बागलुङ/ जिल्लाको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले आफ्नो जन्मदिन विपन्न परिवारका विद्यार्थीलाई स्टेशनरी वितरण गरेर मनाएका छन् । शर्माले शुक्रबार आफ्नो जन्मदिनमा हुने खर्च जैमिनी नगरपालिका–५ मा रहेको दलित उत्थान प्राविका विद्यार्थीलाई स्टेशनरी वितरणमा खर्च गरेका हुन् ।
जन्मदिन मनाउनका लागि विद्यालयमा पुगेका शर्माले सबै विद्यार्थीका लागि स्टेशनरी उपलव्ध गराएका थिए । बालबिकास देखि कक्षा पाँचसम्म अध्यापन हुने विद्यालयमा ५५ जना बालबालिकाले अध्ययन गर्छन् । अधिकांश दलित समुदायका बालबालिका अध्ययन गर्ने विद्यालयमा पुगेर जन्मदिनमा हुने फजुल खर्च कटाएर सहयोग गरेको शर्माले बताए ।
‘जन्मदिनमा केही नयाँ गर्नुपर्छ भन्ने भावना मेरो पहिलेदेखिनै थियो, केक काटेर साथीभाई जम्मा भएर पनि जन्मदिन मनाउन सकिन्थ्यो तर त्यसले कसैलाई फाईदा गर्दैन्, खर्च मात्रै हो’ शर्माले भने ‘यहाँका स–साना भाईबहिनीलाई कम्तीमा एक महिना पुग्ने भएपनि कपी र पेन्सील उपलव्ध गराउँदा मलाई आनन्द अनुभुती भयो ।’
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रमानन्न बिकले उपप्रमुखले विद्यालयमा जन्मदिन मनाउँदा विद्यार्थी र अभिभावकमा उत्साह बढेको बताए । वडा नं. ५ बिनामारेका अध्यक्ष ठगबहादुर क्षेत्रीले उपप्रमुखको सकरात्मक सोँचले विद्यालयलाई सहयोग पुगेको बताए ।





