बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

अप्राकृतिक मैथुन गर्नेलाई १२ वर्ष कैद, महिलाको हत्यारालाई जन्मकैद

अप्राकृतिक मैथुन गर्नेलाई १२ वर्ष कैद, महिलाको हत्यारालाई जन्मकैद


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ३१ २०८०, बुधबार

बागलुङ/ जिल्ला अदालत बागलुङले अप्राकृतिक मैथुन गरेको अभियोगमा जिल्लाको बडिगाड गाँउपालिकाका एक पुरुषलाई १२ वर्ष ६ महिना कैद फैसला गरेको छ ।

८ वर्षीय बालकलाई अप्राकृतिक मैथुन गरेको अभियोगमा बडिगाड ७ का १९ वर्षीय इमानसिंह रानालाई जिल्ला अदालत बागलुङका जिल्ला न्यायाधीश दिवाकर भट्टले १२ वर्ष ६ महिना कैद सजाय र ४० हजार रुपैयाँ जरिवानाको फैसाला गरेको इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिए ।

२०७९ साउन २० गते पीडित बालकलाई रानाले अप्राकृतिक मैथुन गरेको भन्दै पीडित पक्षले साउन २२ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए । उजुरीका आधारमा प्रहरीले सोही दिन नै रानालाई घरबाटै पक्राउ गरेर अनुसन्धान गरी २०७९ भदौ १३ गते जिल्ला अदालत बागलुङमा अप्राकृतिक मैथुन कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो । अदालतको भदौ १५ गतेको आदेशले आरोपित रानालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।

यसैबीच महिलाको हत्या गर्ने एकजना अभियुक्तलाई जिल्ला अदालत बागलुङले जन्मकैदको फैसला गरेको छ । बागलुङ नगरपालिका–१ रामरेखा माझीबस्तीकी फूलमाया माझीलाई हत्यापश्चात् करणी गरी गरगहनासमेत लुटपाट गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका २६ वर्षीय प्रकाश अधिकारीलाई जिल्ला अदालतले जन्मकैद सुनाएको हो ।

जिल्ला न्यायाधीश दिवाकर भट्टको आजको इजलासले जन्मकैद फैसला गरेको इजलास अधिकृत गंगाधर सापकोटाले जानकारी दिए । २०७९ असोज ३० गते बिहान घरबाट मजदुरी गर्न निस्किएकी फुलमाया साँझ बागलुङ नगरपालिका–१ स्थित गणेश घुम्टीमा मृत फेला परेकी थिइन् ।

अनुसन्धानका क्रममा सीसीटीभी फुटेजलाई आधार मान्दा शंकास्पद देखिएपछि प्रहरीले कात्तिक ४ गते मृतक फुलमायाकै छिमेकी प्रकाशलाई पक्राउ गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानमा अधिकारीले लुटपाटका लागि फूलमायाको हत्या गरे पनि हत्यापछि करणीसमेत गरेको स्वीकार गरेका थिए ।प्रहरीले २०७९ साल कात्तिक २९ गते जिल्ला अदालत बागलुङमा कर्तव्य ज्यान, जबरजस्ती करणी र डाँका चोरी कसुर शीर्षकमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->