बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

इमेज सहकारीका पीडित प्रहरीमा

इमेज सहकारीका पीडित प्रहरीमा

१ अर्ब ४५ करोड बढी रकम हिनामिना भएको ठहर ।


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८०, बुधबार

बागलुङ/ इमेज बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ताहरुले लाखौं रकम ठगिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।
मंगलबार प्रहरीमा पुगेर पीडितहरुले आफूसँग भएका कागजात र रकमको जानकारी समेत गराएर ठगी गर्नेलाई कारवाही माग गरेका छन् । गत वैशाख ६ गतेको संचालक समितिको बैठकको निर्णय भन्दै तरलता अभाव देखाएर सूचना टाँस गर्दै कार्यालय बन्द गरेपछि सहकारीको बेथिति छताछुल्ल भएको थियो ।

त्यसपछि पटक–पटक सहकारी अभियन्ताले बैठक बसेर इमेजको रकम सुरक्षित गर्ने र बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेका थिए । हाल सहकारीका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली फरार भएका छन् । उनी भागेपछि करोडौं रकम हिनामिना भएको ठहर भइसकेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराले गरेको प्रारम्भिक अध्ययनमा पनि नेपाली भागेपछि पोखरा, बागलुङ र बुर्तिवाङ समेतमा बचतकर्ताको बचतमा रहेको १ अर्ब ४५ करोड बढी रकम हिनामिना भएको ठहर गरेको थियो ।

रजिष्ट्रारको कार्यालयले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइवीमा नेपालीविरुद्ध मुद्दाको तयारी गरेको अधिकारीहरुले बताए । यसै क्रममा बचतकर्ताले आफ्नो खातामा रहेको रकम, सो को पास बुक र विभिन्न समयमा पाएको रसिद तथा प्रमाणपत्र लिएर मंगलवार जिल्ला प्रहरी कार्यालय पुगेका हुन् ।

बचतकर्ताको गुनासो सुन्दै प्रहरीका अधिकारीहरुले आफ्नो तर्फबाट गर्न सक्ने सहयोग गर्ने बताएका थिए । ‘यो विषय केन्द्रसम्मै पुगेको छ, हामीले पनि सक्ने सहयोग गर्छौंm’ प्रहरी नायव उपरीक्षक मदन केसीले भने, ‘सहकारीका संचालकको खोजी गरेर उनीहरुलाई समेत राखेर छलफल गर्दा सही निष्कर्ष निस्केला ।’ पीडितले भने तत्काल खोजी गरेर संस्थापक अध्यक्ष नेपालीसहित संचालक समितिका सदस्यलाई कारवाही गर्न माग गरेका छन् ।

साधारण नागरिकको रकम जम्मा गरेर अलपत्र पार्नेलाई कारवाही गर्नैपर्ने सहकारी अगुवा बाबुराज कार्कीले बताए । ‘जनताले खाइनआइ लाखौं रकम जम्मा गरेका छन्, रकम खाएर भाग्नेलाई राजनीतिक दल र राज्यका कुनैपनि निकायले संरक्षण गर्न मिल्दैन,’ कार्कीले भने, ‘भ्रष्टाचार र अनियमितता गर्ने जो कोही भएपनि जोगाउने काम नगरौं ।’ विवादितलाई राजनीतिक दलले पनि खोजी गरेर कारवाहीमा ल्याउनुपर्ने उनको माग थियो । सहकारीमा समस्या आएको कुरा जनताले बताउँदा पनि पार्टी पंक्तिले बेलैमा नसोचेको उनले टिप्प्णी गरे । नेपाली ढोरपाटन नगरप्रमुखमा दोश्रो पटक निर्वाचित थिए । एमालेको गण्डकी प्रदेश सदस्य समेत रहेका नेपालीलाई पार्टीले निलम्बन गरेको छ ।

इमेजमा कारोबार भएको अधिकांश रकम गैर शेयर सदस्यको हो । प्रशासनले बाहिरी नाकामा कडाइ गरेपनि पक्राउ पूर्जी नदिएकोले नेपाली भागेर अन्यत्र गएको हुन सक्ने अर्का सहकारी अगुवा डिलबहादुर कार्कीले बताए । ‘हाम्रो कानून कति कमजोर छ भन्ने यहाँ देखिन्छ,’ उनले भने, ‘दुइ महिना अघिदेखि करोडौं रकम हिनामिनाको आशंका भैसकेका मानिसलाई पक्राउ गर्न नसकिने किन हो ?’ पटकपटकका बैठकमा राखेर उनलाई ठूलो बनाउने काम मात्र भएको उनले टिप्प्णी गरे ।

इमेजका बचतकर्ता महिना दिन अघिदेखि कहिले प्रशासनमा पुगेका छन् भने कहिले सहकारी रजिष्ट्रारको कार्यालय पुगेका छन् । उनीहरुले आफ्नो रकम सुरक्षित फिर्ताको माग गरेका छन् । तर सहकारीको नेटवर्किङ समेत अझै स्पष्ट नभएको बताइएको छ । कसको के कति रकम थियो भन्ने रेकर्ड समेत नभेटिने अवस्था बनाएकोले अनुसन्धानमा अप्ठ्यारो भएको अनुसन्धानकर्ताले बताएका छन् । प्रहरीसहित रजिष्ट्रारको कार्यालयले प्रारम्भिक अनुसन्धान गरेको थियो । मंगलबार बागलुङ बजारबाहेक गलकोटका पीडित पनि प्रहरीमा आइपुगेका थिए ।

उक्त घटनासँगै तीन वर्षअघि ढोरपाटनमा गएको पहिरोका पीडितका लागि आएको दाताको सहयोगमा पनि रकम हिनामिना गरेको आरोप नेपालीलाइ लागेको छ । नेपाली बेपत्ता भएपछि कार्यवाहक भएका उपप्रमुख धनबहादुर कायतले खोजी गर्दा दाताबाट आएको रकम निर्णयबिनै व्यक्तिको नाउँमा चेक काटेर खर्च गरिएको देखिएको हो । तत्कालिन उपप्रमुखसहित योजनाका कर्मचारीको नाउँमा खाता खोलेर चेक समेत साँटिएको भेटिएको हो । उक्त घटनामा ३ करोड बढी बिभिन्न स्थानबाट सहयोग जुटेको थियो । उक्त रकममध्ये १७ वटा चेकबाट रकम झिकेको भेटिएकोले उक्त बिषयमा पनि छानविनको काम भैरहेको कायतले बताए ।

प्रहरी नायव उपरीक्षक केसीका अनुसार मंगलबारदेखि जाहेरी पर्न थालेपनि अझै धेरै जाहेरी पर्न सक्नेछन् । ‘एकै प्रकृतिको जाहेरी भएकोले कति परे भन्ने एकमुष्ट जानकारी गराउँछौं,’ केसीले भने, ‘कतिपयले प्रक्रिया नपुगेकोले पु¥याउँदै हुनुहुन्छ ।’ जाहेरीपछि प्रहरीले थप अनुसन्धान गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->