बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेपोलमा किवी, फल जोगाउनै कठिन

काठेपोलमा किवी, फल जोगाउनै कठिन


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २४ २०८०, बुधबार

बागलुङ/ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जाका किसान बमबहादुर खड्काको करेसाबारीमा १५ बोट किवीका बिरुवा हुर्किरहेका छन् । चार बर्षअघि लगाएका बिरुवाले गतबर्षदेखि फल दिन थालेका हुन् ।

काठ र बाँसका अस्थायी पोलमा हुर्किएका किवीका बिरुवाले पहिलो बर्ष फल्दा धान्न सकेनन् । गतवर्ष काठ र बाँसका पोल भाँचिएपछि बमबहादुरले फलामका पोलले बिरुवालई आड दिने निधो गरे । सोधखोज गर्दा फलामको पोल घामपानीमा खुल्ला ठाउँमा रहँदा लामो समय नटिक्ने थाहा पाए । अहिले बमबहादुर सिमेन्टको पक्कि पोल बनाउने तयारीमा छन् ।

धम्जामा बमबहादुरलाई मात्रै परेको समस्या होईन यो । यहाँका अधिकांश किसानको पाखो बारीमा किवीका बिरुवा लगाईएका छन् । वनजंगल नजिकै भएकाले यहाँ काठ र बाँसको समस्या छैन् । काठ र बाँसको पोल भाँचिन थालेपछि मर्कामा छन् । ‘किवी लगाउँदा पक्कि पोल नभएसम्म लगाउन नहुँदो रहेछ, धेरै बर्ष फल्ने किवीण्लाई काठबाँसका पोल कामै नदिने रहेछन्’ खड्काले भने ‘पक्कि पोल नभए फेरीरहनु पर्ने ।’

किसानले समस्या ल्याउन थालेपछि वडा कार्यालय धम्जाले किसानको बारीमा पक्कि पोल कार्यक्रम ल्याएको छ । व्यवसायीक रुपमा किवीखेती गर्ने किसानका लागि पक्कि पोल अनुदानमा दिने कार्यक्रम रहेको वडाध्यक्ष कुलबहादुर बिकले बताए । वडाले अबको तीन बर्षमा तीन हजार पाँच सय किवीका बिरुवाले फलदिन थाल्ने बताएको छ ।

‘हाम्रो योजना अनुसार चालु आर्थिक बर्षमै १ सय ८५ पक्कि पोल किसानलाई अनुदानमा उपलव्ध गराउने कार्यक्रम छ’ बिकले भने ‘आवश्यकता अनुसार पोल उपलव्ध गराउँदै जान्छौं ।’ चिसो मौसम रहेको धम्जामा किवी र दाँते ओखर राम्रो फल्ने गरेको छ । किवी र ओखरलाई प्रोत्साहन गरेर किसानलाई व्यवसायीक खेतीमा लगाईने बिकले बताए । अहिले पनि यहाँका किसानले किवीको बिक्रीबाट समान्य घर खर्च चलाउन थालेका छन् ।

किवीको उत्पादन बृद्धिसँगै बजारीकरणको योजना वडासँग छ । फलको स्तरीकरण गर्ने, फुल फुल्ने बालादेखिनै बोटमानै स्तरीकरण गरेर दाना ठुलो फाउने र प्रतिस्पर्धि बजारमा ल्याउने योजना वडाको छ । यहाँका किसानले अहिले फाईरहेको किवी भने स्थानीय बजारमै प्रतिकिलो तीनदेखि चार सय रुपैयाँमा बिक्री हुने गरेको छ ।

‘एउटा बोटमा ५० किलोसम्म स्तरीय दाना फलाउन सकिँदो रहेछ’ बिकले भने ‘हामीले परिणाम पनि बढाउने र निर्यातका लागि बजारको व्यवस्था गर्ने योजनालाई अघि बढाएका छौं ।’ परम्परागत खेतीबाट फलफुल खेतीलाई व्यवसायीक बनाउने काम चुनौतीपूर्ण हुँदाहुँदै पनि परीक्षण भैरहेको उत्पादनबाट किसान सन्तुष्ट रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->