बागलुङ/ छ वर्षअघि वडा अध्यक्षमा निर्वाचित हुनुपूर्व विद्यापतिले बाचा गरेका थिए– ‘गाउँमा श्रमिक पल्टन तयार गर्छु, बिदेश जाने युवालाई वडामै रोजगारीमा लगाउँछु ।’ चुनावी सभाहरुमा उनले आफ्नो यो योजना सुनाए ।
स्थानीय तह गठन पछिको पहिलो निर्वाचनबाट विद्यापति काठेखोला गाउँपालिका–२ भीमापोखराको वडाध्यक्षमा निर्वाचित भए । निर्वाचनमा गरेका कयौं बाचा उनले पाँच बर्षको अबधिमा पुरा गरे । त्यसैले उनी एक बर्षअघिको स्थानीय तह निर्वाचनमा दोस्रो पटक वडाध्यक्षमा निर्वाचित भए । छ बर्ष वडाको बागडोर सम्हालेका शर्माले आफ्नै योजनाको सुरुवात समेत गर्न सकेनन् । दश बर्षे कार्यकाल वडामा बिताउँदा उनले बनाएको यो योजना पुरा गर्न नसक्ने निश्चित छ ।
‘लामो समय शिक्षण पेशामा रहँदा मैले गाउँ विकासका कयौं सपना देखेको थिएँ, तिनै सपना पुरा गर्न राजनीतिमा आएँ’ शर्मा भन्छन् ‘सपना पुरा गर्ने ठाउँ पाएँ, स्रोत भेटिन् ।’ श्रमिक पल्टन परिचालनका लागि उनीसँग स्पष्ट खाका छ । बाँझो जग्गाको उपयोगदेखि विकासे गतिबिधिमा युवाको सहभागिता उनले खोजेका थिए ।
कम्तीमा दुई सय युवाको पल्टन तयार गर्ने । कृषि कर्मदेखी सडक, भवन, सिंचाई, खानेपानीका काममा उनीहरुलाई समुह बिभाजन गरेर काममा लगाउने योजना उनको थियो । यसले उत्पादनमा आत्मनिर्भर भईने, युवाहरु बिदेश पलायनबाट रोकिने र उत्पादनको बजारीकरणले करोडौं गाउँ भित्रिने बुझाई उनको छ ।
वडामा आउने बजेटले ठुलो संख्याको श्रमिक पल्टनलाई एक महिना परिचालन गर्न सकिँदैन् । ‘काम लगाएर तोकिएको पारीश्रमिक मासिक दिने, तोकिएको काममा लगाउने र उत्पादनको जिम्मेबारी वडाले लिने हो भने असजिलो थिएन्’ शर्मा भन्छन् ‘सुरुवात गर्न करोडौं रुपैयाँ लाग्छ ।’ गाउँपालिका, प्रदेश र संघीय सरकारले नमुनाकै रुपमा यस्तो पल्टन तयार गरेर काम गरिदियोस् भन्छन् शर्मा ।
आफ्नो योजनाबारे कयौं ठाउँमा छलफल भएपनि स्रोतकै अभावमा सुरुवात गर्न नसकेको उनले बताए । ‘एउटा सुन्दर सपना थियो, पुरा हुन पाएन्’ शर्माले भने । वडामा आउने बजेटको परिचालन कनिका जस्तै छरिने भएकाले परिणाम दिन कठिन हुने गरेको उनको अनुभव छ । ठुला योजना बनाउँदा सबै क्षेत्र समेट्न कठिन हुने र साना योजना बनाउँदा परिणाम ल्याउन नसकिएको उनको बुझाई छ ।
वडाका अधिकांश युवा बिदेशीदा उनलाई उदेक लाग्छ रे । गाउँमा खेतबारी बाँझो रहने, निर्माणका काममा भारतीय मजदुर आईपुग्ने तर बस्ती खाली गरेर युवा विदेशीनु दुर्भाग्य भएको उनको धारणा छ । काठेखोलामा सवारी चल्ने सडक बन्नु पूर्वका पदमार्गहरु पुरानै अवस्थामा ल्याउन उनले आफ्नो वडाबाट प्रयत्न गरिरहेका छन् । भौतिक विकास अपरिहार्य भएपनि सामाजिक र आर्थिक विकास बिनाको भौतिक विकास उपयोगबिहिन बन्ने शर्मा बताउँछन् ।
‘आज चीनमा बनेको मेसिनले भारतबाट आएको तेलको सहायतामा हाम्रो निर्माणमा सहयोग गर्छ, हाम्रो श्रमशक्ति सस्तो मुल्यमा बिदेशमा बिकीरहेको छ’ शर्माले भने ‘मैले चाहेको श्रमिक पल्टन दिगो विकास र समृद्ध वडाको सपना हो ।’





