलाई सहज अबस्था ल्याउन पहल गर्ने समेत बताइन् ।
वरिष्ठ अधिवक्ताहरु पद्मनाथ शर्मा, कृष्णप्रसाद निउरे, काजी गाउँले र हरिप्रसाद श्रेष्ठले सर्बोच्चबाटै न्याय सुधार्ने पहल गर्नुपर्ने सुझाएका थिए । कार्यक्रममा उच्च अदालत बार एसोसिएसन बागलुङका अध्यक्ष अखिलनाथ शर्माले ढिलो न्याय दिनु न्याय नदिनु जस्तै भएकोले सर्वोच्चसहित देशभरका अदालतका मुद्दा घटाउन माग गरेका थिए ।





