बागलुङ/ जिल्लाको गलकोट नगरपालिका–१ दुदीलाभटीको हलहलेका अश्विन पुन बिहान साढे सातबजे विद्यालय अध्ययनका लागि हिँड्छन् । दुदीलाभाटीमा रहेको चौराहा माध्यमिक विद्यालयमा कक्षा दुईमा अध्ययन गर्ने पुन बिहानै घरबाट ननिस्के समयमा विद्यालय पुग्दैनन् ।
कक्षा छ मा पढ्ने दाजु रोशन पुनसँगै उनी विद्यालय पुग्छन् । बिद्यालय जाँदा ओरालोबाटो साढे दुईघण्टामा विद्यालय पुग्ने पुनका दाजुभाई घर फर्किँदा भने तीन घण्टा समय लाग्छ । रोशन र अस्विनका कान्छा भाई भने चौराहा आधारभुत विद्यालय गाभिएपछि बनाईएको बालविकास केन्द्रमा अध्ययन गर्छन् । कक्षा १ पढ्न उनलाई पनि चौराहा मावि नै पुग्नुपर्ने बाध्यता छ ।
गाउँ नजिकै रहेको चौराहा आधारभूत विद्यालय चौराहा माविमा गाभिएपछि अश्विन साढे दुईघण्टाको यात्रा गरेर विद्यालय पुग्न बाध्य भएका हुन् । उनका दाजु रोशन भने कक्षा ३ सम्म चौराहा आधारभूतमा अध्ययन गरेर कक्षा चारदेखि चौराहा माविमा भर्ना भएका हुन् ।
‘भएको खेतीपाती सबै यतै छ, बसोबास यतै भएकाले हामि अन्त जान सकेनौं,’ उनीहरुका बुवा रोम पुनले भने ‘पायकमा विद्यालय नहुँदा बाबुहरुलाई असुविधा भएको छ, नजिकमा भएको विद्यालयसमेत गाभियो, हामी समस्यामा परेका छौं ।’ विद्यालयबाट फर्किँदा छोराहरु थकित भएर फर्किने गरेको उनले सुनाए । स–साना बालबालिकालाई विद्यालय गाभिएपछि नजिकको विद्यालय पुग्न कठीन भएको उनको गुनासो छ ।
चौराहा आधारभुत विद्यालयमा कक्षा तीनसम्म पठनपाठन हुँदै आएको थियो । गलकोट नगरपालिकाले विद्यार्थी संख्या कम भएका विद्यालय नजिकको विद्यालयमा गाभ्ने मापदण्ड बनाएपछि चौराहा माध्यामिक विद्यालयमा गाभिएको हो । नगरपालिकाले ‘विद्यालय मर्ज तथा तह मिलान मापदण्ड–२०७९’ तयार गरेर कार्यान्वयनमा ल्याएको छ ।
दुई जनाको दरबन्दी रहेको विद्यालयबाट एक जनाको दरबन्दी गतबर्षनै अन्य बिद्यालयमा समायोजन गरीएको थियो । विद्यालयका प्रधानाध्यापक समेत रहेका संस्थापक शिक्षक मनबहादुर बिकलाई चौराहा माविमा हाँजिर हुनेगरी विद्यालय गाभिएको हो ।
‘कक्षा एकदेखि तीनसम्म चार जना र बालविकास उमेर समूहका पाँच जना विद्यार्थी थिए,’ चौराहा आधारभुत विद्यालयका प्रधानाध्यापक बिकले भने ‘नगरको निर्देशन मान्नै पर्यो, बिद्यालय समायोजन भएपछि हलहलेका बालबालिकालाई बिद्यालय पुग्न कठिन भैरहेको छ ।’ शिक्षासँग सम्बन्धित कानूनहरुले स–साना बालबालिकाका लागि बढीमा आधा घण्टाको दुरीमा विद्यालय हुनुपर्ने व्यवस्था गरेको छ । तर, भौगोलिक कठिनाइ, स्रोत साधानको अभावलगायतका कारणले बालबालिका घण्टौं पैदल हिँड्न बाध्य छन् ।
२०४७ सालमा स्थापना भएको विद्यालयले तत्कालीन समयमा ४५ जना विद्यार्थीलाई पठनपाठन गराएर सेवा दिँदै आएको थियो । बसाईसराईका कारण गाउँनै रित्तिएपछि विद्यार्थी संख्या नपुगेर विद्यालय गाभिने अवस्था आएको बिकले बताए । ‘गाउँमा बस्ति नै छैन्, बच्चा जन्माउने दर निकै कम छ’ बिकले भने ‘वैदेशिक रोजगारीको शिकार भयो विद्यालय, युवा विदेश गए, परिवारले गाउँ छोडे, परिवारसँगै बालबालिका बजार झर्दा विद्यालय गाभिने अबस्थामा पुग्यो ।’ विद्यालय गाभिँदा असहज हुने विद्यार्थीको लागि नगरपालिकाले सवारी साधन भाडा दिने नीति बनाएको छ ।
तर, विद्यार्थी र अभिभावकले भने त्यस बिषयमा कुनै जानकारीनै नरहेको बताउँछन् । ‘टाढाका विद्यार्थीलाई उपयुक्त व्यवस्था गर्नुपर्ने हो, तर हामीलाई त कसैले हेर्दैन,’ अभिभावक रोम पुन भन्छन् । बर्षाको समयमा पुन दाजुभाइलाई विद्यालय पुग्नै कठीन हुने गरेको छ ।
बालमैत्री घोषणा भएको नगरपालिकामा पढ्नकै लागि दैनिक पाँच घण्टा पैदल हिँड्नुपर्ने बाध्यता हुन दुर्भाग्य भएको गलकोटकै एक शिक्षकले बताए । गलकोट नगरपालिकाले केही हप्ता अघिमात्रै तामझामका साथ बालमैत्री नगर घोषणा गरेको थियो ।
गलकोट नगरपालिकाले कुनै स्थान बिषेश भन्दापनि समग्र नगरको अबस्था हेरेर विद्यालय गाभ्ने निर्णय गर्दा केही विद्यार्थीलाई असहज भएको जनाएको छ । ‘विद्यार्थीनै नभएको ठाउँमा सरकारले खर्चमात्रै गर्ने कुरा भएन्, समस्या भएका बालबालिकालाई यातायात खर्च दिनेगरी पत्राचार गरेर विद्यालय गाभिएको हो’ नगर शिक्षा अधिकारी रुद्रनारायण सापकोटाले भने ‘यातायात खर्च दिँदा समेत समस्या हुने बालबालिकाको लागि आवासीय सुविधा दिने बिषयमा समेत छलफल भैरहेको छ ।’ बिद्यालय भन्दा टाढा रहेका विद्यार्थीको लागि यातायात खर्च उपलव्ध गराउन पाँच सदस्यीय समिति बनेको छ । ‘सरकारी खर्च त्यसै गर्न मिलेन्, बिधि बन्दैछ, हामि खर्च उपलव्ध गराउँछौं’ सापकोटाले भने ।
गलकोटले चालु शैक्षीक सत्र सुरुहुनुपूर्व चारवटा विद्यालय गाभेको छभने केही बिद्यालयमा तह मिलान गरेको छ ।





