बागलुङ/ एक महिनादेखि बागलुङको दशवटै पालिकामा फैलिएको संक्रामक रोग लम्पी स्किनबाट एक हजार बढी गाई सिकिस्त भएका छन् । एक महिनाको अबधिमा ३२ गाई मरिसकेको भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र बागलुङका प्रमुख ऋषिराम सापकोटाले जानकारी दिए ।
यो रोग लाग्दा शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आउने लक्षण देखिएको हो । यो रोगको संक्रमण केही भैसी र स्थानीय जातको गाई गोरुमा समेत भएपनि दूधका लागि पालिएको जर्सी गाईमा बढी देखिएको हो । जैमिनी नगरपालिका–४ को सर्कुवामा भने एउटा स्थानीय गोरु लम्पी स्किनकै संक्रमणले मरेको स्थानीयले बताए ।
बिशेषगरी व्यवसायिक फर्म संचालन गरेका र उन्नत जातको गाई फर्म संचालन गरिएको स्थानमा यो संक्रमण बढी देखिएको हो । पहिलो पटक बुटवलबाट गाई ल्याउने क्रममा बडिगाड गाउँपालिकामा यो संक्रमण देखिएपछि क्रमशः अन्यत्र फैलिएको केन्द्रले अनुमान गरेको छ ।
काठेखोला गाउँपालिका बाहेकका सबै स्थानीय तहमा संक्रमण फैलिएकोमा छिटफुट रुपमा त्यहाँ पनि देखिन थालेको उनले जानकारी दिए । ‘भाइरसबाट सर्ने यो रोग बिफर जस्तै हो’ सापकोटाले भने, ‘किर्ना, डाँस, भुसुना र लामखुट्टेबाट पशुहरुमा यो संक्रमण बढ्ने गरेको छ ।’ छिटफुट रुपमा पशुको ¥याल र सिगानबाट पनि सरेको उनले बताए । यो रोग लागेका पशुमा सबैभन्दा बढी दूध सुक्ने समस्या छ ।
संक्रमण हुने बित्तिकै गाईले ८० प्रतिशत दूध सुकाउने गरेको पशु प्राविधिक केशव पौडेलले जानकारी दिए । ‘डेढ लाख रुपैयाँसम्म खर्चेर किनेको गाईले दूध सुकाउँदा किसानलाई ठूलो मार परेको छ’ उनले भने, ‘उपचारबाट निको भएपनि बाँझोपन हुने खतरा समेत छ ।’ स्थानीय जातको गाईमा समेत संक्रमण देखिएपनि उन्नत गाई छिटो बिरामी परेका छन् । १ सय ४ डिग्री ज्वरो आउने बित्तिकै अधिकांस गाई ढल्ने गरेको उनले बताए ।
यो रोगको निश्चित औषधि नभएकोले लक्षणको आधारमा उपचार गराइएको सापकोटाले बताए । ज्वरोको लागि सिटामोल र भिटामिन खुवाउने तथा अन्य लक्षण हेरेर उपचार गर्ने काम भैरहेको हो । पशुका लागि खोप आएपनि थोरै मात्र आएकोले त्यो लगाउने संभावना कम भएको हो । बागलुङमा १ लाख १० हजार दूध उत्पादनका लागि पालिएका गाईभैसी रहेका छन् । त्यस्तै ढोरपाटन, निसी र तमानमा एक लाख हाराहारी स्थानीय गाईगोरु र भैसी पालिएको तथ्यांक छ ।
त्यस्तै, अमेरिकन स्वाइन फ्लुले बागलुङका ४ सयबढी बंगुर मरिसकेका छन् । यो संक्रामक भएकोले एउटा खोरमा सरेपछि सबै मर्ने अवस्था आएको हो । ‘संक्रमणको दर उच्च भएकोले तत्काल बंगुर नथप्न भनेका छौं’ पौडेलले भने, ‘यो संक्रमण प्रवेश गरेपछि खोर नै रित्तिन्छ ।’ यो संक्रमणले जिल्लामा बंगुर उत्पादन शुन्यमा झर्ने उनले बताए । यो संक्रमणको उपचार नै नभएकोले किसानलाई राहत दिनेबाहेक अन्य सेवा नै दिन नसकिएको समेत उनले जानकारी दिए ।
पशुबस्तुमा महामारी आएपछि प्रशासनले पशु आवतजावत रोक्न सबै पालिका, प्रहरीका सबै इकाई र किसानलाई आग्रह गरेको छ । ‘एक ठाउँको संक्रमित पशु अर्को ठाउँ लैजाँदा बढी समस्या भयो भन्ने आएपछि हामीले आवतजावत रोक लगाउन पत्राचार गरेका छौं’ सहायक प्रजिअ चित्राङगत बरालले भने, ‘यो एक किसिमको पशुको लकडाउन जस्तै हो ।’ २ हजार मीटरभन्दा अग्ला खर्कमा चराउन लगिएका पशुमा भने संक्रमण नदेखिएको हो ।
यो रोग प्रायः गर्मी मौषम र भूगोलमा बढी हुने गरेको हो । पशुको शरीरमा आउने गिर्खा बाहिर देखिएभन्दा भित्री भागमा बढेर जाँदा मृत्यु भएको सापकोटाले बताए । ‘पोष्टमार्टम गर्दा श्वासनली, पेट र घाँटीको भित्री भागमा बढी गिर्खा र खटिरा आएपछि गाई सिकिस्त हुने गरेका छन्’ उनले भने, ‘मृत्यु भएकाहरु पनि भित्री शरीरमा संक्रमण बढेकाहरु हुन् ।’
स्वस्थ्य पशुमा संक्रमण हुँदा ५ दिनपछि मात्रै लक्षण देखिने गरेकोले सबै पालिकाका पशु प्राविधिकलाई तयारी अबस्थामा बस्न निर्देशन दिइएको सापकोटाले जानकारी दिए । ‘यो संक्रमणको बेला हो, जतिबेला पनि आवस्यक पर्दा उपस्थित हुने र सोही अनुसारको औषधी तयार पार्नुहोला भनेका छौं’ सापकोटाले भने, ‘पालिकाबाट पनि समन्वय गरेर केही औषधी र खोप खरिद गर्न भनेका छौं ।’
ताराखोला गाउँपालिकाका पशु प्राविधिक चिन्तामणी शर्माले भैपरी आउने कोष राखेकोले खोप र औषधी खरिद गर्न सहज भएको बताए ।





