बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

विद्यार्थीले भने ‘चुरोटमा प्रतिबन्ध किन नलगाउने’

विद्यार्थीले भने ‘चुरोटमा प्रतिबन्ध किन नलगाउने’


  • ढोरपाटन संवाददाता
  • जेष्ठ २५ २०८०, बिहिबार

बागलुङ/ जनताधन माविमा कक्षा १० मा पढ्ने निरज कार्कीले बुधबार एक सार्वजनिक कार्यक्रममा आफ्नो जिज्ञासा राख्दै भने,‘दक्षिण एसियाकै एउटा देशले चुरोटलाई निषेध गरेको छ, हाम्रो देशले किन त्यासो नगर्ने ?’ कार्कीले राखेको धारणाको विषयमा जवाफ दिने निकाय त्यहाँ थिएन् । तर, कार्कीले लागुऔषध दुरुपयोगको प्रस्थान बिन्दु धुमपान हो भन्ने थाहा पाएपछि यो सवाल राखेका हुन् ।

बागलुङ नगरपालिका–१४ नारायणस्थानमा राष्ट्रिय उपभोक्ता मञ्च बागलुङले आयोजना गरेको उपभोक्ता शिक्षा तथा लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रममा प्रहरी नायव उपरीक्षक मदन केसीले आफ्नो कार्यपत्र प्रस्तुत गरे । लागुऔषधबारे उनले केहीबेर चर्चा गरेपछि विद्यार्थीेहरुले प्रश्न गरे । धेरैको चिन्ता थियो– न्यून आय भएका परिवार र अनाथ बालबालिकालाई कसरी लागुऔषधबाट जोगाउने ? लागुऔषधमा लाग्नै नपर्ने वातावरण समाजले किन तयार नगर्ने ?

विद्यार्थी, अभिभावक र शिक्षक सहभागितामा उपभोक्ता शिक्षा र लागुऔषधसम्बन्धी सचेतनामूलक कार्यपत्र प्रस्तुतिपछि विद्यार्थीहरु छलफलमा सहभागि भए । विद्यार्थीहरुले कसैले नेपालमा कानूनी रुपमा धुमपानलाई निषेध गर्नुपर्ने माग गरेभने कसैले बधशाला निर्माण गरेर शुद्ध मासुजन्य पदार्थको उत्पादन गर्न माग गरे ।

‘विद्यार्थीले उठाएका विषय जायज छन् तर कानून बनेर नआउँदासम्म हामीले केही गर्न सक्दैनौं,’ प्रनाउ केसीले भने ‘हामीले चेतना फैलाउने हो, कानून अनुसार कसुरदार भए कारवाही गर्ने हो ।’ कार्यक्रममा भेटेनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले मासुको उपयोगका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

‘मासु परम्परागत रुपमा प्रयोग गरिरहेका छौं, कतिपय तरिका वैज्ञानिक छन्, कतिपय सुधार गर्नुपर्ने,’ सापकोटाले भने ‘के बुझ्न जरुरी छ भने मासु हाम्रा लागि जसरी उपयोगी खाद्यान्न हो त्यसैगरी संक्रामक किटाणुको खाना हो ।’ संक्रामक रोगको रुपमा रहेको मासुलाई विवेकपूर्ण प्रयोग गर्नुपर्ने उनको धारणा थियो ।

कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले लागुऔषध दुव्र्यसनी र उपभोक्ता सचेतना घर घरमा पुग्नुपर्ने बताए । खड्काले विद्यार्थी सूचनाको संवाहक भएको भन्दै सकरात्मक सन्देशहरु समुदायमा फैलाउन आग्रह गरे । उनले विद्यार्थीमा रहेको चासो लागुऔषध दुव्र्यसनमा प्रतिवादी बन्ने बताए । बागलुङ नगरपालिका–१४ का वडाअध्यक्ष चक्रबहादुर खत्रीले परिवार र समुदायको हेलचक्राईं पनि लागुऔषध दुव्र्यसनी बढ्नुको कारण भएको बताए ।

कार्यक्रममा खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका निमित्त प्रमुख प्रेम अर्यालले खाद्य सम्बन्धि कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा गणेश माविकी छात्रा अनिसा चुँदाराले बोलेकी थिईन् । कार्यक्रम उपभोक्ता मञ्च बागलुङका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, प्रअ एकनाथ रिजालको स्वागत र उपभोक्ता मञ्चका केन्द्रिय सदस्य रामबहादुर केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->